•  

    मानव स्वास्थ्यको दृष्टिकोणले उच्च रक्तचाप एक जोखिमपूर्ण रोग हो । यसले हृदयघात, मृगौलाको कार्य क्षमतालाई बेकामको गराउने जस्ता रोगहरु निम्त्याउँछ । यसलाई “सुटुक्क ज्यान लिने रोग” भनेर पनि चिन्ने गरिन्छ । उच्च रक्तचाप भएका धेरै व्यक्तिहरुमा यसको केही पनि लक्षण नदेखिन सक्छ । त्यसैले ४० वर्ष नाघेका व्यक्तिहरुले नियमित परीक्षण गराई डाक्टरको सल्लाह अनुसार जीवन बिताउन उचित हुन्छ ।

     

    शरीरको विभिन्न भागमा अक्सिजन पुरयाउने कार्य रक्त नलीबाट बग्ने रगतले गर्दछ । यी रगत नलीमा प्रवाह हुँदा त्यस नलीमा चाप उत्पन्न हुन्छ । यसरी रक्त नलीमा हुने चापलाई रक्त चाप भनिन्छ । रक्तचाप दुई किसिमको हुन्छ । जसलाई सिस्टोलिक र डायस्टोलिकको रुपमा नापिन्छ । मुटु पुरै खुम्चिएको अवस्थालाई सिस्टोलिक चाप र फुकेको अवस्थामा हुने चापलाई डायस्टोलिक चाप भनिन्छ ।

     

    रक्तचाप नाप्ने प्रक्रियामा जुन व्यक्तिको नाप लिइने हो त्यो व्यक्ति कम्तीमा ५ मिनेट आरामसित बसेको हुनु पर्दछ । आधा घण्टा पूर्व कफि चिया जस्ता नाडी उत्तेजना हुने किसिमका पेय पदार्थ पिएको हुनु हुँदैन । किन भने यी पेय पदार्थको सेवनले रक्तचाप बढ्न सक्ने सम्भावना प्रबल रहन्छ । विशेष गरी रक्तचाप नाप्दा आरामसित बसेको अवस्थामा हुनु पर्दछ । पारोयुक्त रक्तचाप नाप्ने यन्त्र मर्करी स्फाइग्मो म्यानोमिटर सबैभन्दा उपयुक्त मानिन्छ र यसको इकाइ पारोसँग दाँजेर राखिएको हुन्छ । जस्तैः १२० कि.मि. र ८० मि.मि. पारोलाई सामान्य चाप मानिन्छ ।

     

    रक्तचाप नाप्ने यन्त्र पाखुरामा स्थापित गरी सकेपछि स्थेस्कोपको मद्दतले नाडीको चालको नाप सुनेर रक्तचाप निकालिन्छ । जहाँबाट नाडीको ढुकढुक आवाज सुन्न शुरु हुन्छ त्यसलाई सिस्टोलिक प्रेशर वा माथिल्लो रक्तचाप र जहाँबाट ढुकढुकी आवाज सुन्न छोडिन्छ त्यसलाई डायस्टोलिक वा तल्लो रक्तचाप भनिन्छ । हिजोआज रक्तचाप जाँच्ने उपकरणहरु विभिन्न किसिमका छन् र सही रक्तचाप निकाल्न कुनै पनि उपकरण प्रयोग गर्दा कम्तीमा पनि दुई तीन पल्ट दोहोरयाउन आवश्यक पर्दछ ।

     

    साधारण रक्तचाप भन्नाले १२० मि.मि. सिस्टोलिक र ८० मि.मि. डायस्टोलिक भन्ने बुझिन्छ । सामान्यतया सिस्टोलिक र डायस्टोलिक चापको मानमा २० मि.मि. सम्मको घटबढलाई पनि साधारण नै मान्न सकिन्छ । यदि सिस्टोलिक वा डायस्टोलिकको मान साधारण भन्दा असामान्य रुपले फरक देखाउँछ भने त्यस किसिमको रक्तचाप भएको व्यक्तिलाई ब्लड हाइपरटेन्सन भएको भनिन्छ । त्यस्तै यदि एकदमै कम चाप देखाएको खण्डमा सो व्यक्तिलाई हाइपोटेन्सन भएको भनिन्छ ।

