• सत्तारुढ दलभित्र विवाद चर्किरहेकै बेला नेपाल कम्युनिस्ट पार्टी एमालेका नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। यो पार्टीको अध्यक्ष सन्ध्या तिवारी हुन्। तत्कालीन नेकपा एमालेमा आबद्ध तिवारीको नेतृत्वमा पुनः नेकपा एमाले नाममा पार्टी दर्ता हुनुले सतहमा अनेक प्रश्न उठेका छन्। नेकपा एमाले र माओवादी एकतापछि पुरानै नेकपा एमाले नाममा फेरि पार्टी दर्ता हुँदा एकाएक राजनीतिक वृत्तमा हल्लीखल्ली हुन पुगेको छ।

    केहीले त तत्कालीन एमालेभित्रका केही नेताहरूको उक्साहटमा नयाँ दल दर्ता गराउन लाएको आशंका गरेका छन्। नयाँ दल दर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम मुछिएपछि सत्तारुढ नेकपाभित्र यसले राम्रै विवाद सिर्जना गरेको छ।

    आखिर, नेकपाभित्र असन्तुष्ट भई नेकपा एमाले नाममा नयाँ दल दर्ता गर्नुका कारण के हुन्, यसमा क-कसको संलग्नता छ भन्नेलगायत विषयमा राजेन्द्र गौतमले नेकपा एमाले अध्यक्ष सन्ध्या तिवारीसँग गरेको कुराकानी:

    तपाईंको जन्म कहाँ कति सालमा भएको हो?
    मेरो जन्म विराटनगरमा २०३० साल मंसिर २६ गते भएको हो।

    तपाईंको शैक्षिक योग्यता कति हो?
    जनरलतिर डिप्लोमासम्म अध्ययन गरेको छु। त्यसपछि मैले विराटनगरमै नर्सिङ कोर्स पनि गरेको छु। नर्सिङका लागि बुबाले नै सल्लाह दिनुभएको हो।

    एक्कासि राजनीतिमा आउनुभो, केबाट प्रेरित हुनुभयो?

    मेरो बिहे चाँडै नै भयो। चाँडै भनेको १६ वर्षको उमेरमा। मेरो ससुरा बुबा हरि भेटवाल त्यहाँको गन्यमान्य मान्छे नै हुनुहुन्छ। उहाँलाई कसले चिन्दैन र? उहाँले नै आफू कुनै राजनीतिक तथा सामाजिक काममा जाँदा मलाई पनि सँगै लैजानुहुन्थ्यो।

    जनताका समस्या कसरी बुझ्ने, कसरी उनीहरूसँग कुराकानी गर्ने र एक नेतृत्वले जनताप्रति गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने उहाँको प्रस्तुतिबाट नै मैले सिक्ने मौका पाएँ। उहाँको त्यो प्रस्तुतिले मलाई निकै प्रेरित गरेको थियो। उहाँका गतिविधि नियाल्दै गएँ। म यति प्रभावित भएँ कि मेरो दिमागमा पनि समाज बुझ्दै राजनीतिमा हात हाल्नुपर्छ भन्ने प्रभाव बस्यो।

    राजनीति नै समाज बदल्ने उपयुक्त माध्यम हो भन्ने मलाई त्यतिबेलै लागेको हो। त्यही प्रेरणाका कारण अहिले म पनि राजनीतिमा सक्रिय रूपले अगाडि आउन सकेको हुँ।

    तपाईंको माइतीतिरका सदस्य कुन दलतिर आस्थावान हुनुहुन्थ्यो?
    मेरा माइतीहरू हुन त डेमोक्र्याट नै हुन्। तर, पछिचाहिँ देश र जनताको अवस्था परिवर्तनका लागि एमालेमार्फत नै सम्भव छ भन्ने मानेर भोट एमालेलाई नै हाल्न थाल्नुभयो। म पनि पहिले एमालेकै भोटर हो। तर, पार्टी सदस्यता भने थिएन।

    पछिल्लोपटक राजनीतिमा पार्टी नै खोलेर अगाडि आउनुको कारण के हो?
    अहिले पार्टी नै खोलेर अगाडि आउनुको कारण एक भएका दुईवटा पार्टी नै हुन्। नेकपा एमाले पनि एकता नहुँदासम्म ठिकै थियो। जब एमाले र माओवादीले विगतका आफ्ना आदर्श, सिद्धान्त, मूल्य मान्यता सबै भुलेर एकता गरे यो कुरा हामीलाई चित्त बुझेको थिएन।

