•  लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो । 

    बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाउनुभएको छ । उहाँले एक दशकअघि बर्सेनि रु छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दैआउनुभएको थियो । तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ । यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उहाँको भनाइ छ । घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताउनुभयो । 

    जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु दुई करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए । छ÷सात वर्षयता रु १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताउनुभयो । विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् । 

    कृषि ज्ञान केन्द्रका  सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

    त्यस्तै, आव २०७८÷७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७÷७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

         सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ ।  

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 गलेश्वर (म्याग्दी), २० पुस : म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भए…