     

    रक्तचाप घटबढ हुनुको कारण

    शरीरलाई अनावश्यक हर्मोनहरु शरीर बाहिर फ्याक्ने दरमा परिवर्तन आएमा रक्त धमनीको भित्ता वरपरको मोटाईमा पनि फरक आउँछ । यस्तो परिवर्तनले रक्तचापमा नकारात्मक असर पुरयाउँछ । जसले गर्दा हाइपरटेन्सन वा हाइपोटेन्सन हुने हुन्छ । ५ देखि १५ प्रतिशत रोगीहरुमा गरिएको एक अध्ययनमा रक्तचाप दोस्रो कारकको रुपमा देखिएको छ । किड्नी, धमनी र नशाका रोगीहरुका अलावा मोटोपना घटाउने औषधी खाने र आगोले पोल्दा लगाउने औषधी आदिको प्रयोगले पनि रक्तचाप घट्ने वा बढ्ने हुन जान्छ ।

     

    यस्तो रोगीहरुलाई एसनसियल हाइपरटेन्सनको दर्जामा राख्ने गरिन्छ । यिनीहरुको रक्तचापमा फरक आउनुको विभिन्न कारणहरु मध्ये तन्तुहरुमा हुने जैविक परिवर्तन, पुर्खौली वंशाणु, उत्तेजनात्मक तनाव, वातावरणीय प्रभाव आदिबाट हुन सक्दछन् अरु सम्बन्धित कारणहरु जस्तैः मोटोपन, उच्च चिल्लोपना, न्यून क्याल्सियम, म्याग्नेसियम वा पोटासियम, रगतमा चिनीको मात्रा उच्च हुनु, धुम्रपान, मदिरा सेवन र मनोवैज्ञानिक कारणहरु नै रक्तचापमा भिन्नता ल्याउने कारकहरुको रुपमा लिइने गरिन्छ । कर्कस ध्वनीको निरन्तर सम्पर्कमा रहने व्यक्तिलाई पनि उच्च रक्तचाप हुन सक्दछ । ध्वनीले गर्दा एडरेनल हर्मोनको संख्यामा बृद्धि हुन जान्छ जसले रक्तचाप बढाउँछ ।

     

    हाइपोटेन्सन भएको कसरी थाहा पाउने ?

    सामान्यतया हाइपोटेन्सन लाई (न्यून रक्तचाप) असाधारण अवस्था मानिन्छ । न्यून रक्तचाप विरलैलाई मात्र हुने हुन्छ । धेरै जसो सामान्य कुराकानी गर्दा आफूलाई न्यून रक्तचाप छ भन्ने गरेता पनि बढी भन्दा बढी यस्ता व्यक्तिहरुको सिस्टोलिक चाप ९० बाट ११० कि.मि. (पारो को हाराहारीमा पाइन्छ । उक्त चापलाई साधारण नै मानिन्छ । अर्को रोचक पक्ष यस्ता व्यक्तिहरुको आयु सामान्य रक्तचाप भएका मानिसहरुको भन्दा बढी भएको पाइएको छ ।

     

