•  सल्लेरी (सोलुखुम्बु),९ माघ :  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।” 

    सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्याङ्क छ ।
     
    विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ । यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ । यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ । गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ । याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…