• नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य युवराज ज्ञवालीले अन्तराष्ट्रिय ग्राइण्ड डिजाइनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभएको छ ।

    विराटनगरमा शनिवार नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले प्रधानमन्त्री भएकै दिनबाट उहाँ दलाल पूँजीपति र अन्तराष्ट्रिय पूँजीवादीहरुको घेराबन्दीमा परेको आरोप लगाउनुभयो । ‘सत्तामा पुगेपछि दलाल पुजीपतिलाई संरक्षण गर्नेमा उहाँको ध्यान भयो र अन्त्यमा त्यही जालमा फस्नुभो,’ नेता ज्ञवालीले भन्नुभयो ‘ र उहाँ जनताबाट टाढिदै एमसिसि पास गर्नुपर्छ भन्ने अडान राख्दै पश्चिमा पुँजीवाद र भारतीय दलाल पूँजीवादको पक्षमा उभिनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयले नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर धक्का लागेको समेत बताउनुभएको छ ।

    उहाँले प्रतिनिधिसभा विघटन गर्दा नेपालको कम्युनिष्ट आन्दोलन र संघीय लोकतान्त्रीक गणतन्त्रसहितको उपलब्धिलाई एकैपटक विघटन गर्ने प्रयत्न भएको तर पार्टी केन्द्रदेखि तलसम्मका अत्याधिक बहुमत सदस्यहरुले त्यसलाई अस्वीकार गरेर आन्दोलन जोगाउने उद्घोष गरेको बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र घेराबन्दी भयो र काम गर्न दिएनन् भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै उहाँले पार्टीले काम गर्न नदिएको हो भने पार्टी बैठकमा त्यो प्रस्ताव किन ल्याउनुभएन भन्ने प्रश्न गर्नुभयो । ‘पार्टीले काम गर्न दिएन भनेर उहाँले भन्ने गर्नुभएको छ त्यसो हो भने तपाईंले किन पार्टीको बैठकमा त्यो प्रस्ताव ल्याउनु भएन, संसदमा गएर मसँग प्रतिनिधिसभाको विश्वास छ भनेर संसदीय दलमा किन आउनु भएन,’ नेता ज्ञवालीले भन्नुभयो ‘तपार्इंले सोभियत संघ झैं नेपालको कम्युनिष्ट आन्दोलन विघटन गर्ने प्रयत्न गर्नुभयो तर असफल हुनुभयो ।’

    कम्युनिष्ट पार्टी भित्र गलत प्रवृत्ति हुर्कन दियो भने गलत मानिस नेतृत्वमा पुग्ने र उसले कम्युनिष्ट आन्दोलन नै समाप्त पारिदिने गरेको घटना नेपालमा पनि दोहोरिएको भन्दै त्यसबाट शिक्षा लिएर अघि बढ्न नेता ज्ञवालीले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालका भएको पछिल्लो परिघटना अन्तराष्ट्रिय ग्राइण्डिजाइन अन्तरगत भएकोसमेत दावी गर्नुभएको छ । उहाँले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको दुई तिहाईको सरकार सुरुदेखि नै दलाल पूँजीपतिको घेराबन्दीमा परेको समेत आरोप लगाउनुभयो ।

     

    नेता ज्ञवालीले नेकपाबाट प्रधानमन्त्रीसहित केही व्यक्तिहरु बाहिरिएको दावी गर्दै उहाँले पार्टीको आधिकारिकता आफुहरुसँगै रहेकोमा भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक निर्णय अदालतबाट सच्चिने विश्वास व्यक्त गर्दै त्यसो नभए सबै राजनीतिक दलहरुले संयुक्त आन्दोलन मार्फत जनताले सच्याउने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले घोषणा गरेको चुनाव गर्नका लागि नभएको बरु प्रधानमन्त्रीको समय लम्ब्याउनका लागि मात्र भएको जिकिर गर्दै भ्रममा नपर्न आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो हिड्नेलाई समेत केन्द्रीय सदस्य बाड्ने र हजारौंको केन्द्रीय समिति बनाएर मानिसलाई लोभ, लाचल, धन र सम्पतिले किनेर कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउनुभयो । ‘हामी कम्युनिष्ट आन्दोलन र पार्टीलाई केपी ओलीको पञ्जाबाट मुक्त गर्न सफल भएका छौं, चुनावको नाममा तपाईंले प्रधानमन्त्री पदको आयु बढाउन खोज्नुभयो भने तपाईं बाटोमा मुख देखाएर सुरक्षित हिड्न नसक्ने अवस्था आउनेछ,’ नेता ज्ञवालीले भन्नुभयो ‘तपाई जसरी अघि बढ्नु भएको छ यो बाटोबाट तपाईंले कम्युनिष्ट पार्टी हैन केपी ओली एण्ड कम्पनी मात्र बनाउन सक्नुहुनेछ । तपाईको पथले त्यहीँ नै पुर्याउँछ ।’

    जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य जनार्दश शर्मा ‘प्रभाकर’ले आफ्नै हातले बनाएको संविधान र संस्थागत गरेको संघीय गणतन्त्र प्रधानमन्त्री ओलीले आफ्नै हातले समाप्त पारेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट आन्दोलन भित्र विषालु सर्पको संज्ञा दिनुहुँदै नेता शर्माले भन्नुभयो ‘केपी ओली कम्युनिष्ट आन्दोलन भित्र लुकेर बसेको गोमन साँप रहेछन्, जसले कम्युनिष्ट आन्दोलन, पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई एकै पटक डसेको छ ।’ प्रधानमन्त्रीले ओलीले प्रचण्डलाई धृतराष्ट्रले झैं अंगालो मारेको भन्ने गरेकोप्रति कटाक्ष गर्दै नेता शर्माले भन्नुभयो ‘प्रचण्डलाई अंगालो मारेको भनेर तपाईले धृतराष्ट्र दावी गर्नुभयो तर तपाई धृतराष्ट्र हैन सकुनी हुनुभयो केपल छलछाम र जालसाँजमा गर्न सिपालु हुनुभयो ।’

     

    सरकार बनेलगतै अन्य मन्त्रालयका महत्वपूर्ण निकाय र विभागलाई आफु मातहतमा ल्याएर शक्ति केन्द्रीत गर्दै अन्तिममा पार्टीसमेत विघटन गर्ने अवस्थामा पुर्याएको उहाँको दावी थियो । पार्टी भित्र लामो समयदेखि चलेको विवाद भदौ २६ गतेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीको पक्षमा निर्णय गरेको तर प्रधानमन्त्रीले नै त्यो निर्णय नमानेपछि अहिलेको अवस्था उत्पन्न भएको बताउनुभयो । ‘भदौ २६ मा पाँच वर्ष उहाँनै प्रधानमन्त्री हुने, महाधिवेशनसम्म अध्यक्ष पनि हुने र महत्वपूर्ण निर्णय लिँदा सचिवालयमा परामर्श गर्ने भनिएको थियो जुन उहाँको पक्षमा भएको सबैभन्दा बलियो निर्णय थियो,’ नेता शर्माले भन्नुभयो ‘उहाँले त्यो निर्णय पनि दुई दिनपछि मान्दिन भन्नुभयो त्यसको कारण के रहेछ भने उहाँ भदौ २६ अघि नै अरु कसैको शरणमा गइसक्नुभएको रहेछ ।’ उहाँले प्रधानमन्त्री अरु कसैको कठपुतली भएर नाचिरहेको आरोप पनि लगाउनुभयो । ‘उहाँ कठपुतली हुनुभयो, अब तपाईंको उपयोग सकिएपछि सडकमा फालिनुहुन्छ र भ्यागुताको भुँडी फुटेजस्तो फुट्नुहुनेछ,’ नेता शर्माले भन्नुभयो ।

    नेता शर्माले कम्युनिष्ट पार्टी भित्र बसेको गोमन साँपले प्रतिनिधिसभा र कम्युनिष्ट आन्दोलनलाई समेत डसेको भन्दै पछिल्लो घटनाको विरोध गर्नुभयो । उहाँले नेपालमा क्रान्तिकारी परिवर्तनका उपलब्धिहरुलाई भत्काउने र प्रतिक्रान्तिको प्रयत्न भएको भन्दै आफ्नो स्वार्थका लागि मुलुकको बलिदानी गर्ने उल्टो काम भएको टिप्पणी गर्नुभयो । नेता शर्माले दुई तिहाई मतसहित जनताको पक्षमा काम गर्न पठाउँदा पनि नेतृत्वका कारण गर्न नसकेकोमा जनतासँग माफी माग्दै आन्दोलनलाई अघि बढाउन आग्रह गर्नुभयो ।

    पार्टी वैधानिकता भएपनि आङ्नो दृष्टिकोण सार्वजनिक गर्छुभन्नेहरुप्रति पनि नेता शर्माले कटाक्ष गर्नुभएको छ । ‘ठिक र बेठिक छुट्याउने आफ्नै क्षमता हुनुपर्छ । वैधानिकता वा अन्य प्राविधिक कुरा हेरे निर्णय गर्ने भनेको स्वार्थी कुरा हो । अन्ततः त्यसले प्रतिक्रान्तिकै सेवा गर्छ,’ शर्माले भन्नुयभो । उहाँले पार्टी एकताको औचित्य अहिले पनि नसकिएको भन्दै गलत प्रवृत्तिका विरुद्ध निरन्तर लडिरहनु पर्नेमा जोड दिनुभयो ।

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …