• व्यवसाय डुबेपछि लागूऔषधको कारोबारमा

    अवैध धन्दाको सञ्जाल अन्तर्राष्ट्रियस्तरसम्म

    श्रावण १५, २०७७ विराटनगर/ अन्तर्राष्ट्रियस्तरसम्म अवैध धन्दाको सञ्जाल बनाएर विश्व बजारमा महँगो मूल्यमा बिक्री हुने ‘मेथामफेटाइन आइस’ नामक लागूऔषधको कारोबारमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका एक जना व्यापारी संलग्न रहेको पाइएको छ । सुन्दरहरैंचा नगरपालिका–८ का ४२ वर्षीय राजन भन्ने रामप्रसाद पोखरेल विश्व बजारमा महँगो मूल्यमा बिक्री हुने मेथामफेटाइन आइस नामक लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको पाइएको हो ।

    प्रहरीले पोखरेलको साथ र घरबाट ५ सय ३० ग्राम मेथामफेटाइन आइस लागूऔषध बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले बरामद गरेको सो लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम ८० डलर रहेको छ । यो लागूऔषध नेपालमा ल्याएर प्रतिग्राम ९ हजार ६ सयमा बिक्री वितरण हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

    पक्राउ परेका पोखरेल सुन्दरहरैंचामा सुन–चाँदी पसल र मोरङको बूढीगङ्गा गाँउपालिका–६ स्थित कमरपुर डङ्ग्राहामा फाइवरको ढोका र पाता बनाउने कारखानाको सञ्चालक हुन् । विशेष सूचनाको आधारमा मोरङ प्रहरी र प्रदेशको लागूऔषध नियन्त्रण विशेष ब्यूरोले व्यवसायी पोखरेललाई विराटनगर–२ वरगाछी चौकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    इराकबाट एक दशकअघि नेपाल आएर सुन–चाँदी व्यवसायमा लगानी गरेका पोखरेलको करोडौं रुपैयाँ लगानी गरेको व्यवसाय डुबेपछि विश्व बजारमा महँगो मूल्यमा बिक्री वितरण हुने अवैध लागूऔषधको कारोबारमा लागेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए । ‘पक्राउ परेका पोखरेल सन् २००४ मा वैदेशिक रोजगारको लागी इराक गई गएका थिए ।

    केही पैसा कमाएर सन् २०१० मा घर फर्किएर सुन–चाँदी पसल सञ्चालन गरेका थिए । सुन–चाँदी व्यवसाय घाटामा गएपछि ३ वर्षदेखि बूढीगङ्गा गाउँपालिका–६ स्थित कमरपुर डङ्ग्राहामा फाइवरको ढोका र पाता बनाउने कारखाना सञ्चालन गरेको देखिन्छ’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘कारखानामा पनि लगानी घाटामा गएर राम्रोसँग व्यवसाय सञ्चालन नभएपछि ऋणमा डुबेर अवैध धन्दामा लागेको देखिन्छ ।’ पक्राउ परेका पोखरेलको अन्तर्राष्ट्रियस्तरसम्म सञ्जाल रहेकोले सहज रूपमा लागूऔषध भिœयाउने गरेको प्रहरीको भनाइ छ ।

    ‘व्यापार–व्यवसाय सञ्चालन गर्दा कारखानाको कच्चापदार्थ भारतबाट आयात हुने र सामानहरू आयात गर्ने क्रममा अवैध धन्दामा लागेको गिरोहसँग सम्पर्क भएर चिनजान भएको देखिन्छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू भन्छन्, ‘घाटामा गएको व्यापार–व्यवसायबाट उक्सिन र चाँडो मुनाफा आर्जन गर्न विश्व बजारमा महँगो मूल्यमा खरिद बिक्री हुने लागूऔषधको कारोबारमा लागेको देखिन्छ ।’ पक्राउ परेका पोखरेलको अन्तर्राष्ट्रियस्तरसम्म अवैध धन्दा चलाउने गिरोहको सञ्जाल रहेकोे प्रहरीको भनाइ छ । पक्राउ परेका पोखरेललाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    को.३७ प ८३१६ नम्बरको मोटरसाइकलमा सवार पोखरेलले लागूऔषध बिक्री गर्ने तयारी गरेको अवस्थामा कालो झोलाभित्र सेतो प्लास्टिकमा प्याकिङ गरेको २ सय २२ ग्राम लागूऔषध प्रहरीले बरामद गरेको हो । लागूऔषधको धन्दामा लागेका पोखरेलले घरमा पनि लुकाएर राखेको खुलेपछि घरबाट ३ सय ८ ग्राम मेथमफेटामाइन आइस बरामद गरेको एसपी खड्काले बताए । प्रहरीले बरामद गरेको यो नयाँ प्रकृतिको लागूऔषध हो ।

    यही प्रकृतिको लागूऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालको भने यो चौथो घटना भएको उनले बताए । प्रहरीका अनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो । ‘यही प्रकृतिको लागूऔषध बरामद भएको यस अघि नेपालमा चारवटा घटना थिए’ एसपी खड्काले भने, ‘प्रदेश १ का लागि भने पहिलो र विल्कुलै नयाँ घटना हो ।’ प्रहरीका अनुसार बरामद भएको लागूऔषधको विश्वमै सबैभन्दा बढी माग रहेको छ । मेथामफेटाइन आइस विश्वमा दुव्र्यसनीले सबैभन्दा बढी रुचाएको लागूऔषध रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । नेपालमा भने यसको तस्करी एकदमै कम मात्रामा हुने गरेको प्रहरीको भनाइ छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…