• दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । 

        गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य वर्ष रु ६०÷७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।”

        सुन्तला खेतीका लागि वार्षिक रु १५ लाख खर्च हुने गरेको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष खर्च पहिलाभन्दा थोरै बढ्छ । यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ ।” फलेका सुन्तला सबै टिपिसकेपछि सुन्तला बोटको गोडमेल गरिने अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सुन्तला टिपिसकेपछि सुन्तलाको बोटमा गोडमेल गर्ने, मल हाल्ने, पिना हाल्ने काम हुन्छ ।”

        सुन्तला बिक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाउनुभयो । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उहाँको भनाइ छ । सुन्तला बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउनुहुन्छ । बजारको कुनै समस्या छैन । विक्री हुँदैन की भन्ने चिन्ता छैन ।”

        सुन्तला खरिद गर्ने ठेकेदार तुलबहादुर थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताउनुभयो । “म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।”

        देवघाट गाउँपालिका–३ का भीमबहादुर थापाले यो वर्ष रु ५५ लाखको सुन्तला बिक्री गर्नुभएको छ । विगतमा अधियाँ गरेर खानपर्ने बाध्यता रहेको उहाँको परिवारलाई अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ । उहाँले भन्नुभयो, “विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङग्रिङमा एउटै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।” 

        यी त केही उदाहरणमात्र हुन् । तनहुँमा यो वर्ष किसानले सुन्तला बिक्री गरेर रु ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो । यो वर्ष तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

        प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भन्नुभयो, “किसानलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छाँै ।” उहाँका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । 

        तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । 

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…

 गलेश्वर (म्याग्दी), २० पुस : म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भए…