• सरिता लामिछाने
    २०७७ श्रावण ३१ शनिबार 

    युवा शक्तिलाई राष्ट्रको एक अमूल्य सम्पत्तिको रुपमा लिइन्छ । युवाहरू राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अग्रगामी र परिवर्तनका सम्वाहक हुन् । उनिहरूलाई विगतको समीक्षक, बर्तमानको आधार र भविष्यको कर्णधारको रुपमा लिने गरिन्छ । हाम्रो देशमा कुल जनसङ्ख्याको १६ देखि ४० वर्षसम्मको करिव ४० प्रतिशत युवाको जनसङ्ख्या रहेको छ ।

    प्रसङ्ग जोडौँ अन्तर्राष्ट्रिय युवा दिवसको । अन्तर्राष्ट्रिय युवा दिवसलाई युवावर्गको आवाज, कार्य र पहलका साथै उनीहरूको अर्थपूर्ण, विश्वव्यापी र न्यायसंगत संलग्नतालाई मनाउन र मूलधारमा लैजाने अवसर सिर्जनाको लागि महत्वपूर्ण ठानिन्छ । प्रत्येक वर्षको अगस्त १२ को दिनमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यसको मूल उदेश्य राजनैतिक, आर्थिक र सामाजिक जीवन र प्रक्रियाहरूमा युवाहरूको सहभागिताको महत्वलाई मान्यता प्रदान गर्नु हो । नेपालमा भने सन् २००२ बाट छिटपुट रुपमा यो दिवस मनाउने गरिन्थ्यो भने नेपाल युवा संस्था सञ्जालको पहलमा संयुक्त रुपमा सन् २००५ बाट अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालेको पाइन्छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२० का सन्दर्भमा संयुक्त राष्ट्र संघले यस वर्षको नारा 'Youth Engagement for Global Action' तय गरेको छ । यसलाई नेपालको सन्दर्भमा ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवध्र्दन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ मनाईंदै छ ।

    अन्तर्राष्ट्रिय युवा दिवसको संघारमा अव यहाँ प्रश्न उठ्छ नेपाली युवा आन्दोलन समावेशी छ त ? यसले अपाङ्गता भएका व्यक्ति र समुदायलाई न्याय प्रदान गरेको छ त ? हालसम्मको इतिहास हेर्दा 'youth advocacy Nepal' मा सन् २०१३–२०१५ सम्म उपाध्यक्ष, नेपाल युवा सस्था सञ्जालमा सन् २०१६–२०१८ सम्म कार्यकारिणी सदस्य र युवा परिषद्मा २०१६ देखि हालसम्म कार्यकारिणी सदस्य जस्ता पदहरूमा रहि अपाङ्गता भएका व्यक्तिहरू संलग्न छन् ।

    नेपाल अपाङ्ग महिला सङ्घ, नेत्रहीन युवा सङ्घ नेपाल, अपाङ्गता भएका व्यक्तिहरू शर्मिला बिश्वकर्मा, सृस्ति केसी, सीता चौधरी लगायतका व्यक्तिहरू युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । त्यसैगरि २०७५ को युवा प्रतिभा पुरस्कार छनोट समितिमा अपाङ्गता भएका व्यक्तिको संलग्नता, वृहत यौन शिक्षाको सवालमा प्यानलिस्ट र मोडरेटर जस्ता केहि सहभागिता भएतापनि यहि सीमित उपलव्धिमा मख्ख परेर बस्ने स्थिति छैन । युवा नीति २०७२ ले बिशेष प्राथमिकताको क्षेत्र भनेर अपाङ्गतालाई पनि उल्लेख गरेको छ ।

    अपाङ्गता भएका युवाहरूले नेत्तृत्व प्रदान गरेका सङ्घसस्था बाहेक अन्य कुनैपनि युवाको क्षेत्रमा क्रियाशील सङ्घसस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई कर्मचारीको रुपमा स्वीकारेको छैन । यी संस्थाहरूबाट खुलाइने कर्मचारी आवश्यकताको विज्ञापनहरू पनि समावेशी छैनन् । कुनैपनि युवा सङ्घसस्थाहरूको कार्यालयमा अपाङ्गतामैत्री संरचना भेटिँदैन । युवाको क्षेत्रमा क्रियाशील सङ्घसस्था, युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयका भिडियो, प्रकाशन र प्रशारण भएका विभिन्न दस्तावेज र वेबसाइट्हरू पहुँचयुक्त ढाँचामा निर्माण भएका छैनन् । यी संस्थाहरूको कार्यकारिणी समितिको प्रमुख ५ पदमा अपाङ्गता भएका व्यक्तिहरूको उमेद्वारीलाई सहजताको साथ स्वीकारिदैन ।

    एक दृष्टिविहिन व्यक्तिले कुनै एक युवा संस्थाको निर्णायक पदमा उमेदवारी दिन खोज्दा उक्त व्यक्तिलाई युवा क्षेत्रको उच्च पदस्त अभियन्ताले तिमीले जितेउ भनेपनि ५० हजार भने ५ लाखको चेकमा हस्ताक्षर गरेमा पनि तिमीलाई थाहा हँुदैन जसले गर्दा तिमीले यति धेरै दुःख गरेर बनाएको छवि बिग्रन सक्दछ भन्ने भनाइ सुन्न परेको तितो सत्य ती व्यक्तिले गम्भिर हँुदै सुनाएका थिए । तथापि दृष्टिविहिनहरूले दृष्टिविहिनको सवालमा काम गर्ने र समग्र अपाङ्गताको सवालमा काम गर्ने संस्थाको नेत्तृत्व गरिसकेका छन् र गरिरहेका पनि छन् ।

    आजसम्म कुनै दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिले ५० हजार भनेर ५ लाखको चेकमा हस्ताक्षर गर्नु परेको छैन । यहाँ बुझ्नु पर्ने कुरा के हो भने दृष्टि सम्बन्धी अपाङ्गता भएतापनि कुनैपनि संस्थालाई चुस्त दुरुस्त बनाउने क्षमता र अनुभव दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिमा अवश्य नै हुन्छ । अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजना गरिने जुलुशहरू पनि अपाङ्गता भएका व्यक्तिहरू प्रति खासै सम्वेदनशील देखिँदैन । जहाँ अपाङ्गता भएका व्यक्तिहरूलाई मध्यनजर गरेर जुलुशको सुरुवात र समापन स्थल चयन गरिँदैन तथापि समावेसिता देखाउनको लागि जुलुशमा भने निमन्त्रणा गरिन्छ । हाल केहि युवाको क्षेत्रमा कार्यरत सङ्घसस्थाहरूले आफ्नो कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागिको रुपमा निमन्त्रणा गरि स्थान दिएतापनि अपाङ्गता भएका व्यक्तिहरूको सवाल बाहेक अन्य सवालहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरू विषय बिशेषज्ञ हुन सक्दछन् भन्ने तर्फ युवाको क्षेत्रमा कार्यरत सङ्घसस्थाले सोचेको पाइँदैन ।

    यसो हेर्दा युवा सङ्घसस्थाहरूमा सहानुभूति सोच व्यप्त छ । यी सङ्घसस्थाको नीति विधान कार्यशैली र नेतृत्वकर्ताहरूमा सहानुभूतिको सोच पाइदैन । सरकारी तथा गैरसरकारी र संयुक्त राष्ट्रसङ्घलाई हामी जुझारु जनशक्तिलाई पछाडि नछोड भनेर वकालत र बहस गरिरहँदा स्वयम युवाक्षेत्र नै कतिको समावेशी बन्न सकेका छौँ त भनेर समीक्षा पनि गर्नुपर्ने देखिन्छ । परिवर्तनको संवाहकहरूमा सहानुभूति र सम्वेदनशीलता नभएमा युवा अधिकारको क्षेत्र र युवा आन्दोलन विभद प्रवर्धनको ज्वलन्त नमुना बन्न सक्दछ ।

    (लेखक अपाङ्गता भएका महिलाहरूको अभियन्ता हुन् । उनी ‘प्रयत्न नेपाल’को संस्थापक अध्यक्ष पनि हुन् ।)

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…