२०७७ श्रावण १५ बिहीबार |
काठमाडौं । भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा रोकिएको २१ हजार ५ सय मेट्रिकटन युरिया मल समयमै नेपाल आउन नसक्दा अहिले मुलुकमा युरिया मलको चरम अभाव देखिएको छ ।
साउनदेखि भदौसम्मको १ महीनाको अवधिमा करीब ४० हजार मेट्रिकटन युरिया मलको आवश्यक पर्ने भए पनि हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग १ हजार ६० मेट्रिकटन मात्रै युरिया मौज्दात छ । त्यस्तै, डीएपी १२ हजार ८ सय र पोटास २ हजार ५ सय मेट्रिकटन मौज्दात छ ।
धान रोपाइँ लगभग सकिएसँगै यस समयमा किसानलाई डीएपीभन्दा पनि युरिया मलको बढी आवश्यक पर्छ । तर, कान्डला बन्दरगाहमा रोकिएको २१ हजार ५ सय मेट्रिक टन युरिया मल पनि नेपालसम्म आइपुग्न अझै महीना दिनजति लाग्न सक्ने साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पंकज जोशी बताउँछन् ।
अहिले देशका अधिकांश जिल्लामा धान रोपाइँ सकिइसकेको छ । तर, धान रोपाइँ सकिएपछि युरिया मल हाल्नुपर्नेमा त्यसको अभाव चुलिएपछि कृषक चिन्तित भएको राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।
कृषकलाई आवश्यक परेको समयमै मल उपलब्ध गराउन सरकार असफल भएको उनको भनाइ छ । ‘निरन्तर रूपमा रासायनिक मलको प्रयोग गरेको माटोमा मल प्रयोग गर्न पाइएन भने यसले उत्पादनमा समेत असर पार्न सक्छ,’ उनले भने ।
साल्ट ट्रेडिङले बन्दाबन्दीअघि नै दुबईस्थित मल्टी कमोडिटिज कम्पनीमार्पmत ओमानबाट किनेको युरिया मल बन्दाबन्दीकै कारण गुजरातको कान्डलामा आएपछि अलपत्र परेको थियो ।
नेपाल र भारतको वाणिज्य सन्धिअनुसार कान्डला बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि खुला नभएका कारण करीब ४ महीनादेखि नेपालका लागि ल्याइएको युरिया कान्डलामै रोकिएको थियो ।
परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत पटकपटक भारतसँग कूटनीतिक पहल गर्दासमेत भारतले त्यहाँबाट मल ल्याउन नेपाललाई स्वीकृति दिएन । त्यसपछि सरकारले कोलकाता हुँदै नेपाल ल्याउने तयारी थाल्यो ।
कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीमार्फत चीन र रसियाबाट थप ५० हजार मेट्रिकटन युरिया मल ल्याउने तयारी गरेको छ । तर, यो मल पनि समयमै नेपालमा आउन नसक्ने देखिएको छ । आर्थिक अभियानबाट ।