माघ २५, २०७४
नेकपामाओवादी केन्द्र प्रदेश–१ को संसदीय दलको नेता टंक आङ्बुहाङलाई बनाउने भएको छ। पार्टी प्रदेश–१ ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङ्बुहाङलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको जानकारी दिएको हो। यस्तै पाँचथर ‘ख’ बाट निर्वाचित ईन्द्र आङ्वोको नेतृत्वमा सरकारमा जाने गरी निर्णय भएको माओवादी केन्द्र प्रदेश–१ ले जनाएको छ। एमालेसँगको सहकार्यमा प्राप्त गरेको अन्य पदमा भने छलफल जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रदेश–१ मा माओवादीको तर्फबाट उपसभामुख को बन्ने भन्ने र मन्त्रालयमा को को जाने भन्ने विषयमा छलफल जारी रहेको माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रदेश–१ का सांसद टंक आङ्बुहाङले जानकारी दिए। उनले भने,‘मुख्यत हामीले यी २ विषयमा मात्र निर्णय गरेका छौँ। अरू निर्णय भने एमालेले सभामुखको टुंगो लगाएपछि गर्छौँ। मन्त्रालयका विषयमा पनि एमालेसँग छलफल गरेर अघि बढ्छौँ।’ प्रदेश–१ को सभामुख चयनका लागि माघ २९ गते बैठक बस्दै छ।