    असाधारण हाइपोटेन्सन ले खतरनाक रोगलाई इंगित गरेको हुन्छ । जस्तै वाह्य तरल पदार्थको निष्कासन, मष्तिस्क स्राव हुनु, वान्ता हुनु, झाडा पखाला लाग्नु, बढी पिसाब लाग्नु, औषधीको अधिक प्रयोग, आगोले पोल्नु, अधिक पसिना आउनु, हृदयाघात हुनु, भित्री तरल पदार्थमा कमी आउनु, आन्द्रामा रोकावट हुनु र फोक्सोमा रगत जम्नु जस्ता कारणहरुले पनि रक्तचापमा कमी आउँदछ । मुटु वा त्यससित सम्बन्धित अन्य अंगमा खराबी देखिएमा हृदयाघात, नाडीको चालमा फरक आउनु, छातीमा अत्यधिक पीडा हुनु, रक्तनलीहरुमा धेरै खराबी आउनु पनि हाइपोटेन्सनका लक्षणहरु हुन् ।

     

    गर्भिणी अवस्थामा हुने असर

    गर्भिणी अवस्थामा र सुत्केरी अवस्थामा हुने असामान्य रक्तचापले आमा बच्चा दुवैलाई प्रतिकूल असर पर्न सक्दछ । बच्चा जन्माउने बेला यदि आमालाई गहिरो हाइपोटेन्सन भएको छ भने बच्चा तुहिने डर हुन्छ । अझ यो अवस्था पहिलो पटकको बच्चा जन्माउन लागेको महिलाको लागि अझै घातक हुन्छ । दोस्रो वा तेस्रो बच्चा पाउने बेला यदि यस्तो अवस्था भएमा बच्चा जन्मनासाथ मर्ने वा पूर्ण विकसित नभएको बच्चाको जन्म हुन सक्दछ । बच्चा पाउने बेलामा यदि हाइपोटेन्सन भएको छ भने कोमा वा मृत्यु समेत हुने सम्भावना हुन्छ । यी दुवै कुराको अलावा हाइपोटेन्सनले शरीरको विभिन्न अंगहरु जस्तै सालनाल, कलेजो, मुटुलाई पनि राम्रोसँग काम गर्न नसक्ने बनाईदिनाले मुटुको चाल नै बन्द हुन गई मृत्यु समेत हुन सक्दछ ।

     

    उच्च वा न्यून रक्तचापका लक्षणहरु

    हाइपरटेन्सनको सामान्य लक्षण अधिकांश मानिसहरुमा पाइदैन । यो रोग आफूलाई भए नभएको थाहा पाउन समय समयमा रक्तचाप नाप्ने गर्नु पर्दछ । यदि कसैलाई हाइपरटेन्सन भएको छ भने बिहानीपख अलि अलि टाउको दुखेको अनुभव हुनु, आँखाको शत्तिः कम हुँदै जानु, मुटुको धडकन अप्रत्यासित रुपले बढ्नु, छिटोछिटो तर छोटो श्वास फेर्नु आदि लक्षणहरु देखा पर्दछन् ।

     

    हाइपरटेन्सन को लक्षण नै नभएको व्यक्तिलाई यदि कसैले तिमीलाई हाइपरटेन्सन भएको छ भनी दिएको खण्डमा त्यो व्यक्ति मनोवैज्ञानिक रुपमा विचलित भई हाइपरटेन्सनका लक्षणहरु आफूमा देखिन थालेको अनुभव गर्दछ । यस्तो मनोवैज्ञानिक असर परेको अवस्थामा पसिना खलखलि निस्कनु, टाउको दुख्नु, मांशपेशी कमजोर हुनु आदि जस्ता लक्षणहरु देखिन्छ । हाइपोटेन्सनको अवस्थामा व्यक्तिमा कमजोरी अनुभव हुनु, जीउ सितांग हुनु, रिंगटा लाग्नु वा बेहोस हुनु आदि जस्ता लक्षणहरुदेखा पर्दछन् ।

     