    हाम्रो एमाले त स्वर्गीय मदन भण्डारीको सिद्धान्त अँगालेर हिँडेको पार्टी हो। हिजो सबै नेताहरू त्यही अभियान नै सफल पार्न लाग्नुभो। यसमा उहाँहरूप्रति सम्मान छ। तर, बीचमा उहाँहरू पार्टी एकताका नाममा भड्किनुभो। आफ्नो सिद्धान्त छाडेर अरू नै सिद्धान्ततिर लाग्नुभो। अनि हामीलाई अब यसरी त एमाले चल्दैन भन्ने लाग्यो। एकतापछि एमाले पार्टी नै सकियो। अनि हामी केही साथीभाइ मिलेर मदन भण्डारीको सिद्धान्त रक्षा र एमाले पार्टीको रक्षाका लागि दल दर्ता गर्नुपरेको हो।

    तपाईंको पार्टीमा कतिजना हुनुहुन्छ?
    अहिले त हाम्रो पार्टीमा २३ जना छौं। बिस्तारै बढाउँदै जान्छौं। माहोल सहज भएपछि हाम्रो पार्टीको सदस्य पनि बढ्नेछन्।

    तपाईंहरूले त दुई महिनादेखि नै पार्टी दर्ताका लागि निवदेन दिनुभएको थियो, बीचमा नेकपातिर बार्गेनिङ भएर ढिला दर्ता भएको हो?

    हामी सधैं आफ्नो सिद्धान्तमै अडिग छौं। हाम्रो सिद्धान्त भनेकै मदन भण्डारीले देखाउनुभएको बाटो हो। पार्टी दर्ताको प्रक्रिया त त्यतिबेलै थालेका हौं। तर, कोरोनाका कारण हुनसकेन। अहिले सबै प्रक्रिया मिलाएर दर्ता भयो।

    तपाईंको पार्टीको उद्देश्य के हो ?
    हाम्रो पार्टीको उद्देश्य नै मदन भण्डारीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) हो। हामी यही विचारधारालाई स्थापित गराउनकै लागि नयाँ पार्टी खोलेर अगाडि आउनुपरेको हो। तत्कालीन एमालेका नेताहरूले भण्डारीको विचारधारा लत्याउनुभो। उहाँहरूले बाटो बिराउनुभो। हामीले त्यही विचारधारलाई जनतामाझ स्थापित गर्न युवाहरूको सक्रियतामा पार्टी खोल्न बाध्य भयौं।]

    यो सिद्धान्तअनुसार दल र दलका प्रतिनिधि जनताका सेवक हुन्। तर, अहिलेका नेताहरू सेवकभन्दा पनि शासक बढी हुनुभयो। हाम्रो मुख्य भिजन पनि यही जनताको बहुदलीय जनवाद हो। बिस्तारै हामी अगाडि आउँछौं।

    अहिले त सदस्य पनि कम रहेछन्। सबै प्रदेशमा समिति बनाउने योजना के छ?
    गत साउन २८ गते नै हामीले सातवटै प्रदेशमा समिति बनाइसकेका छौं। अहिले हेर्दा सानो समूह देखिए पनि कोरोनापछि हाम्रो पार्टीमा सदस्यता तपाईंहरूले धेरै देख्नुहुनेछ।

    तपाईंको पार्टीको अबका कार्यक्रम के हुनसक्छन?
    अहिले खासै केही छैन। कोरोना कहरका कारण योजना बनाए पनि गर्न सकिने छैन। पहिले कोरोना साम्य हुनुदिनुहोस्। त्यसपछि सबै जिल्लातिर गएर कार्यक्रम, भेला आयोजना गर्छौं। अवस्था साम्य भएपछि हामीले के–के गर्ने भनेर भनिहाल्छौं नि!

    तपाईंको माइतीघरमा को–को हुनुहुन्छ?
    बुबा मुकुन्द तिवारी, आमा मिना, हामी पाँच छोराछोरी छौं। छोरीमा म सबैभन्दा कान्छी हुँ। मभन्दा माथि तीनजना हुनुहुन्छ। मभन्दा मुनि एकजना। दिदी सुष्मा तिवारी (पराजुली) हुनुहुन्छ। दाजुभाई तीनजना हुनुहुन्छ। दाजुभाइ सुमन, सुनिल र सुरज। दुईजना दाजु र एकजना भाइ।

    तपाईंको पढाइ विराटनगरमै भएको हो?
    मेरो पढाइ विराटनगर जनता स्कुलमा भएको हो। त्यसपछि मोरङको महेन्द्र क्याम्पसमा पढेँ। अनि यता आएर पद्मकन्यामा डिप्लोमा गरेँ। नर्सिङ चाहिँ विराटनगरमै पढेँ।

    पार्टी दर्ता गर्न तपाईंहरूले तयारी कहिलेदेखि गर्नुभयो?
    हाम्रो यो पार्टी दर्ता गर्नका लागि दुई वर्ष लाग्यो। मतलब, साथीभाइ मिलाउन दुई वर्ष लाग्यो। हामी जति पनि साथिभाइ छौं नि सबैको सक्रियतामा पार्टी दर्ता भएको हो।

    अब पार्टी हाँक्न सक्नुहुन्छ?
    किन नसक्नु नि! मान्छेले आँटेको काम हो, हामीले नसक्ने कुरै हुँदैन नि! हिजो १५ वर्षका मान्छेले के–के काण्ड गरिसके, हामी किन नसक्नु। हाम्रा बाबुबाजेले गरेका काम हामी किन नसक्नु!

    सरकार हाँकिरहेको नेकपाले तपाईंहरूलाई अप्ठेरो पार्दैन?
    पार्दैन, किन अप्ठेरो पार्नु!

    नेकपासँगको सल्लाहमै पार्टी दर्ता गर्नुभएको हो?
    हजुर, सल्लाहमा? किन सल्लाह हुनु र? हामीले कसैको सल्लाहमा होइन, आफ्नै साथीभाइ मिलेर गरेका हौं। हाम्रो अधिकारको कुरा हो यो।

    तपाईंहरूलाई त नेकपाका केही ठूला नेताको आर्शिवाद छ, पूर्वमन्त्रीसमेत रहेका नेकपा सांसद महेश बस्नेतको पहलमा पार्टी दर्ता गराएको भन्ने आरोप छ नि?

    यो सबै मिडियाहरूले गराएको हल्ला हो। आजसम्म हामीले कसैलाई भेटेका पनि छैनौं र कसैको सरसल्लाहले पनि होइन। हाम्रो अधिकारका लागि लडेका हौं। हामी युवा र जनताको अधिकार हो।

    तपाईंको छोरा डाक्टर हुनुहुन्छ नि हैन?
    हजुर मेरो ठूलो छोरा डाक्टर छ। मेरी ठूली छोरीले एलएलबी गरेकी छिन्। सानो छोरा एमबिबिएसको तयारी गर्दैछ। सानी छोरी आकांक्षा।

    सबैको नाम ‘अ’ बाटै रहेछ नि है?
    हजुर ‘अ’ बाटै छ, अगाडि हुनुपर्यो नि।

    अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीबाटै अघि बढ्न सम्भव थिएन र?

    हामीलाई त्यही त मन नपरेर पार्टी खोलेको हो। उहाँहरूले गरेका काम, पहिलेका सिद्धान्त छाडेर अरूतिर अल्मलिराख्नुभाको छ नि, हो त्यही मन परेको छैन। हामीलाई मदन भण्डारीको सिद्धान्त चाहियो। जनताको बहुदलीय जनवाद चाहियो। यो प्रचण्डपथ चाहिएको छैन।

    नयाँ पार्टी दर्ता गरेपछि कस्तो अनुभव भइरहेको छ?
    यो सबै सकिएपछि नै आउँछन् यस्ता कुरा। अनुभूतिभन्दा पनि कोरोना साम्य हुनुदिनुप¥यो। निर्मुल त हुँदैन। तर, साम्य भएपछि हामी कसरी, के गरेर अगाडि बढ्ने हो, जिल्ला–जिल्लाबाट राम्रो प्रतिक्रिया आइरहेका छन्। सबै साथीभाई बटुल्छम्। सबैको सरसल्लाहअनुसार नै अगाडि बढ्छौं।

    जनताको पक्षमा काम गर्ने अजेन्डा के छ? तत्काल अजेन्डा भएन भने त पछिल्लो समय खुलेका पार्टी असफल देखिएका छन्।

    तपाईंहरूको अजेन्डा के छ?
    अहिले हाम्रो त्यस्तो कुनै कार्यक्रम छैन। हाम्रो केन्द्रीय कमिटीको बैठकको निर्णयपछि नै आउँछ । कोरोनापछि नै हुन्छ। अहिले आन्तरिक तयारीमै छौं।

    नेपालको हकमा कम्युनिस्ट पार्टी कत्तिको सफल छन्?
    सफल छन्। हामी चाहिँ सफल भएर देखाउँछौं। हामीले जुन मदन भण्डारीको सिद्धान्त, उद्देश्य बोकेका छौं नि, हो त्यसलाई सफल बनाउँछौं।

    पार्टी नै खोल्न चाहिँ मदन भण्डारीको जनवाद ध्वस्त बनाइयो र प्रचण्डको कुरा लिएर पार्टीमा कम्युनिस्ट सिद्धान्त रहेन भन्ने हो वा अन्य

    कुनै इगोका कारण हो?
    होइन होइन, इगोभन्दा पनि उहाँहरूले जुन मदन भण्डारीको सिद्धान्त छाडेर हिँडेपछि नै अहिलेको नेकपा मन नपरेको हो। उहाँहरूलाई हामी सम्मान गर्छौं। पहिला गरेका कुरा ठिकै थिए। तर, मर्ज (एकता) भएपछि ठिक लागेन।

    तपाईं त सामाजिक अभियन्ता पनि हो नि?
    म त सामाजिक अभियन्ता पनि हो। मान्छेले के भनिरहेका छन्। उनीहरूको चाहना बुझ्छु। १८ वर्षदेखि सामाजिक कार्यक्रममा क्रियाशील छु।

    त्यो सामाजिक काममा के पाउनुभयो?
    २० जिल्लाजति घुमिसकेको छु। सबैभन्दा बढी स्वास्थ्य क्षेत्रको अवस्था जटिल छ। सुत्केरी मरिरहेका छन्। बच्चाले उपचार पाउन सकेका छैनन्। कति अशिक्षित छन्। हामीले स्वास्थ्य शिक्षा कसरी दिने भन्ने छ। उनीहरूलाई कसरी सक्षम बनाउने भन्ने छ।

    राजनीतिमा आउन केले प्रेरित ग-यो?
    मलाई झापाकै भूमिले प्रेरित ग-यो।

    हरि भेटवाललाई ससुरादेखि पृथक राखेर राजनीतिक रूपमा कसरी बुझ्नुहुन्छ?
    म बुबासँगै हिँड्थे। उहाँले जनताबीचमा गएर जुन काम गर्नुहुन्थ्यो, निस्वार्थ भावनाले गरेका काम र गरेका कुराले मलाई प्रेरित ग¥यो।

    झापाचाहिँ किन छाड्नुभो?
    अब छ त्यस्तै कुरा, कतिपय व्यावहारिक कुरा मिलेन, जग्गा त अहिले पनि छ।

    पार्टी दर्तापछि तपाईंकी सासु रमा भेटवालको प्रतिक्रिया के छ?
    उहाँ एकदमै खुसी हुनुहुन्छ । बुहारीको प्रगतिमा खुसी नहुने को होला?

    पार्टी अब चलायमान हुन्छ या मौन बस्नुहुन्छ?
    मौनचाहिँ बस्दैनौं तर बिस्तारै चलायमान हुन्छ।

    अहिलेका राजनीतिक पार्टीलाई के भन्नुहुन्छ ?
    हामी सबै मिलेर काम गरौं। देश बनाऔं, अहिले विश्वभरि जुन संकट आएको छ, त्यसलाई नियन्त्रणमा लिऔं। अहिले युद्ध गर्ने वा झगडा गर्ने बेला होइन भनेर भन्छौं राजनेताहरूलाई। कोरोना साम्य पार्नु अहिलेको आवश्यकता हो। यसमा सबै लागौं।

    तपाईंका बारेमा समाचारहरू पढ्नुभएको छ? धेरैखाले आरोप लागेका छन् नि?
    उहाँहरूको काम हो। उहाँहरूले जति सुन्नुहुन्छ, जति बुझ्नुहुन्छ त्यति नै लेख्ने हो। धन्यवाद, तपाईंहरूबिना त हामी अगाडि बढ्नै सक्दैनौं। तपाईंहरू नै हो हामीलाई जनताको सामु प्रस्तुत गराउने। तपाईंहरूले जे लेख्नुहुन्छ राम्रै लेख्नुहुन्छ भन्ने मलाई लागेको छ। मेरो पार्टी र व्यक्तिगत तर्फबाट सबै पत्रकारलाई धन्यवाद।

    समग्रमा राजनीतिबाट परिवर्तन कसरी सम्भव छ?
    छ किन नहुनु नि!

    कसरी सम्भव छ?
    परिवर्तन राजनीतिबाटै सम्भव छ। राजनीति नै हो सबै व्यवस्था बदल्ने। राजनीतिबिना केही परिवर्तन गर्न सकिँदैन। आयोमेलबाट

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …