• गंगा बाँस्तोला नेकपाका जिल्ला किमिटी सदस्य एवं उर्लावारी-३ मंगलबारेका स्थानीय हुन् । मंगलबारेमा इलाका प्रशासन कार्यालय ल्याउनका लागि मुख्य भूमिका निर्वाह गरेका बाँस्तोला सँगअस्पताल नामाकरण विषयलाई लिएर गरेको कुराकानीका अंशहरुः

     

    मंगलबारेमा पहिचान मेटिन्छ भनेर आन्दोलान जारी छ । तपाई यहाँको स्थानीय पनि हो । माग कतिको जायज छ ?
    म यहाँको स्थानीय पनि हो । अस्पतालको स्तरोन्नतीका लागि म निरन्तर २ वर्षदेखि प्रदेश सरकारलाई घच्घच्याउने र प्रदेश सरकारको मातहतबाट अस्पताल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने कुरामा क्रियाशिल भएर लागिरहेको छु । जहाँसम्म प्रदेश सरकारले नीति र कार्यक्रम अन्तर्गत मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भनेर ल्याएको छ । यो मंगलबारेका लागि अवसर हो ।

     

    प्रदेश सरकारलाई मंगलबारे वासीले धन्यवाद दिनु पर्छ । किनेभने मदन भण्डारी जस्तो जनताको बहुदलीय जनवादका प्रतिपादक, देश विदेशमा चिनिएको नेताको नामबाट यो अस्पतालको नामाकरण हुनु भनेको यसको स्तरोन्नतीका लागि विकास र समृद्धिका लागि नामले निकै ठूलो प्रभाव राख्‍छ ।

     

    मदन भण्डारीको नाम लिएर हामी संघीय सरकारसँग पहल कदमी गर्न सक्छौं । देशीविदेशी सहयोगी संघस्थाबाट सहयोग जुटाउन सक्छौं । मदनको विचारलाई मन पराउने हरूले मदनले प्रतिवादन गर्ने सिद्धान्त मन पराउनेहरु जोकोहीले पनि भोलिका दिनमा अस्पताललाई सहयोग गर्न सक्छन् । यस अर्थमा वास्तवमा मंगलबारेवासी आन्दोलनमा उत्रिनु कुनै औचित्य छैन । किनभने यो मंगलबारेका लागि अवसर हो ।
    पटक पटक मंगलबारे लाई पछि पार्ने काम भएको छ । यो अवसर लाई गुमाउनु हुँदैन । त्यसैले सडकमा उत्रिनु को कुनै औचित्य नै छैन ।

     

    नाम परिवर्तन गर्दा पहिचान गुम्छ भनेका छन् नि ?
    नाम परिवर्तन गर्दा पहिचान गुम्दैन । बरु मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भन्‍ने नाम जोडिएर आएपछि हिजो मंगलबारे कहाँ पर्छ भन्‍नेहरुले पनि मदनको नामसँगसँगै मंगलबारेलाई चिन्‍ने छन् । त्यस अर्थमा मदनको नामले मंगल बारेको थप पहिचान दिन्छ ।

     

    अस्पतालको नाम मदन राख्‍नुको कारण के हो ? भएकै नाममा स्तरोन्नती गर्दा के हुन्छ ?

     

    प्रदेश सरकारले नेकपाको घोषणा पत्र अनुसार आफ्‍नो नीति र कार्यक्रम ल्याएको हो । जहाँसम्म नामको कुरा छ । मदन भण्डारीको नाम किन जोडियो भन्‍ने सवालमा मदन भण्डारी ले उर्लावारीमा राजनीतिक काम गरेको,भूमिगत जीवन बिताएको र घर पनि उर्लावारी मै भएका र मदन भण्डारीको विगतको कार्यथलो पनि उर्लावारी भएको, नेकपाको जनताको बहुदलीय जनवादको सिद्धान्तको प्रतिपादक पनि भएकाले नेकपाको अहिले केन्द्रमा दुई तिहाईको सरकार छ । प्रदेशमा पनि सरकार छ । अनि नेकपाले यस्तो चर्चित नेताको नाम नराखे अर्को कुन चाहि नेताको नाम राख्नु पर्थ्यो त ?

