२५, माघ २०७४
चितवन भरतपुरका एक नवदम्पत्तीको विवाहमा आएको दक्षिणा मानवसेवा आश्रम भरतपुरमा रहेका असहायहरूका लागि सहयोग गरिएको छ। भरतपुर महानगरपालिका– १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङले बिहीबार आफ्ना नजिकका नातेदारबाहेक साथीभाइ, इष्टमित्रबाट प्राप्त रकम आश्रमलाई सहयोग गरेका हुन्।
विवाहमा आएको दक्षिणा स्वरूप प्राप्त रकम ३ लाख ३७ हजार ६४० रुपैयाँ आश्रमलाई सहयोग गरिएको सोनियाका बुबा हिमाल गुरुङले जानकारी दिए। उनले यसअघि पनि यस्ता सामाजिक कार्यमा पटक पटक सहयोग गर्दै आएका थिए। बेलायत बस्ने छोरी सोनियालाई सामाजिक भाव र सहयोगी भावना जागृत होस् भनेर सहयोग गरिएको उनको भनाइ छ।
नवदम्पत्तीलेले मानवसेवा आश्रम चितवनकी संयोजक रूपा केसीलाई उक्त रकम उपलब्ध गराएका हुन्। केसीले यसैगरी विभिन्न मनकारीहरूको सहयोगमा आश्रमका असहायहरूको पालनपोषण, संरक्षण, स्वास्थ्य उपचार चलिरहेको भन्दै यसरी सहयोग गरेकामा गुरुङ परिवारलाई धन्यवाद दिए। सोनियाका बुबा हिमाल गुरुङले मानवसेवा आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
छोरी–ज्वाइँ आएका बेला आश्रमको भ्रमणसमेत गराएर वास्तविकता बुझाउने उनको योजना छ। मानिसले आफूलाई जन्म र कर्म दिने बुबाआमालाई नहेरिरहेको अवस्थामा आश्रममा रहेका भाइ बहिनीहरूले सडकमा बेवारिसे भएका अशक्त, मनोरोगी बुबाआमाहरूलाई उद्धार गरी हेरचाह गर्ने महत्त्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उनले बताए।
‘यो कसैले नगरेको काम उहाँहरूले गर्नुभएको छ, उहाँहरूलाई हामी सबैले सहयोग गर्नुपर्छ’, हिमाल गुरुङले भने। चितवन आश्रममा सडकबाट ल्याइएका यस्ता असहाय तथा मनोरोगीहरू ५० जना छन्।