धनकुमार तामाङ पथरीशनिश्चरे १ का स्थायी बासिन्दा हुनुहुन्छ । पथरी उद्योग वाणिज्यको आगामी सोमबार हुने निर्वाचनमा तामाङ पुन अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहनु भएको छ । तीन वर्ष अघि एमालेका आधिकारिक उम्मेद्वारलाई पराजित गरी मध्य तथा पूर्वी मोरङका ब्यापारीहरूको संगठन पथरी उद्योग वाणिज्यको वागडोर सम्हाल्नु भएका तामाङ यो पटक पनि चुनाव जित्नेमा आशावादी हुनुहुन्छ । उहाँ सँग चुनावकै सेरोफेरोमा गरिएको कुराकानीको मुख्य अंश ।
०आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?
पथरी उद्योग वाणिज्य संघको निर्वाचन यही २८ र २९ गते छ । अहिले ब्यापारी, उद्योगी साथीहरू बीच दुख सुख साटिरहेको छु । यस अघिको तीन वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका कामहरू सम्पन्न गर्नु पर्ने चुनौति पनि छ । ति काम कसरी सम्पन्न गर्ने ? स्रोत कसरी, कहाँ खोज्ने भन्ने रणनीति तयारी गरिरहेको छु ।
० पुनःअध्यक्षमा उठ्दै हुनुहुन्छ । के छ त्यस्तो आकर्षण ?
आकर्षण केही पनि छैन् । अध्यक्ष हुँदा आफ्नो नीजि खर्च हुन्छ । वाणिज्य संघ आफैमा सम्पन्न संस्था होइन । स्रोत साधन केही हुँदैन । तर, उद्योगी ब्यापारीका अनन्त आवश्यकता पूर्ति गर्नु पर्ने जिम्मेवारी कार्य समितिलाई हुन्छ । तीन वर्ष अघि जुन प्रतिवद्धता गरेको थिएँ । ति केही काम पुरा भएका छैनन् । धेरै काम भएका छन् ।यद्यपि भवन निर्माण ,सबै ब्यापारी उद्योगी समेट्ने र वाणिज्य संघ प्रति ब्यापारिक आकर्षण बढाउने खालका कार्यक्रम ल्याउन सकिएन । त्यसैले पुन उम्मेद्वारी दिएको हुँ ।
० तीन वर्षे कार्यकालमा धेरै काम भएका छन् भन्नुभयो ,उल्लेख गर्न योग्य तीन वटा प्रतिनिधि काम के–के हुन ?
पहिलो काम, पथरीशनिश्चरे क्षेत्रको फोहोर मैला व्यवस्थापन हो । तपाईलाई थाहा छ ।पूर्व पश्चिम राजमार्ग किनारमा कति फोहोर थियो भन्ने कुरा ।हामीले पथरी बजारलाई बन्द हड्ताल निषेधित क्षेत्र बनायौं । जसले गर्दा लाखौं रुपैयाँ ऋण काढेर ब्यापार गर्ने ब्यापारीले राहत महसुस गर्न पाउनु भएको छ । अर्को कुरा हामीले लथालिङ अवस्थाको कार्यालयलाई व्यवस्थापन गरेका छौं । कुनै पनि व्यापारीको निधन हुँदा १० हजार रुपैयाँ राहत वापत पारीवारिक सदस्यलाई उपलब्ध गराउन थालेका छौं । यसले संस्था प्रति आकर्षण बढेको छ । हिजो सडकमा छाडिएका छाडा पशु चौपायाले फलफूल र तरकारी ब्यापारीलाई दुख दिने गरेका थिए । आज त्यसको अन्त्य भएको छ । हामीले आन्तरिक राजश्व कार्यालयको टिमलाई पथरी मै बोलाएर कर तिर्ने वातावरण तयार गरेका छौं ।हिजो कम्प्युटर र नेट नहुँदा कर तिरेका साथीहरूले कर तिरेको विवरण हेर्न नपाएर(फेरिफाई गर्न नपाएर)फाइन तिर्नु पर्ने अवस्था थियो । अहिले त्यो समस्याको अन्त्य भएको छ ।
० गर्न बाँकी काम भन्नु भयो । के के काम गर्न बाँकी रहेको हो ?
हेर्नुस । २०४३ सालमा स्थापना भएको पथरी ब्यापार प्रबन्ध समिति नै आजको पथरी उद्योग वाणिज्य संघ हो । हिजो पथरीमा जग्गा सस्तो हुँदा हामी वनको जग्गामा भवन बनाउने लविङमा लाग्यौं । आज पथरीको जग्गा महँगो भयो । बनले भवन निर्माण गर्न नदिने भयो । त्यसैले भवन निर्माण पेचिलो बनेको छ ।२०४८ पछि खुलेका सहकारीहरूले पथरीमा भब्य भवन बनाइसकेका छन् । हामीले बनाउन नसक्ने भन्ने छैन । त्यसैले मेरो अबको अर्जुन दृष्टि भवन निर्माणको हुनेछ । व्यापारीहरुको सदस्यता श्रेणी क्रमलाई वैज्ञानिक बनाउने, ब्यापारका आधारमा श्रेणी छुट्याउने, घर धनी र व्यापारी बीच बेला–बेलामा हुने असहजतालाई बैज्ञानिक ढंगले समाधान गर्न नीतिको ब्यवस्था गर्ने र साना ठूला सबै ब्यापारीलाई निर्वाध रुपमा ब्यापार गर्ने वातावरण तयार गर्ने लगायतका काम गर्न बाँकी छ । त्यति मात्र होइन । यस क्षेत्रका झण्डै ३३ सय ब्यापारीलाई पथरी उद्योग वाणिज्य संघको सदस्य बन्ने वातावरण तयार गर्नेछु ।
०नयाँ कार्यक्रम पनि छन् कि ?
अबश्य छन् । तर पहिलो प्राथमिकता पुराना अधुरा कामलाई दिइने छ । पथरीमा हिजो ब्यापार गर्न आएकाहरू आज नयाँ ठाउँको खोजीमा छन् ।त्यसैले लगानी मैत्री वातावरण बनाउन आवश्यक छ । कृषिमा आधारित उद्योगमा लगानी भए ,यही रोजगार सिर्जना हुन सक्छ ।ग्रील ब्यावसाय, सिलाई ब्यावसायमा दक्ष कामदारको अभाव छ । जनशक्ति उत्पादनमा आधारित तालिमको ब्यवस्था गरिने छ । पथरीलाई मध्य मोरङको ब्यापारिक हवका रुपमा विकसित गरिने छ ।
०प्रसङ्ग बदलौं , चुनाव जित्ने आधार के छन् ?
म सामाजिक कार्यकर्ता हुँ । पथरी ब्यापार संघ मात्र होइन, मैले पथरी स्पोर्टिङ क्लव,विशाल सहकारी ,मोरङ बस यातायात संघ लगायत थुप्रै सामाजिक संघ संस्थाको नेतृत्व गरेको छु । विचार भन्दा माथि उठेर पूर्वाग्रह नराखि काम गरेका कारण नै मैले विगतमा पनि चुनाव जितेको थिएँ ।आज पनि अबस्था उही हो । म सबै ब्यापारी माझ पुगेको छु । समस्या समाधानका लागि बोलेको छु । ब्यापारी बिरामी हुँदा मात्र होइन, सर्वसाधरणका लागि पनि सहयोग जुटाउने अभियानमा लागेको छु । त्यसैले चुनाव जित्नेमा ढुक्क छु ।
०प्रतिस्पर्धी पनि निक्कै शसक्त छन् नि यो पालि ?
आर्थिक रुपमा शसक्त भएर मात्र हुन्न । विगतमा सामाजिक भूमिका के थियो भन्ने पनि हुनुपर्छ । यस विषयमा मैले धेरै नबोल्नु नै राम्रो हुन्छ ।
० दलीय प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गर्ने होला नि हैन ?
खास गरी म स्वतन्त्र ब्यक्ति हुँ ।तर पनि दलीय रुपमा कुनै दलसँग नजिक छु ।त्यसो भन्दैमा म उद्योग वाणिज्य संघमा दलीय चरित्र प्रस्तुत होस भन्ने चाहन्न । त्यसैले सके सम्म प्यानल नबनाइ चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा छु ।
०अन्त्यमा केही ?
यो नितान्त ब्यापारी र उद्योगीको संस्था हो । तर यसले समग्र राष्ट्रको विकासमा नीजि क्षेत्रको भूमिका र नीति कस्तो हुने भन्ने विषयमा धारणा तयार पार्छ । हामी संघीयताको मोडलमा गइसकेका छौं । अब हाम्रो वाणिज्य संघ र स्थानीय सरकार बीच समन्वय जरुरी छ । सरकारले पनि सरकारी, नीजि र सहकारी क्षेत्रलाई तीन खम्बे अर्थ ब्यवस्थाका रुपमा ब्याख्या गरेको छ । भोलिको पथरीशनिश्चरे नगरपालिका कस्तो मोडेलको निर्माण गर्ने भन्ने विषयमा नीजि क्षेत्रको पनि भूमिका आवश्यक पर्छ । त्यसैले हामी सरकारी निकायसँग सहकार्य गरेर नै अघि बढ्ने छौं । मेरा कुरा राख्ने अबशर दिनु भएकोमा धन्यवाद ।