घनश्याम भण्डारी
२०७७ श्रावण 3१, बुधबार
मोरङ जिल्लाको पूर्वाेत्तर क्षेत्रमा अवस्थित जिल्लाकै दोस्रो ठूलो शहर हो, उर्लाबारी नगरपालिका । कोशी र मेची अञ्चलको सीमाना मावा खोलाको किनारमा उत्तरतर्फ मिक्लाजुङ गाउँपालिका, दक्षिणमा रतुवामाई नगरपालिका, पूर्वमा झापाको दमक र पश्चिममा पथरी शनिश्चरे तथा लेटाङ नगरपालिका र राष्ट्रिय वन क्षेत्र समेतको बीचमा २६.६७ डिग्री उत्तर अक्षांश र ८७.६१ डिग्री पूर्वी देशान्तरमा ७४.६२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ, उर्लाबारी ।
यहाँ प्राकृतिक रुपमा जैविक विविधताले भरिपूर्ण वन, सिमसार, खोला नाला र भौतिक रुपमा विभिन्न मठ मन्दिर, गुम्बा, माङ्हिम, चर्च, मस्जिद र बहुसांस्कृतिक रुपमा मिलेर बसेको समुदाय रहेको छ । हालको उर्लाबारी नगरपालिका २०३५ सालमा मधुमल्ला गाउँ पञ्चायतको ५ र ९ नं वडा, लेटाङ गाउँ पञ्चायतको ७, ८ र ९ नं वडाका केही भाग र वि.सं. २०७३ सालमा भएको समायोजनमा साविक राजघाट गाविस र मधुमल्ला गाविसका ७, ८ र ९ वडा मिलाएर बनाइएको हो । यहाँ, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, धिमाल, मगर, गुरूङ, नेवार, तामाङ, सन्थाल, दनुवार, झाँगड, उराउ, दमाई, कामी, मारवाडी, मधेसी, मुस्लिमलगायत जातजातिको मिश्रित बसोबास रहेको छ ।
यहाँ बसोबास गर्ने समुदायको मुख्य पेसा कृषि र पशुपालन नै रहे पनि शहरीकरणसँगै व्यापार, व्यवसाय, नोकरी र वैदेशिक रोजगार मुख्य आयस्रोतका रुपमा रहेका छन् । यस नगरपालिकामा राष्ट्रिय जनगणना २०६८ अनुसार १२५३ घरधुरी रहेका छन् तथा ५४ हजार ६ सय छयानब्बे जनसंख्या मध्ये ५४.०२ प्रतिशत महिला र ४५.९८ प्रतिशत पुरुष रहेका छन् । नगरपालिकाले गरेको घरधुरी सर्बेक्षण २०७६ अनुसार उर्लाबारीको जनसंख्या ७० हजार ६ सय ५ रहेको छ ।
यसरी प्राकृतिक र भौतिक रुपमा सम्पन्न यस नगरीलाई नेपाल सरकारले नगरपालिका घोषणा गरेपछि अझ तीब्र भौतिक विकास र आधुनिकताको पथमा अगाडि बढेको छ । यस नगरलाई आफ्नो छुट्टै पहिचान उल्लेख गर्न र यहाँ रहेका सम्पूर्ण सम्पदा हरुको संरक्षण गर्न नगर पालिकाले ‘सिमसारयुक्त पर्यटकीय नगर उर्लाबारी’ भन्ने विषय तय गरी यहाँ रहेका सिमसारहरुको विकास र उर्लाबारीलाई पहिचान दिन प्रयासरत रहेको छ । राष्ट्रिय राजमार्गसँगै रहेको यस नगरबाट मधुमल्लाहुँदै इलामको साग्फारा र पाँचथरको रवि जोड्ने सडक ट्रयाक खोल्ने कार्य सम्पन्न गरी कार्य अगाडि भइरहेको छ । यस्तै, उर्लाबारीको किसान चोकहुँदै मिक्लाजुङको आइतबारेसम्म पर्यटकीय सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । सिमसार, गुम्बा, मन्दिर, माङ्हिम, चर्च, मस्जिद, महाराज थान, नदीनाला, दुर्लभ पन्छीहरुको बसोबास रहेको नगरलाई आन्तरिक र वाह्य पर्यटकहरुको गन्तव्य बनाउने अभियानमा छ, यो नगरपालिका ।
उर्लाबारीमा धार्मिक पर्यटनको रुपमा प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । उर्लाबारी–४ को रामेश्वर शिवालय मन्दिर, उर्लाबारी–५ को बौद्ध गुम्बा र व्रह्मकुमारी राजयोग सेवा केन्द्र (ओम शान्ति), उर्लाबारी–६ को महारुद्र शिवालय मन्दिर र शिद्धेश्वर बाबा धाम, उर्लाबारी–७ को नवदुर्गा वेद विद्या तथा राधाकृष्ण मन्दिर, सिद्धिविनायक गणेश मन्दिर, देवीस्थान दुर्गा मन्दिर र हेब्रोन चर्च, मस्जिद, उर्लाबारी–४ को लक्ष्मीनारायण मन्दिर र उर्लाबारी–३ को रामेश्वर शिवालय मन्दिर, दुर्गा मन्दिर र उर्लाबारी–३ सालबारीमा अवस्थित गुरु गोरक्षनाथ अखण्ड धुनी, साङ्छोलिङ गुम्बा लगायत धार्मिक सम्पदा छन् ।
यस्तै, पूर्वकै नमूनाको रुपमा रहेको उर्लाबारी–७ मा अवस्थित नमूना बाल गृह, उर्लाबारी–३ मा अवस्थित जननेता मदन भण्डारीको स्मृतिमा सम्पूर्ण जीवनी समेटिएको संग्रहालय, पुष्प बाटिका, व्यावसायिक हितको लागि उद्योग वाणिज्य संघ, पत्रकारको साझा संस्था सञ्चार क्लब नेपाल, इलाका स्तरीय कार्यालयको रुपमा इलाका प्रशासन कार्यालय, इलाका हुलाक, पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र, वन सव डिभिजन कार्यालय एवम् जिल्ला अस्पतालको रुपमा मंगलबारे अस्पताल र सुरक्षा निकायको रुपमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारी तथा मंगलबारे र राजघाटमा अस्थायी प्रहरी चौकी रहेका छन् ।
शैक्षिक परिदृश्यः
प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गर्ने देशकै उत्कृष्ट शैक्षिक संस्था मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा स्नातक तहको इन्जिनियरिङ कलेज, उच्च शिक्षातर्फ शिक्षा, मानविकी र वाणिज्य शास्त्रमा स्नातकोत्तर तहसम्म अध्यापन गराउने उर्लाबारी बहुमुखी क्याम्पस, कृषिमा बाली विज्ञान र विज्ञान विषयसहित विभिन्न तहको अध्यापन गराइरहेको राधिका माध्यमिक विद्यालय, सव ओभरसियरको पढाइ हुने दुर्गा माध्यमिक विद्यालय साथै निजी क्षेत्रबाट स्नातक तहसम्म अध्यापन गराउने नेपाल दर्शन कलेज र मोरङ मोडल कलेज छन् । यस्तै, विद्यालय तहको शिक्षा प्रदान गर्न २२ सामुदायिक र ३३ संस्थागत विद्यालय सञ्चालित भएसँगै विषयगत पढाइ सीपमुलक व्यवसायिक शिक्षाका लागि उर्लाबारी शैक्षिक हवको रुपमा विकसित हुँदै गइरहेको छ ।
वेतिनी सिमसारः
उर्लाबारी नगरपालिका वडा नं २ मा अवस्थित यो सिमसार रमणीय साथै जैविक विविधतायुक्त रहेको छ । स्थानीय रुपमै १.५ वर्ग किमी क्षेत्रमा निस्कने पानीको मूलबाट बनेको यो सिमसार वेतिनी सामुदायिक वनको १८९.३१ हेक्टर क्षेत्र ओगटेको छ । उर्लाबारी–३ मंगलबारे मूख्य चौकबाट करिब तीन किलोमिटर उत्तर जाँदा पुगिने त्यस ठाउँमा दुई वटा पोखरी रहेका छन् । नगरपालिका र सामुदायिक वन उपभोक्ता समितिको लगानीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने सम्झौता गरी भौतिक विकासको क्रम अघि बढाइएको छ । सिमसारसँगै बाल उद्यानको समेत निर्माण कार्य भइसकेको छ । आकर्षणको रुपमा जोडी पाटे बाघको प्रतिमा निर्माण र वनभोज स्थलका लागि कटेज लगायतका स्थान निर्माण गरिएको छ ।
बुढाठाकुर भुल्के सिमसारः
उर्लाबारी–२ सुनझोडामा अवस्थित यो सिमसार पनि जैविक विविधतापूर्ण रहेको छ । आदिवासी धिमाल समुदायले वि.सं. १९४४ सालदेखि पूजाआजा गर्दै आएको यस क्षेत्रको विकासको निम्ति पहल र प्रयास हुँदै आएको छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्बासी बस्ती छेउ रहेको यो सिमसार पनि उर्लाबारीको गहनाको रुपमा रहेको छ । उर्लाबारी नगरपालिकाको पहलमा सिमसारसँगै रहेको धिमाल ग्रामथान मर्मत र सिमसारको विकासका प्रयासहरु भइरहेका छन् । सुनझोडा सामुदायिक वन उपभोक्ता समितिको चार हेक्टर क्षेत्रफलमा रहेको यो सिमसारमा प्रत्येक वर्षको जेठ २३ गते धिमाल समुदायको भव्य पूजा र सिरिजात (जात्री) मेला लाग्ने गरेको छ ।
लामपाते सिमसारः
उर्लाबारी नगर पालिकाको वडा नं २ भुसीमा रहेको अर्काे सिमसार हो यो । स्थानीय सालबारी वन उपभोक्ता समितिको पहलमा विकासको चरणमा रहेको यो सिमसार करिव ५ हेक्टर क्षेत्रफलमा रहेको छ । नगरपालिका र स्थानीयको पहलमा सिमसारको रुपमा संरक्षण र विकासको प्रयास हुँदै आएको यो स्थानमा पुग्न उर्लाबारी–३ नयाँ मंगलबारे, सालबारी चौक हुँदै शान्ति आवि पश्चिम जानु पर्छ । यहाँ पुग्न राजमार्गबाट ३ किलोमिटर दुरी तय गर्नुपर्छ ।
यसैगरी उर्लाबारी–१ लक्ष्मीझारमा अवस्थित प्रगतिशील सामुदायिक वन क्षेत्रमा रहेको सिमसार र उर्लाबारी–२ को बाँसेचौरीमा अवस्थित सिमसारको विकासको निम्ति पनि एकीकृत रुपमा योजना निर्माण गरी लाग्ने हो भने यस नगरले प्रशस्त फाइदा लिने ठाउँ रहेको छ ।
वित्तीय क्षेत्रः
उर्लाबारी नगरपालिका एक परिचित व्यावसयिक क्षेत्रको रुपमा विकास भएको छ । व्यवसाय प्रवद्र्धनको लागि यस उर्लाबारी नगरीमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त एक दर्जन बैंकहरु र सहकारीहरुलाई आर्थिक सहजता प्रदान गर्न राष्ट्रिय सहकारी बैंकको उपस्थिति रहेको छ । अर्थतन्त्रको एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रपनि यस नगरीमा उल्लेख्य मात्रामा रहेका छन् । जसले आफ्ना शेयर सदस्यहरुलाई आर्थिक संकट र व्यावसायिक प्रवद्र्धनमा सहजता प्रदान गरेको पाइन्छ । यसरी नै वित्तीय कारोबार गर्ने अन्य लघुवित्त, इन्भेष्टमेन्ट कम्पनी, इन्स्युरेन्स कम्पनी र विभिन्न वित्तीय संस्थाहरु पनि यस नगरीमा क्रियाशील रहेका छन् ।
सञ्चारः
वि.सं. २०४३ सालदेखि नै पत्रकारिताको जग बसालिएको उर्लाबारीमा दुर्गाप्रसाद भट्टराई, रमेश भट्टराई (पाखे), दुर्गाप्रसाद खतिवडा लगायतको प्रयासमा पत्रकारिताको सुरुवात गरेको पाइन्छ । हाल राष्ट्रिय समाचार पत्र दैनिक, न्यू पाथीभरा, पूर्वज्योति साप्ताहिक प्रकाशित भइरहेका छन् भने प्राइम एफएम प्रसारित रहेको छ । सूचना र प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै उर्लाबारी पेज, राष्ट्रिय समाचार, पूर्वीनेपाल लगायत अनलाइन खबर सञ्चालित रहेका र दर्जनभन्दा बढी पेजहरु सञ्चालित छन् । २०६० सालमा पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाल स्थापना गरिएसँगै व्यावसायिक र पेशागत हितको निम्ति कार्य गर्दै आएको पाइन्छ ।
कला, साहित्य, खेलकुद र संगीतको क्षेत्रमा थुप्रै राष्ट्रिय प्रतिभा जन्माइसकेको उर्लाबारीले यस क्षेत्रमा लागेकाहरुको प्रोत्साहन र सम्मान गर्ने तथा यस ठाउँको विकासलाई एकीकृत रूपमा योजना बनाउनेतर्फ सरोकारवालाहरुको ध्यान जाने हो भने प्रदेश कै समृद्ध नगर बन्ने सम्भावना रहेको छ ।
(भण्डारी सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष तथा हाल कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेका स्वकीय सचिव हुनुहुन्छ ।)
उर्लाबारी बुलेटिनबाट