     

    त्यति मात्रै होइन यो नामका पछाडि काम पनि जोडिएको छ । किनभने मदन भण्डारीको नामले संघीय सरकारमा टेबल ठोक्न सक्छौं । विचार मिल्ने विदेशी संस्थासँग सहयोग माग्न सक्छौं । प्रदेश सरकारको सपना अनुसारको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि स्रोत जुटाउनका लागि नामले महत्वपूर्ण भूमिका खेल्छ ।

     

    यस नामकै कारणले यस अस्पताललाई देशभरीका सबै जनताले चिन्छन् । सबै नेतृत्व पंक्तिले सम्मान गर्छन् । अनि अस्पताल कहाँ छ भन्दा मंगलबारे भन्छन् । यस्ले कसरी मंगलबारेको पहिचान गुम्छ ? जस्तै उदाहरणका लागि घोपा क्याम्प कांग्रेस सरकारको पालामा वीपी विज्ञान प्रतिष्ठान धरानमा परिणत भयो । अहिले विपी प्रतिष्ठानसँगसँगै धरान पनि चिनिएको छ ।

     

    नाम परिवर्तन गरेर मदन भण्डारी स्मृति प्रतिष्ठानले कब्जा गर्छ भन्ने डर छ नि स्थानीयको ?
    यो कुरा बुझाइको कमी हो । मदन स्मृति प्रतिष्ठान एउटा सामाजिक संस्था हो ।यो अस्पताल भनेको प्रदेश सरकार मातहतको सरकारी संस्था हो । जसरी कोसी अस्पताल संघीय सरकारको मातहतमा छ त्यसरी नै यो अस्पताल प्रदेश सरकारको मातहतमा छ । यस अर्थमा यो प्रदेश सरकारको सम्पत्ति हो र हामी स्थानीयको पनि सम्पत्ति हो ।

     

     

    अस्पतालको नामाकरणमा नेकपाले राजनीतिकरण गर्न खोज्यो भन्‍ने आरोप लागेको छ नि ?
    अस्पतालको नामाकरणलाई समेटेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्यायो । नेकपाको सरकार भएकै कारण नेकपाको नेतृत्वको नाम राख्‍न पाउने प्रदेश सरकारलाई संविधानले दिएको अधिकार हो । किनभने कांग्रेस सरकारको पालामा पनि विपी विज्ञान प्रतिष्ठान,विपी मेमोरियल क्यान्सर अस्पताल चितवन, सुशिल कोइरला मेमोरियल ट्रस्ट बाँके आदि थुप्रै नेताहरुको नाममा नामाकरण भएका छन् नि । त्यस अर्थमा नेकपाले सम्मान पनि गरेको छ । यो प्रदेश सरकारले राखेको नामलाई सबैले सम्मान गर्नुपर्छ । मदन भण्डारी नेकपाको मात्रै नभएर सिंगो देशको सम्पत्ति हुन् । विश्वमा चिनिएका व्यक्ति हुन् ।

     

    मंगलबारे नै नाम राख्दा किन आपत्ति हो ?
    प्रदेश सरकारको सपना अनुसारको ट्रमाको साथमा अरु विभिन्‍न विभागीय सेवा दिने खालको अस्पताल निर्माण गर्न स्रोत साधन जुटाउन कठिन हुन्थ्यो । सँगसँगै जसरी मदन भण्डारी अस्पताल हुँदा देशभरी चिनिन्छ मंगलबारे अस्पताल नामले देशभरी अस्पताल चिनिदैन । अन्तर्राष्ट्रिय सहयोग र अनुदान जुटाउन कठिन हुन्थ्यो । त्यस अर्थमा मंगलबारे नै नाम राख्‍नु भन्दा मदन भण्डारी नाम जोड्दा उपयुक्त भयो ।

     

    नाम स्वीकार गर्दैमा ट्रमा सेन्टरको सुविधा पाइन्छ भन्ने के ग्यारेन्टी छ ?
    मदन भण्डारी जस्तो नेताको नाममा अस्पताल निर्माण गरेपछि यो प्रदेश सरकारको पनि इज्जतको कुरा हुन्छ भने संघीय सरकारको पनि इज्जतको कुरा हुन्छ । यस कारण नाम अनुसारकै काम गर्नै पर्छ । अर्कोतर्फ स्वयंम प्रदेश सरकारको स्वास्थ्य क्षेत्रको गौरवको आयोजना हो ।
    सँगसँगै सरकार पनि हालको कोरोना महामारीका कारणले निजी अस्पतालहरुले आफ्ट्यारो अवस्थामा सेवा सुविधा नदिने र वास्तविक जनताको जीवनसँग जोडिएको सेवा नदिने भएकाले सरकारी अस्पताल हरुको स्तरोन्नती गर्नुपर्ने कुरा स्वयमं सरकारकै ध्यानाकर्षण भइरहेको छ । त्यस अर्थमा नाम समेत जोडिएपछि ट्रमा सेन्टरको काम अवश्य हुन्छ ।

     

    तपाईंहरुका लागि नाम चाहिएको हो कि विकास ?
    नामसँगै विकास हुन्छ । नामले नै विकास तान्छ । नामले नै सेवा दिन्छ ।

     

    धेरै स्थानीयवासीहरु असन्तुष्ट छन् नि ?
    हामीले हिजो र्‍यालीमा आएका मानिसहरुको रुप रेखा पनि हेर्यौं । रतुवामाइदेखि पथरी लगायत उर्लावारीभन्दा बाहिरका मानिसहरु मगाइएका थिए । मंगलबारेका स्थानीयको उपस्थिती पनि अत्याधिक न्यून थियो । र यो आन्दोलनलाई मानिसको स्वास्थ्यमाथि खेलवाड गरेर ब्रह्मलुट गरिरहेका स्वास्थ्य क्षेत्रका केही माफिया हरुले उक्साएको हुनसक्ने पनि हामीलाई शंका लागेको छ ।

     

    किनकी निजी अस्पताल हरु सञ्‍चालन गरेर मँहगो शुल्‍क लिएर बह्रमलुट गरिरहेका संस्थाहरु यहाँ सुविधा सम्पन्‍न सरकारी अस्पताल बनेपछि उनीहरुको आम्दानीको स्रोत घट्छ । त्यस अर्थमा पनि सकेसम्म तिनीहरुको चाहना यो अस्पताल नबनोस् भन्‍ने चाहना हुन्छ ।

     

    तपाईंले हालका संघर्ष समितिका संयोजक समेत रहनुभएका वडा नम्बर ७का वडाध्यक्ष वीरबल थापालाई सार्वजनिक रुपमै आरोप लगाउनु भयो अस्पताल विवाद सम्बन्धमा ?
    वडा नम्बर ७का वडाध्यक्ष वीरबल थापा पार्टी नमिले पनि मेरा घनिष्ठ मित्र हुन् । उहाँ वडा नम्बर ७ को वडाध्यक्ष हो । उर्लावारी ३ मा रहेको अस्पतालको बारेमा कुनै असन्तुष्टि भए यहाँका वडाध्यक्षको संयोजकत्वमा संघर्ष समिति बन्‍नुपर्थ्यो ।

    वडा नम्बर ७ को वडाध्यक्ष अनि त्यसमा नेपाली कांग्रेस उर्लावारी को सभापति पनि वीरबल थापा भएकाले यो अस्पतालको स्तरोन्नतीप्रति उहाँको गिद्धे दृष्टिकोण छ म यसै मिडिया मार्फत् भन्‍न चाहन्छु ।

    किनभने विगतको उहाँको मंगलबारेप्रतिको व्यवहारले पनि यस कुरालाई प्रमाणित गर्छ । किनकी इलाका प्रशासन कार्यालय मंगलबारेमा आउने बेला उहाँ नै जिल्ला प्रशासन कार्यालय मोरङमा टोली लिएर डेलिगेशनमा जानुभएको हैन ?

    सशस्त्र बेश क्याम्पले जग्गा रुजु गरिसकेपछि मंगलबारेमा सर्न लाग्दा वीरबल जीले नै वारिपारीको नारा लगाएर आइतबारेको १ किलोमिटर तल सशस्त्र प्रहरी राख्न भूमिका खेल्नुभएको हैन र ? त्यस कारण विगतदेखि नै मंगलबारेको विकास र उन्नतीमा उहाँको दृष्टिकोण राम्रो देखिदैन ।
    मंगलबारेको विकाससँगै सिंगो उर्लावारी नगर पालिकाको विकासमा प्रभाव पर्छ भन्‍ने फराकिलो दृष्टिकोण उहाँमा छैन । यसअर्थमा मेरो प्रिय मित्र वीरबल जीलाई गाली गरेको हैन । उहाँको दृष्टिकोण लाई दोष लगाएको मात्रै हो ।

     

    अन्त्यमा...
    आन्दोलनमा लाग्‍नु भएको सम्पूर्ण मित्रहरु लाई आएको अवसर नगुमाऔं । यो अवसर मंगलबारेको मात्रै हैन सिंगो उर्लावारी नगर पालिका र १ नम्बर प्रदेशकै पनि हुन सक्छ । हामीलाई सेवा र विकास चाहिएको हो ।
    बरु आन्दोलन छाड्नु होस् सँगै मिलेर प्रदेश सरकारको सपना अनुसार अस्पताल निर्माण गर्नका लागि छिटो काममा अगाडि बढ्न डेलिगेशनमा जाऔं भनेर म सम्पूर्ण मित्रहरुलाई अनुरोध गर्न चाहन्छु । मेरा भनाइहरु राख्‍न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …