साउन १५, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको सुनाबर्ती गाउँपालिका-८ का ४५ वर्षीय पुरुषको साउन १४ गते मृत्यु भएको छ । उनलाई कोभिड अस्पताल विराटनगरबाट साउन १४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।
उनको स्वाब संकल गरि प्रादेशिक अस्पताल प्रदेश १ मा लगिएमा साउन १४ गते नै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतक भारत आवतजावत गरिरहन्थे । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररत उनको हिजो ४:३० बजे मृत्यु भएको हो ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका- ७ का ७० वर्षीय वृद्दको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको पनि साउन १४ गते नै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतक मुटु तथा मधुमेह रोगका बिरामी थिए । वीरगन्ज एक निजि अस्पतालमा निमोनियाको उपचार गरिरहेकोमा उनमा कोरोना पुष्टि भएपछि साउन ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै वीरगन्ज महानगरपालिका-५ का ६८ वर्षीय वृद्दको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनमा साउन ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।