मोरङ । नेपाल आदिबासी जनजाति महासंघ पथरी शनिश्चरे नगर समिति मोरङले तालिममा उपस्थितहुने सहभागिहरुलाई बाख्रा, बंगुरको पाठा र कुखुराको चल्ला निशुल्क प्रदान गर्ने भएको छ ।
नगरपालिका—४ स्थित सामुदायिक भवनमा शनिबारदेखि ‘बंगुर, बाख्रा र कुखुरा’ पालन तालिम सुरु भएको छ । आदिवासी जनजाति समुदायलाई स्वरोजगार बनाउने उदेश्यले आयोजित तालिममा नगरमा रहेको १७ वटा जातीय समुदायबाट ५० जना सहभागि रहेको समितिका सचिव देबेन्द्र वनेम लिम्बूले बताए ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको सामाजिक परिचालन बिभागमा कार्यरत रुद्र तामाङ्गले दिने उक्त तालिम तीन दिनसम्म चल्ने छ । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित तालिममा सहभागिहनेहरुले बिषय अनुसार बाख्रा र बंगुरको एक एक वटा पाठा र कुखुरा पालन सम्बन्धी तालिम लिनेले सय वटा बोइलर कुखुराको चल्ला दिने कार्यक्रम रहेको नेपाल आदिबासी जनजाति महासंघ नगर समितिका कोषाध्यक्ष रामचन्द्र मगरले बताए ।
समितिको उपाध्यक्ष राजेन्द्र गुरुको सभापतित्वमा भएको कार्यक्रममा महासंघको १ नम्बर प्रदेश समितिको मुख्य सचिव तिलकप्रसाद राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
१) पथरी शनिश्चरे कुखुरा र सुंगुरमा आत्मानिर्भर
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले नगरपालिकामा बंगुर, लोकल कुखुरामा आत्मनिर्भर रहेको दाबी गरे । बंगुर नगरबाट अन्यत्र निर्यात समेत हुने गरेको बताउदै तालिम लिने परिवार शिप सिकेर आत्मनिर्भर बन्न शुभकामना दिए ।
२) कृषि तालिम काम नलागेकोमा गुनासो
नगर प्रमुख राईले नगरलाई आत्मनिर्भर र अर्गानिक बनाउने उदेश्यले नगरपालिका हरेक वडाबाट ३० जनाको दरले तीन सय कृषकलाई बेमौसमी तरकारी उत्पादन लगायतको बिभिन्न प्रकारको तालिम दिएपनि तालिम लिने कृषकहरुले प्रभावकारी ढंगले नलागेको गुनासो गरे । तालिम दिएका मध्ये सिलाई कटाइ, ढाका तान र दुना टपरी तालिम गर्ने बाहेक अरु प्रभावकारी ढंगले प्रयोगमा नआएको राईको भनाइ थियो ।
३) सुकुम्बासीलाई धनिपुर्जा दिने तयारी
अर्को प्रशंगमा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले नगर सरकार हरेक सुकुम्बासीलाई जग्गा धनिपुर्जा दिन लागि परेको बताए ।
अब्याबस्थित बासोबासीहरुलाई जग्गा दिन सुकुम्बासी आयोगसँग नगरको सम्झौता भइसकेको उल्लेख गर्दे चाँडै धनिपुर्जा दिन नगरपालिका र हरेक वडामा समिति गठन भइसकेको बताए ।
सुकुम्बासी आयोगले देशभर सय, १ नम्बर प्रदेशमा २८ र मोरङ जिल्लामा सात वटा पालिकामा अब्याबस्तित बसोबासीहरुलाई जग्गा दिन प्रकृया सुरु भइसकेको नगर प्रमुख दिलिप कुमार राईले बताए ।