• file photo

    काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए ।
    उडान तालिकानुसार आज युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ ।

    बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ ।

    सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन्। नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ ।

    विदेशबाट आउनेको पीसीआर नेगेटिभ भए एयरपोर्टबाट सिधै घर जान पाइने
    विदेशबाट आउनेहरुको पीसीआर नेगेटिभ भए एयरपोर्टबाट सिधै घर जान पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा नबसी एयरपोर्टबाट सिघै घर जान पाउने बताएका हुन् ।

    सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने मन्त्री भट्टराईले बताए ।

    ‘‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि भदौ १६ (सेप्टेम्बर १) बाट नियमित उडानहरु खोल्ने तयारी भएको छ ।’ उनले भने,‘कुन कुन देशहरु भन्ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ । मलेसिया युएइ, दक्षिण कोरिया, जापान, हङकङ लगायत हुन सक्छन । पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित घर जान दिइन्छ ।’

    उनले पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने बताएका छन् । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । उनले विश्वका अन्य मुलूकहरुमा समेत अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम रहेको भन्दै ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए ।

    ‘सात रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ । यदि एक कोठामा २ जना बस्ने हो भने । सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ । दिनको १५ सयको हाराहारीमा हुन्छ । होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्छ, गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाईफाई हुनुपर्छ’,उनले भने‘एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ । ४ पटक खाजा र खाना दिनुपर्छ । त्यो भन्दा महंगोमा बस्छौँ भन्नेका लागि २५ सय र ४ हजार भन्दा बढीका होटलहरु क्लिन छन ।’

    उनले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन सक्ने कुनै आधार नभएकाहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने बताए । उनले भने, ‘‘विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ । यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ ।’’ पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्नेसमेत उनको भनाइ छ ।

    उनले परिस्थिति अनुकुल भएपछि अवस्था हेरेर अन्य देशहरुको पनि नियमित उडान सुरु हुने बताएका छन् ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…