• तेजन खड्का
    उर्लाबारी माघ ४ गते । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भईरहँदा यहाँका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो ।
    प्रायः अभिभावकको आकर्षण निजी (संस्थागत) विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमि आएको हो । निजीको तुलनामा सार्वजनिक विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि विद्यार्थीको संख्यामा भने कमि आईरहेको छ ।
    एकताका सामुदायिक विद्यालयमा विद्यार्थी खचाखच हुन्थे, कक्षा कोठालाई सेक्सन ए, वि र सि सम्म राखिएको पाइन्थ्यो, तर अचेल एउटा कक्षामा चारपाँच जना मात्र विद्यार्थी पाइन्छ । विद्यार्थी भन्दा शिक्षक कर्मचारीहरुको संख्या नै बढि देखिन थालेको छ ।
    उर्लाबारी ९ को महाराज आधारभुत विद्यालयमा पनि विद्यार्थीको संख्या निक्कै कम छ । समाचारका लागि विद्यालय पुग्दा कक्षा २ मा २ जना र ५ कक्षामा ५ जना विद्यार्थीमात्र पठनपाठन गरिएको पाईयो । अन्य कक्षामा पनि संख्या उस्तै छ । तर शिक्षकहरु भने विद्यार्थी गयल भएको बताउछन् ।
    सामुदायिक विद्यालयको पढाई खस्किएको भन्दै अभिभावकहरुले निजी विद्यालयमा छोराछोरी पठनपाठनका लागि भर्ना गरेपछि विद्यालयमा विद्यार्थीको संख्या घटेको हो । तर विद्यालयका प्रअ गजेन्द्र राई पठन पाठनमा कमि नआएको स्विकार गर्छन् । भन्छन्,अहिले अभिभावकहरु सम्पन्न हुनुभएको छ । त्यसैले पनि निजी विद्यालयमा छोराछोरी पढाउनुहुन्छ । यद्यपि, आफुहरुले विद्यार्र्थीहरु पूनःविद्यालयमा फर्काउन लागि विभिन्न तारतम्य गरिरहेको प्रअ राईले बताए । उनले भने,नजिकै बोर्डिग खुलेपछि पछि हाम्रा विद्यार्थी त्यहा गए ।
    उर्लाबारी ९ कै प्रभात आधारभुत विद्यालय पनि पहिलेको तुलनामा विद्यार्थी संख्या घटेको छ । अहिले विद्यालयमा १२० जना विद्यार्थी रहेको प्रअ मोहन चापागाईले बताए । तर अन्य विद्यालयको तुलनामा आफ्नो विद्यालयको तुलनामा आफुहरुको विद्यालयमा संख्या उल्लेख्य नै रहेको प्रअ चापागाईको भनाई छ । सामुदायिक विद्यालयमा पहिलेको तुलनामा विद्यार्थी घटेकैं हो, यसमा बिभिन्न कारणहरु छन्, प्रअ चापागाई भन्छन्,विषयतगत शिक्षकहरुको पूर्णमात्रामा दरबन्धि नहुनु,निजी विद्यालयहरु प्रसस्त मात्रामा हुनु पनि विद्यालय विद्यार्थी घट्नुको प्रमुख कारणहरु हुन् । उनका अनुसार पहिल्यै एउटै घरका ४ जना ५ जना छोराछोरी विद्यालयमा पढ्न आउथे । तर अहिले चेतनाका कारण पहिल्यै जस्तो धेरै सन्तान जन्माउनेहरु घटेका कारण पनि विद्यार्थीसंख्या पनि घटेको उनको बुझाई छ ।आफ्नो विद्यालयमा गुणस्तरीय शिक्षामा कमि नआएको उनले दावी गरे ।
    आजभोलि सामुदायिक विद्यालय विपन्न परिवारका छोराछोरीमात्र पढ्ने ठाउँ बनेको छ । जसका अभिभावकहरु दिनभर ज्यालामजदुरी गर्छन् । उनीहरुलाई सामुदायिक बिद्यालयमा नै छोराछोरी पठाउन पनि हम्मे पर्छ । विद्यालय गएर आफ्नो छोराछोरीहरु कस्तो पढिरहेका छन्, बुझ्न जाने सम्म फुर्सद हुँदैन् ।
    निजी विद्यालयमा विद्यार्थी ओईरिनुको मुख्य कारण भनेको अंग्रेजी शिक्षा नै हो । छोराछोरीहरु राम्रो अंग्रेजी पढ्न लेख्न र बोल्न सक्छन् भनेर पनि निजी विद्यालयमा नानीहरु पठन पाठन गराएका हौं उर्लाबारी ६ कि कन्चन भण्डारी भन्छिन्, नियमित होमवर्क र वालवालिकाको अन्तरनिहीत प्रतिभामा निजी विद्यालयले ध्यान दिइएको पाइन्छ । स्कुल बसले नानीहरु घर सम्म ल्याईदिने पुरियाईदिने गर्छ । सरसफाई लगायत सुरक्षामा पनि ध्यान दिएकोले सामुदायिकको तुलनामा चिन्तामुक्त हुन्छौ । सामुदायिक मै राम्रो पढाई भए निजी विद्यालयमा आर्थिक भार बोकेर छोराछोरी पढाउने रहर नभएको उनले बताईन् ।
    उर्लाबारी ९ को महाराज निमावीमा कक्षा २ मा २ जना र कक्षा ५ मा ५ जना विद्यार्थी ।
    तस्बिर तेजन

    भण्डारी पुन भन्छिन्, सामुदायिक विद्यालयमा शिक्षकहरु मन लगाएर पढाउदैंनन् । सामुदायिक विद्यालयका शिक्षकहरु पार्टीको झोला बोकेर कार्यक्रम कार्यक्रम पुग्ने, कस्ले कस्तो पढिरहेको छ ध्यान नदिने गरेको उनको गुनासो छ ।
    उर्लाबारी ९ कै राजघाट निमाविमा पनि विद्यार्थीको संख्या निक्कै घटेको छ । विद्यालयको एक कार्यक्रममा एक अभिभावकले खुलेरै शिक्षक तथा विद्यालयको विरोध गरिन् । उनले आक्रोसित हुँदै भनिन्,मेरो नानी बोर्डिग स्कुल हुँदा एबीसिडी फरर लेख्थि । आर्थिक भार धान्न नसकेर यहाँ पढाउन थालेको, बोर्डिगमा जानेको सबै यहाँ आएपछि लेख्न बिर्षी हैन तपाईहरु कस्तो शिक्षा दिनुहुन्छ ?
    उनले भनिन्, बोर्डिगमा चाँहि राम्रो पढाउने यहाँ चाँही किन पढाइएको स्तर खच्कीएको । आखिर राम्रो गर्न खोज्दा असम्भव छ र ? उनले प्रश्न गर्दा शिक्षकहरु जवाफ बिहीन भएका थिए । यी विद्यालयहरु उदाहरण मात्र हुन्,यो समस्या प्रायःजसो सबै विद्यालयमा छन् ।
    निजी विद्यालयमा सामुदायिक विद्यालयका तुलनामा प्राय कम्ति तलब खाने शिक्षक हुन्छन् । तर पनि उनीहरुले नै पठाएको विद्यार्थी अब्बल हुन्छन् । सामुदायिक विद्यालय तलब खाने ठाउँ मात्र भएको पत्रकार हरि कोईराला बताउछन् । भन्छन्, विद्यालय मन लगाएर नपढाए पनि तलब पाकि हाल्छ । फाट्ट फुट्ट विद्यालय आए पनि भयो । त्यसमा पनि सार्वजनिक विदा नि निकै हुन्छ ।
    यद्यपि, सबै सामुदायिक विद्यालयलाई दोस लगाउन नमिल्ने उनको भनाई । कुनै कुनै सरकारी स्कुलले बोर्डिगलाई पनि उछिनेका छन्, उनले भने , तर राज्यको लगानी भएको विद्यालयको शिक्षा खस्किनु र विद्यार्थी संख्या घट्नुले प्रश्न खडा गरेको छ ।
    सामुदायिक विद्यालयमा पठन पाठन खस्किनु र विद्यार्थी संख्या घट्नुमा कारण यतिमै सिमित छैन् । विद्यार्थीलाई उपद्रो गर्दा होमवर्क नगर्दा अलिकति करायो र लौरो देखायो भने वालअधिकारका कुराहरु उठ्छन् । त्यहि भएर पनि धैरै विद्यार्र्थीहरुले शिक्षकलाई टेर्दैनन् , बरु अलि ठुला विद्यार्थी उल्टै शिक्षकलाई घेर्न खोज्छन् ।
    उर्लाबारी स्रोत केन्द्रका स्रोत व्यक्ति पूर्ण घिमिरे पनि विद्यार्थी संख्या पातलिएको स्विकार गर्छन् । विद्यालयहरु के कसरी चलिरहेको अनुगमनहरु भईरहेको र कतिपय विद्यालयलाई सचेत समेत गराएको बताउछन् । भन्छन्, उर्लाबारीको राधिका उमाबिमा १५ सय जना विद्यार्थी छन् । अंग्रेजी माध्यमबाट पढाईभईरहेको विद्यालयमा विद्यार्थी संख्या नघटेको उनले बताए । राधिका,सुनपकुवा,वालज्योति लगायतका विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन हुन थालेपछि विद्यार्थी संख्या बढेको छ । विद्यालयको मुख्य आकर्षक भनेको अग्रेजी हो,उनले भने, आउदो शैक्षिकसत्र देखि नगरपालिकासँग सम्बन्य गरेर उलाबारीका २४ बटै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम बनाउछौं । उनले विद्यार्थी संख्या बढाउन अभिभावक प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग छलफल भईरहेको र आफु घनिभुत रुपमा लागिपरेको बताए । विद्यार्थी संख्या बढाउन शैक्षिक अवस्था सुर्धान सबैको साथ सहयोग आवश्यक छ,उनले भने ।
    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पनि आगामि शैक्षिक सत्र देखी सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम पठनपाठनको लागि तयारी भईरहेको र यो अभियानका नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले भने, सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउन हाम्रो सहयोग रहनेछ ।
    सामुदायिक विद्याययमा विद्यालय प्रसाशन पनि कमजोर देखिन्छ । पठनपाठन भएको समयमा विद्यार्थीहरु नजिकैको पसलमा क्यारामबोर्ड खेल्ने,चुरोट सेवन गर्दै गरेको पाईन्छ । चुल्ठे मुन्द्रेहरु विद्यार्थी पाईन्छ । यसमा कडिकडाई गर्न प्रसासन चुकेको छ । सामुदायिक विद्यालयले राज्यबाट सेवा सुविधाहरु पनि पाएको छ । तर पछिल्लो समय सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । विद्यार्थी कम भएकै कारण विद्यालयहरु मर्जको स्थितीमा पुगेको छ । थोरै विद्यालयले निजी विद्यालयलाई उछिनेको छन् । सामुदायिक विद्यालयको स्तरोउन्नती,खस्किदो शिक्षामा सुधार ल्याउनका लागि शिक्षक अभिभावक राज्य र सरोकारवालाहरु बेलैमा सचेत नुहुने हो भने सामुदायिक विद्यालय कुनै वेला रित्तै हुने दिन नआउला भन्न सकिन्न ।

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…