•  

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रविन बाँस्तोलाको शंकास्पद मृत्युका विषयमा अनुसन्धानमा कमजोरी पाइए दोषीलाई कारबाही गर्ने प्रहरीले जनाएको छ । घटनाबारे छानविन गर्न गठित समितिका संयोजक प्रहरी नायव उपरिक्षक (डीएसपी) मानबहादुर राईले विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धानमा दोषी पाइए प्रहरी कर्मचारीलाई पनि कारबाही गरिने बताएका हुन् ।

    अनुसन्धानमा घटनाका तथ्यमा तात्विक फरक पर्नेगरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यावसायिक अनुसन्धान कार्य गरेको पाइए सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्चार्ज प्रहरी निरीक्षक उद्धव पोखरेलले हेलचेक्र्याईँ तथा शंकास्पद गतिविधि गरेको मृतकका आफन्तले आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालयले डिएसपी राईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे मृतकका परिवारले उठाएका गुनासा सामाजिक सञ्जालमा आएकोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा छानबिन समितिका संयोजक मानबहादुर राईका अनुसार ‘घटनाका सम्बन्धमा मृतकका बुबा प्रेमप्रसाद बाँस्तोलाबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा राजेश रणपहेली समेत प्रतिवादी कायम गरी पुस २२ गते जाहेरी दर्ता भएको थियो ।
    शव परीक्षण प्रतिवेदन तथा फोरेन्सिक प्रतिवेदन उपलब्ध नभएपछि पक्राउ परेका प्रतिवादीहरुलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधि पूरा भएपछि सरकारी वकिल कार्यालको निर्देशनमा माघ २ गते जमानिमा उपस्थित हुने गरी छोडिएको हो ।’

    परिवारको दाबी
    प्रविन गत पुस ५ गते कसैले फोन गरेर बोलाएकाले बजारतिर जान्छु भनेर निस्किएको उनका बुबा प्रेम बास्तोलाले बताए । तर फोन कसले गरेको थियो भन्नेबारेमा कसैलाई पनि थाहा हुन सकेको छैन ।

    उनी घरबाट निस्किएको १२ घणटापछि प्रविनको मृत्यु भएको खबर आएको र आफूहरूलाई जानकारी नै नदिई शवलाई अस्पताल लगिएकाले थप शंका जन्मिएको परिवारको भनाइ छ ।

    प्रविनको मृत्यु नभई हत्या भएको परिवारले दाबी गर्दै आएको छ ।

    घटनापछि प्रविनको परिवारले किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गर्न चासो चासो नदेखाएको आरोप लगाएको छ । घटनाको बारेमा जानकारी माग्दा मृतकका आफन्न्तलाई प्रहरी निरीक्षक उद्धब पोखरेलले आफूहरुलाई गाली गरेर पठाउने गरेको आरोप मृतकका परिवारको छ ।

    शंकास्पद मृत्युको बारेमा प्रहरीले अनुसन्धान नगरेको तथा पक्राउ परेका व्यक्तिलाई पनि छाडिएको भन्दै केही दिनयता स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गर्दै आएका छन् ।

    प्रहरीले दोषीलाई उन्मुक्ति दिन अनुहार नै नचिनिने व्यक्तिको तस्बिर मुचुल्काको मिसिलमा संलग्न गरेको मृतको परिवारले बताएको छ । दोषीसँग प्रहरीको मिलेमतो रहेको र उनीहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप परिवारको छ ।

    मृत्युपछि पोस्टमार्टम रिपोर्ट दिन प्रहरीले १२ दिन झुलाएको, पोस्टमार्टम रिपोर्टमा धेरै जाँडरक्सी खाएकाले मृत्यु भएको भनिनुलाई झुलाउने प्रयास भएको आफन्तले जिकीर गरेका छन् । मदिराले मृत्यु भएको भनिएको रिपोर्टमा आफन्तलाई चित्त नबुझेपछि भिसेरा टेस्ट गराउँदा ‘नो अल्कोहल, नो पोइजन’ रिपोर्ट आएको उनका आफन्ताले बताए ।

    दुवै रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको र दुवै रिपोर्ट फेरि अस्पतालमा पठाउँदा फेरि निस्सासिएर मरेको अर्को रिपोर्ट आएको आफन्तको भनाइ छ ।

    मृतकका छिमेकी विष्णुप्रसाद भण्डारीले प्रहरीले नक्कली काम गरेको आरोप लगाए । सोमबार भएको वार्तामा संलग्न भण्डारीले प्रहरीबाट चितबुझ्दो जवाफ नआएको बताए । प्रहरीले फाइल नै परिवर्तन गरेको तथा हिजोको अर्काको नक्कली फोटो अहिले नभएको समेत उनको आरोप छ ।

    प्रहरीले घटनाको मिसिल देखाउँदा अर्कै व्यक्तिको फोटो राखेको देखिएपछि दोषीलाई उन्मुक्ति दिन खोजिएको शंका बढेकाले आन्दोलन गर्नुपरेको उनले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…