    उपचार

    हाइपरटेन्सनको उपचार नियमित औषधी सेवन गरी रक्तचापलाई नियन्त्रणमा राख्नु हो । ५ देखि १५ प्रतिशत उच्च रक्तचापका रोगीहरुको उपचार रोगको कारण पत्ता लगाएर मात्र गर्ने गरिन्छ । तर ८५ देखि ९५ प्रतिशत रोगीहरु जसको रोगको कारण थाहा लाग्दैन, यिनीहरुको उपचार भनेको नियमित रुपले जीवनभर औषधीको सेवन गर्नु नै हो । केही रोगीहरुलाई भने खाना, धुम्रपान, मदिरा सेवन, तनाव आदिमा परिवर्तन गरी रक्तचाप नियन्त्रण गर्न सकिन्छ भने केहीलाई औषधीको सेवनमा क्रमशः कमी गराएर नियन्त्रण गर्न सकिन्छ ।

     

    रक्तचापमा नियन्त्रण ल्याउनु भनेको एउटा लामो प्रक्रिया हो । यस प्रक्रियामा बिरामीले थेग्न सक्ने हिसाबले एक वा धेरै किसिमका औषधीको मात्रा बिस्तारै बढाउँदै लानु पर्दछ । हाइपोटेन्सनको उपचारमा औषधीको सेवन गराइदैन । यसको सट्टामा नून सेवनको मात्रा बिस्तारै बढाइन्छ । कुनै कुनै बिरामीहरुको रक्त चाप अकस्मात् घट्ने हुन्छ । यस्तो बिरामीको लागि खुट्टाको तल्लो भागमा पट्टि कसेर पनि रक्तचापमा अकस्मात् हुने कमीबाट बचाउन सकिन्छ ।

     

    हिजोआज हाइपरटेन्सनबाट अधिकांश मानिसहरु पीडित छन् । शरीरको धेरै भन्दा धेरै अंगहरु क्षति पु¥याउनमा यसले प्रमुख भूमिका खेल्दछ । यो रोगले बहुसंख्यक मानिसको आयुलाई छोट्टयाउँछ र जीवनको स्वरुपलाई नै बेढंगा बनाउँदछ । त्यसैले रक्तचाप घटबढ हुनु स्वास्थ्यको हिसाबले अत्यन्त खतरापूर्ण मानिन्छ । त्यसैले यसबाट बच्न बेलैमा सचेत हुन आवश्यक छ ।

     

    रक्तचाप भएको खण्डमा अपनाउनु पर्ने कुराहरु:

    चिकित्सकको सल्लाहलाई इमान्दारिताकासाथ पालना गर्ने ।
    उचाइको हिसाबले आफ्नो हुनु पर्ने निश्चित तौलको ख्याल राखि बढी भएमा घटाउने ।
    यदि मधुमेहको रोगी हुनुहुन्छ भने त्यसको नियन्त्रण गर्ने,
    दिनमा ५ ग्रामभन्दा कम मात्र नून लिने,
    नियमित व्यायाम गर्ने,
    पोटासियम, क्याल्सियम र म्याग्नेसियम बढी पाइने खानेकुराको सेवन गर्ने,
    आफूले खाने औषधीको नाम र त्यसको मात्रा याद गर्ने ।

     

    रक्तचाप भएको मानिसले बार्नुपर्ने कुराहरु :

    बोसो भएको खाना, चर्को नून भएको खानेकुरा जस्तै अचार, पापड, बिस्कुट, पाउरोटी, ड्राइमिट, टिनमा बन्द भएका खानेकुराहरु आदि नखाने, धुम्रपान नगर्ने, डाक्टरसित सल्लाह नलिई उपचार बन्द नगर्ने, रक्तचापको औषधी सिध्याएर नबस्ने, तौल घटाउने र रुघाको औषधीको सेवन नगर्ने, आराम गर्न सिक्नुहोस र बढी श्रमयुक्त काम नगर्नुहोस, साधारण र ठूलो शल्यक्रिया गर्नु अघि आफ्नो सम्बन्धित डाक्टरलाई आफूले लिने गरेको औषधीहरुको जानकारी दिन नभुल्नुहोस् ।

    नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …