• २०७४ फाल्गुन ३


    अस्ट्रेलिया — प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने समाचार आइरहेका बेला उनको मन्त्रिपरिषदका दुई मन्त्री अस्ट्रेलिया भ्रमणमा छन् । अर्का एक जना पनि आउने तयारीमा छन् ।

    अर्थराज्यमन्त्री उदयशमशेर राणा र कृषिराज्यमन्त्री सरिता प्रसाईं अस्ट्रेलियाका विभिन्न स्थानको भ्रमणमा छन् । वाणिज्यमन्त्री मीन विश्वकर्मा बिहीबार आउँदै छन् ।
    साताअघि आएका अर्थराज्यमन्त्री राणाको टोलीमा मन्त्रालयका दुई सहसचिवसहित ५ जना छन् ।

    कृषिराज्यमन्त्री प्रसाईंको टोलीमा सचिव डा. सुरोज पोखरेलसहित ६ जना छन् ।


    वाणिज्यमन्त्रीको टोलीमा पनि आधा दर्जन सदस्य रहने बताइएको छ । राज्यमन्त्री प्रसाईंको टोलीले मेलबर्न, क्याबेरा र सिड्नीलगायत सहर भ्रमण गरेको छ ।


    पर्यटन मन्त्रालयका सहसचिवलगायत ६ जनाको टोली पनि अहिले अस्ट्ेरलियाको अवलोकन भ्रमणमा छ ।


    अर्थराज्यमन्त्री राणा नफर्किंदै मन्त्रालयका आधा दर्जन कर्मचारी दुई सातापछि संघीयताबारे बुझ्न अस्ट्रेलिया आउने कार्यक्रम तय भइसकेको छ । राणा एनआरएनले आयोजना गरेको लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुन आएको बताइए पनि उनको भ्रमणबारे यहाँस्थित नेपाली दूतावासले प्रस्ट पारेको छैन ।


    उनले अस्ट्रेलियाका सहायक अर्थमन्त्री डेभिड कोलम्यान, ‘स्याडो’ अर्थमन्त्रीलगायत केही नेतासँग भेटे पनि उक्त भेट औपचारिक र कूटनीतिक तहको होइन ।


    कृषि फार्म अध्ययन गर्न भनेर आएकी कृषि राज्यमन्त्री प्रसाईंले मेलबर्नका केही फार्मको भ्रमण गरेकी छन् । प्रसाईं र बिहीबार आउने वाणिज्यमन्त्रीको भ्रमणबारे पनि औपचारिक जानकारी नभएको दूतावासले जनाएको छ ।


    परराष्ट्र प्रवक्ता भरतराज पौड्याल भने मन्त्रीहरूले सबै भ्रमणमा परराष्ट्रसँग समन्वय गर्नु आवश्यक नरहेको बताउँछन् ।


    ‘कूटनीतिक र दुई देशीय भ्रमणबाहेकमा हामीलाई जानकारी हुँदैन, कन्सुलर शाखामा सम्पर्क गरेर भिसासम्बन्धी काम गर्न सकिन्छ, परराष्ट्रलाई जानकारी दिइरहन पर्दैन,’ उनले टेलिफोनमा भने ।


    अस्ट्रेलियामै अध्ययन–अनुसन्धानमा संलग्न डा. भरत पौडेल भने विभिन्न समयमा हुने मन्त्रीहरूको भ्रमणको औचित्य पुष्टि हुन नसकेको बताउँछन् ।


    ‘मन्त्री र कर्मचारी भ्रमणमा आउने क्रम बढेको छ तर बोलाउने र पठाउने निकायले भ्रमणको उपलब्धि र औचित्य पुष्टि गर्नुपर्छ,’ उनले भने । एक वर्षको अवधिमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठदेखि पर्यटनमन्त्री जितेन्द्र देवलगायत आधा दर्जनभन्दा बढी मन्त्री तथा उच्च अधिकारी अस्ट्रेलिया घुमेर फर्किसकेका छन् ।


                         प्रकाशित  २०७४ फाल्गुन ३?

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …