• उर्लाबारी,७ फागुन । प्रारम्भिक वातावरणीय मूल्यांकन नगरेको क्षेत्रबाट उर्लाबारीमा प्रशासनसँगको मिलोमतोमा खुलेआम बालुवा निकासी हुने गरेको पाइएको छ । उर्लाबारीको वडा नम्बर–३ र पथरीशनिश्चरे–२ नगरपालिकाको सिमाना हुँदै बग्ने सुनझोडा खोलाबाट अवैधानिक तवरबाट दैनिक डेढ सय ट्रयाक्टरसम्म बलुवा निकासी हुने गरेको छ ।

    उर्लाबारी–३ चन्दने र ईँटाभट्टा नजिक भएर बग्ने सुनझोडा खोलाको सो क्षेत्रमा इआइए नगरी ठेकेदार र प्रहरी प्रशासनको मिलोमतोमा बलुवा निकासी हुने गरेको पाइएको छ । उर्लाबारी–२ सुनझोडामा मात्र यो खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने जिल्ला समन्वय समिति मोरङले जनाएको छ ।

    समन्वय समितिले उपलब्ध गराएको विवरणमा यो क्षेत्र पर्दैन । सुनझोडामा क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन्मा स्थानियले अवरोध पुर्याएपछि ठेकेदार प्रहरीबीच ‘सेटिङ’गरेर चन्दने क्षेत्रबाट खुलेआम बलुवा निकासी भइरहेको छ । बलुवा निकासी भइरहको उक्त क्षेत्रको दूरी अस्थायी प्रहरी चौकी मंगलबारेको करिब डेढ सय मिटरको दूरीमा पर्छ ।

    सुनझोडा खोलाको उक्त क्षेत्रबाट अवैधानिक तवरबाट बलुवा उत्खनन् हुँदा उर्लाबारी–३को चन्दने र पथरीशनिश्चरे–२को बाँसघरे टोल जोखिममा परेको छ । खोला क्षेत्रमा ५ फिटभन्दा बढी गहिरो गरेर उत्खनन् हुन थालेपछि ती गाँउ जोखिममा परेका हुन् । अवैधानिक तवरबाट उत्खनन् भएपछि नदी कटान बढेको स्थानीयवासीले जनाएका छन् । खोलाको नदी कटान पथरीशनिश्चरेको बाँसघरे टोलमा बढी छ ।

    चन्दने क्षेत्रको खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्ने अधिकार कसैलाई नभएको उर्लाबारी नगरपालिकाले जनाएको छ । नगरपालिका मेयर खड्ग फागोका अनुसार त्यस क्षेत्रमा प्रारम्भिक वातवरणीय मूल्यांकन नभएको र जिल्ला समन्वय समितिले दिएको क्षेत्रमा नपर्ने बताए । त्यसो भएको पाइएमा तत्कालन उत्खनन् रोक्न आदेश दिने उनको भनाइ छ ।
    ठेकेदारको दादागरी

    मोरङ जिल्लामा यो वर्ष नदीजन्य पदार्थ उत्खनन्को ठेक्का मोरङको कटहरीस्थित भूमि कन्स्ट्रक्शनले पाएको छ । उसले जिल्लाभरको नदीजन्य पदार्थको ठेक्का १८ करोड २१ लाखमा लिएको छ । ठेक्काको रकमबापतको रकम उठाउनका लागि प्रशासनसँग मिलोमतोमा ठेकेदार कम्पनीले जथाभावी रुपमा उत्खनन् गर्न लगाउने गरेको छ ।

    ठेकेदारले प्रतिक्यूबिक फिट बलुवाबाट एक रुपैँया ७५ पैसाको दरले पैसा लिन पाउने व्यवस्था छ । तर,ठेकेदारले एउटा ट्रायाक्टरबाट चार रुपैँयासम्म बढी लिने गरेको व्यवसायीहरुले जनाएका छन् ।

    चन्दने क्षेत्रमा अवैधानिक तवरबाट दैनिक डेढसयवटा ट्रायाक्टरले बलुवा लैजाने गरेका छन् । एक जना ट्रयाक्टर चालकले भने–‘उपभोक्ताको रोजाई अनुसार अवैधानिक तवरबाट बलुवा लैजानुपर्ने बाध्यता त छदैछ,त्यसमा पनि ठेकेदारले बढी पैसा असुल गर्छ । बालुवा लैजादा रसिद नकाटे ठेकेदारले पुलिसलाई फोन गरिदिन्छ । ’

    उर्लाबारी र मिक्लाजुङबाट दैनिक तीन हजार ट्रिप ट्रयाक्टरले बलुवा ओसारपोसार गर्छन् । एउटा ट्रायक्टरबाट चार रुपैँया बढी लिदा ठेकेदारले ‘दादागिरी’कै माध्यमबाट १० हजार असुल्ने गरेको ट्रायाक्टर व्यवसायीहरुको आरोप छ । ठेकेदार पक्षले भने एक ट्रिप ट्रयाक्टरबाट तीन सय ६६ रुपैयाँ ६६ पैसा लिनुपर्ने भएपनि खुद्रा पैसा नहुने भएकाले तीन सय ७० लिने गरेको दावी गरेको छ । अवैधानिक तवरबाट उठेको रकमको केही हिस्सा उर्लाबारी प्रहरीलाई बुझाउने गरेको स्रोतको दाबी छ ।

    नदीजन्य पदार्थ उत्खनन् गर्दा खोलाको पुलदेखि ५ सय मिटरभन्दा परबाट गर्नुपर्ने व्यवस्था भएपनि सोको कार्यान्वयन भएको पाइदैन । उर्लाबारीको बक्राहा र सुनझोडा खोलामा खुलेआम उत्खनन् भइरहदा पनि नियमक निकाय मौन बसेको छ ।

    नदीमा ‘सेटिङ’ गर्नेको रजाइँः

    गत साउनमा उर्लाबारीमा आएको भारी वर्षाका कारण यहाँको जनजीवन बढी प्रभावित बन्न पुग्यो । मावा खोलामा अत्यधिक उत्खनन् हुँदा नदी कटान बढी भएपछि वडा नम्बर ६ जोखिम पुगेको भन्दै स्थानीयवासीले पत्रकार सम्मेलन गरेर उत्खनन् रोक्न आग्रह गरे पनि प्रशासन मौन बसिदियो ।

    माघ अन्तिम साता अवैधानिक तवरबाट नदीजन्य पदार्थ उत्खनन् भएको र सोको नियन्त्रणका लागि उर्लाबारी नगरपालिकाका कार्यालयले इलाका प्रहरी कार्यालय उर्लाबारीसँग सहयोग मागेको थियो । प्रहरी कार्यालयबाट उत्खनन् रोक्नका लागि कुनै कदम नभएपछि उृर्लाबारी नगरपालिकाले नगर प्रहरीको सहायताम केही ट्रायाक्टर बक्राहा खोलाबाट नियन्त्रणमा लिएको थियो । उक्त घटनाले उर्लाबारीमा चर्चा पाएको थियो । नगरपालिकाको विश्वस्त स्रोतका अनुसार प्रहरीको मिलोमतोमा अवैधानिक तवरबाट उत्खनन भइरहेको छ ।

    प्रहरीसँगको सेटिङ थाहा पाएपछि यतिबेला उर्लाबारी नगरपालिकाले मावा खोला,बक्राहा खोला क्षेत्रमा नगर प्रहरी परिचालन गर्न थालेको छ । यस्तै,सशस्त्र प्रहरी उर्लाबारीले त्यस क्षेत्रमा गस्ती बढाएको छ । प्रहरी नदीजन्य पदार्थ नियन्त्रणमा मौन बस्नाले धेरै शंकाहरु उत्पन्न भएको स्थानीयले बताए ।

    एक व्यवसायीका अनुसार उर्लाबारीमा प्रहरीसँगको मिलोमतोमा उत्खनन् गर्नेैलाई प्रहरीले पक्राउ नगर्ने,सशस्त्र प्रहरीसँग मिलोमतो गर्नेलाई सशस्त्र पक्राउ नगर्ने र वनसँगको मिलोमतोमा उत्खनन् गर्नेलाई वनले पक्राउ नगर्ने जस्ता कार्यहरु हुन थालेपछि यहाँका व्यवसायी प्रशासनबाट आजित बनेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…