विश्व बदल्नु अघि देश बदलौं, देश बदल्नु अघि आफ्नो समाज बदलौं, समाज बदल्नु अघि आफ्नो परिवार बदलौं, परिवार बदल्नु अघि आफैलाई बदलौं । आफूलाई बदल्नका लागि आफ्नो सोच बदलौं । त्यसैले लक्ष्य जति नै उच्च भए पनि सुरूवात आफुबाट गर्न आवश्यक छ भन्ने नबीनतम सोचका साथ अघि बढेका युवा हुन्, विजय डाँगी । उद्योगी ब्यापारी व्यावसायिक हक हित र यस उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पुर्याउनका लागि डाँगी यही माघ २८ र २९ गते हुने पथरी उद्योग बाणिज्य संघ पथरीशनिश्चरे मोरङको चुनावी साधारणस ‘वरिष्ठ उपाध्यक्ष’ पदमा प्रतिस्पर्धा गर्दैछन् । पथरी क्षेत्रका उद्योगी ब्यावसायीहरूको सुरक्षित भविष्य निर्माणका लागि उनले सबैमा भोटको अपिल गरेका छन् ।
डाँगी फर्निचर उद्योग, डाँगी कन्ट्रक्सन सप्लायर्स प्रा.लि पाथीभरा स–मिल ,रोजा ईन्टरप्राइजेजका प्रोपाइटर रहेका डाँगी रेड स्टार माविका सन्चालक पनि हुन् । पथरीमा उद्योग बाणिज्य संघको चुनाबी माहौल तताईरहेको बेला उनीसँग गरिएको कुराकानी ।
०चुनावमा के एजेण्डा लिएर भोट मागिरहनु भएको छ ?
म बुँदागत रुपमा नै एजेण्डालाई प्रस्तुत गर्छु
– सभाहल सहितको सुबिधा सम्पन्न भबन निर्माण गर्ने नै हो ।
–संघलाई आधीकारिक रुपमा सम्बन्धित निकाय र महासंघमा आबद्ध गर्ने काममा मेरो प्रमुख जोड बल रहनेछ ।
–पथरीशनिश्चरे क्षेत्रलाई पूर्णरुपमा बन्द निषेधित क्षेत्र घोषण गरिने छ ।
–यस क्षेत्रका युबा,महिला, दलित, अपाङ्गता भएका स्वरोजगार गर्न ईच्छुकहरूलाई उद्यमशील तालीमको ब्यवस्था गरिने छ ।
–उद्योग ब्यापारी माथि हुने चन्दा आतंक बन्द गरिने छ ।
– सुरक्षा ब्यबस्थापन चुस्त दुरुस्त पारी रातको १० बजे सम्म ब्यापार गर्ने बाताबरण सृजना गर्नेछु ।
–घरधनी र भाडावालामा हुने घरबहाल कर सम्बन्धी समस्यालाई हल गर्नेछु ।
–संघले सामाजिक दायित्व अन्तरगत पथरी शहरलाई ग्रिनसिटि बनाउन पहल गर्नेछु ।
–संघले हरेक बर्ष आफ्नो स्थापना दिवसलाई महोत्सवका रुपमा मनाउने ब्यावस्था मिलाउने छु ।
–यस क्षेत्रमा थप बैंक तथा बित्तिय संघ संस्था स्थापना गर्ने पहल गर्नेछु ।
–सामुहिक लगानीमा उद्योग स्थापना गर्न लगानी मैत्री वातावरण तयार गर्नेछु ।
–संघले सबै स्तरका उद्योगी , ब्यापारी , खुद्रा ब्यापारी र ब्यबसायीहरुको संरक्षण , प्रबद्र्धन गर्ने वातावरण तयार गर्नेछु ।
०उद्योग वाणिज्य संघमा के छ त्यस्तो आकर्षण ? फेरि प्रतिस्पर्धा गरिरहनु भएको छ नि ?
आकर्षण केही पनि छैन । तर, सामाजिक काममा क्रियाशील हामी जस्तचा युवाहरू नेतृत्व गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जहिल्यै कर्मकाण्डी ढंगले पथरी उद्योग वाणिज्य संघ चलेको छ । अब नीति र विधिले चल्नु पर्छ भन्ने कुरा हो । २०४४ साल देखि खोई कार्यालय भवन बनेको ?? चुनावको बेला ललिपप देखाएर कहिले सम्म ब्यापारीहरू अल्मलिरहने त ?
०वाणिज्य संघमा नेता बन्नेहरूको भीड छ , तर ३३ सय ब्यापारी भएको पथरीशनिश्चरे क्षेत्रमा ७४४ जना ब्यापारी मात्र छाता संगठनमा आवद्ध छन ।किन ?
हो म पनि यही प्रश्नको जवाफ खोजिरहेको छु । उखुको रस पेल्ने पनि ब्यापारी हो । तरकारी, फलफुल बेच्ने पनि ब्यापारी हो । जुत्तामा पोलिस लगाउने पनि ब्यापारी हो । सबै खालको ब्यापार गर्ने ब्यापारी र उद्योगीलाई एउटै छातामा ल्याउन नै मैले उम्मेद्वारी दिएको हुँ । हामी कहाँ ठूला र साना ब्यापारी बीच ठूलो खाडल छ , त्यो खाडल पुर्ने मेरो प्रतिवद्धता छ । जात, वर्ग, लिङ्ग र धर्मका आधारमा ब्यापारीलाई खण्डित गर्नु भएन । चोकमा बसेर पानीपुरी चटपटे बेच्ने ब्यापारी पनि अब पथरी उद्योग वाणिज्य संघमा आवद्ध हुनेछन् । तर समय लाग्न सक्छ ।
०साना ब्यापारीले पोको बोकेर हिड्ने दिनको अन्त्य कहिले होला पथरीमा ?
मैले माथि नै भनि सकें साना ब्यापारीलाई उनीहरूको स्थान सुरक्षित गर्न नगरपालिका सँग पहल गरिने छ । तर ब्यापार गर्ने भनि सकेपछि सानो होस वन ठूलो राज्य,स्थानीय सरकार र संघले बनाएको नियममा बस्नु पर्छ ।
०चुनाव जिते पछि गर्ने पहिलो प्राथमिकताको काम के हो ?
सभाहल सहितको सुबिधा सम्पन्न भबन निर्माण पहिलो प्राथमिकता राखेको छु । त्यस्तै संघलाई आधिकारिक रुपमा सम्बन्धित निकाय र महासंघमा आबद्ध गर्ने काम दोस्रो प्राथमिकता छ । पथरीशनिश्चरे क्षेत्रलाई पूर्णरुपमा बन्द निषेधित क्षेत्र घोषण गर्ने ,यस क्षेत्रका युबा,महिला, दलित, अपाङ्गता भएका स्वरोजगार गर्न ईच्छुकहरूलाई उद्यमशील तालिमको ब्यवस्था गर्ने र उद्योग ब्यापारी माथि हुने चन्दा आतंक बन्द गर्ने कामलाई प्राथमिकता दिनेछु ।
०पथरी क्षेत्रमा ब्यापारको आकर्षण घटेको सुनिन्छ , आकर्षणका लागि के छन कार्यक्रम ?
मलाई त्यस्तो लाग्दैन । खासगरी हिजो झण्डै ७० हजार भूटानी शरणार्थीको चाप थियो यो क्षेत्रमा । उनीहरू आप्रवासमा गएपछि यहाँको ब्यापार घटेकै हो । ७० हजार मानिस क्रमश घट्टा ब्यापार घट्नु स्वाभाविक नै हो । उनीहरूको खानपान, निर्माण, पोशाक र अध्ययनसँग सम्बन्धित बस्तु र सामग्री हाम्रो बजारसँग आश्रित थियो । तर अब सधैं त्यही अवस्था रहन्न । ब्यापारको प्रकृति फेरिन्छ । हिजो किसान धान,अन्न बेचेर मात्र पैसा प्राप्त गर्थ्यो । आज रेमिट्यान्स आएको छ ।पथरी नै ठूलो श्रम बजार भएको छ । हिजो पोका बोकर सामान किन्न चारथरी पसल हिड्नु पर्थ्यो , आज सपिङ कम्प्लेक्स,मल र डिपार्टमेन्ट स्टोर खुलेका छन् । त्यसैले ब्यापार र उद्योगको पनि समय अनुसार प्रकृति फेर्दै लान सक्नु पर्छ ।
०अन्त्यमा केही ??
आम ब्यापारी, उद्योगीले काम गर्न सक्ने सक्षम ,समय दिन सक्ने नेतृत्व खोजेका छन् । सुरक्षाको भरोसा खोजेका छन् । त्यो म पुरा गर्न सक्छु भन्ने आँट छ । चोकमा गफ गरेर विकास हुन्न । आर्थिक समृद्धिका लागि सिर्जनशील काम गर्नुपर्छ। तपाईको मिडिया मार्फत मेरा कुरा राख्न दिनुभएकोमा धन्यवाद ।