२०७७ श्रावण १५ गते, बिहीबार,
कञ्चनपुर।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बिहीबार उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। ‘उनीहरु सबै जनालाई सफाई दिने फैसला भएको छ’, कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले भने।
निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको भन्दै उनीहरु विरुद्ध उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
त्यसपछि २०७५ चैतमा डीएसपी अंगुर जिसीले ९ लाख रुपैयाँ धरौटी बुझाइ मुद्दा लडिरहेका थिए। उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग भएको थियो।