काठमाण्डु २०७४ माघ २८ गते
काठमाण्डु, २८ माघ – नेकपा एमालेले फागुन भित्रै पार्टी एकता गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटिको बैठकले नयाँसरकार गठनपछि फागुन भित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय शक्ति बाँडफाँडमा कुरा नमिल्दा एकता प्रक्रिया भाँडिन सक्ने बताइरहेका बेला एमालेले औपचारिक रुपमै एकता गर्ने निर्णय गरेको हो । यस्तै सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन जनाको नाम प्रति एमालेले आपत्ति जनाएको छ ।
सरकारले आफूहरुसँग परामर्श नै नगरी एकलौटी रुपमा नाम सिफारिस गरेको भन्दै एमालेले त्यसको विरोध गरेको हो । सरकारले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र कांग्रेसका पुराना नेता गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ ।