उर्लाबारी, २६ माघ/ याक्थुङ सम्वत्को शुक्रबारदेखि नयाँ बर्ष सुरु भएको छ । याक्थुङ सम्वत पाँच हजार नौ सय ९६ साल सुरु भएको हो । याक्थुङहाङ प्रथमले यो सम्वत् प्रचलनमा ल्याएका हुन् । साफेक्वा महिनादेखि सुरु हुने यो सम्वत् चेरेङ्नाम, थेरेङ्नाम, काप्मेपा, थक्मेपा, सिसेक्पा, थेसेक्पा, सिसेक्रो, थेसेक्रो, सेन्छेङ्ला, सिसेक्ला हुँदै कोक्फेक्वा अन्तिम महिना हो । याक्थुङ सम्वत् पाँच हजार नौ सय ९६ सालको पात्रो मोरङको उर्लाबारीमा प्रकाशनमा ल्याइएको छ । याक्थुङहाङ प्रथमको जन्मलाई आधार मानेर प्रचलनमा ल्याइएको यो सम्वत पाँच हजार पाँच सय ९० सालसम्म प्रयोगमा आएको देखिन्छ । पछिल्लो समय हङकङमा वि.स.२०६८ सालदेखि प्रयोगमा ल्याइएपनि यो सम्वत्को पात्रो यसबर्ष मात्र पहिलोपटक प्रकाशनमा ल्याइएको हो । माङ शेर्माले निर्माण गरेको सो पात्रोको प्रकाशन मुकुम शेर्मा र साम्मिला शेर्माले गरेका थिए । झापाको दमकस्थित किरात माङ्हिममा एक कार्यक्रमकाबीच याक्थुङ (लिम्बु) पात्रो विमोचन गरिएको छ । याक्थुङ (लिम्बु) पात्रोका सल्लाहकार नरेन्द्र शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र चेम्जोङ, समाजसेवी कृष्णराज शेर्मा, राजेन्द्र शेर्मा र सुवेदार कविन्द्र शेर्माले संयुक्तरुपमा सो पात्रो विमोचन गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । माङ शेर्माले प्रायोजन गरेको सो कार्यक्रमको व्यवस्थापन रूपेन्द्र शेर्माले गरेका थिए ।