• काठमाडौं । भुमरीसहितको हुरीले फुसको घर तहसनहस पारेपछि मीनादेवी बिनको आठजनाको परिवार विगत चार दिनदेखि प्लास्टिकको बोराको पालमा रात बिताइरहेको छ। बुधबार दिउँसो टन्टलापुर घाम लागेका बेला पालमुनि भेटिएकी मीनादेवीले भनिन्, ‘ मेरो हातमा एउटा त्रिपाल पनि परेको छैन। घरभित्र पुरिएको यही थोत्रो बोरा टाँगेर बालबच्चा राखेकी छु।’

    हुरीले सबैभन्दा बढी भौतिक क्षति पुर्‍याएको भरवलिया गाउँमा मंगलबारदेखि नै दाताहरूले त्रिपाल, झुल, म्याटलगायत राहत सामग्री बाँडिरहेका छन्। तर मीनदेवी र उनको परिवारमा बुधबार अपराह्नसम्म एउटा त्रिपाल पनि पुग्न सकेको छैन।

    गाउँमा आउनेले सडक छेउछाउका पीडितलाई मात्रै राहत बाँडिरहेका कारण भित्री टोलका पीडितको हातमा राहत पुग्न नसकेको हो। हुरीले सडक छेउछाउका भन्दा भित्री टोलका घरमा बढी क्षति पुर्‍याएको छ। भित्री टोलमा पुग्ने बाटो साँघुरो भएका कारण राहत बोकेर आउने गाडी चोकमै रोकिने गरेकाले मीनादेवी जस्ता थुप्रै पीडित राहतबाट वञ्चित छन्। ‘राहत बोकेको गाडी गाउँमा छिर्न नपाउँदै बाटो आसपासका बासिन्दा तँछाडमछाड गरेर पुगिहाल्छन्’, मीनादेवीले भनिन्, ‘हामी गाडीसम्म पुग्न नपाउँदै भीडले गाडी रित्याइसकेको हुन्छ।’

    मीनादेवीकै छिमेकी ललितादेवी बैठाको परिवार तीन दिनदेखि तन्ना टाँगेर बनाइएको पालमुनि रात गुजार्न बाध्य छ। ‘चोकमा राहतको गाडी आउनेबित्तिकै गाउँलेको हारालुछ हुन्छ। त्यो भीडमा गएर धकेलाधकेल गर्न मनै लाग्दैन’, ललितादेवीले भनिन्, ‘राहत बाँड्न आउनेहरूको आँखा हाम्रो टोलमा पर्न सकेको छैन।’

    उनीहरू खाना भने चोकमा विभिन्न संस्थाले चलाएको मेसमा खान्छन्। उनले भनिन्, ‘खाना मेसमा गएर खान्छौं। सुत्न–बस्न भने यहीं तन्नाको पाल सहारा बनेको छ।’ जिल्ला प्रशासन कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ भरवलियामा मात्रै हुरीले एक सय ३० घरमा पूर्ण रुपमा क्षति भएका छन्। ६० घरमा आंशिक क्षति पुगेको छ। स्थानीय बासिन्दाले भने भरवलिया गाउँमा तीन सयभन्दा बढी घर तहसनहस भएको बताए।

    भरवलिया गाउँमा घरबारविहीन भएकाका लागि राहत बाँड्नेको भीड बुधबार बिहानैदेखि लागेको थियो। चिउरा, भुजा, चाउचाउ, बिस्कुट, फ्रुटीलगायतका खाद्यान्न गाडीमा बोकेर देशका विभिन्न जिल्लाबाट दाता आउने क्रम जारी छ। यस्तै घरबारविहीन भएकालाई दाताले त्रिपाल, म्याट, झुल, जस्तापाता बाँडिरहेका छन्।

    यसरी वितरित खाद्यान्न र अस्थायी पुनर्वासका राहत सामग्री गाउँका चोक र सडक छेउछाउमै केन्द्रित भएको छ। स्थानीय श्रीलाल मुखिया बिनले आफ्नो परिवारले राहतका नाममा चिउरा र बिस्कुट मात्रै पाएको बताए। उनले भने, ‘मैले त्रिपाल, झुल केही पनि पाएको छैन। बोल्न सक्नेका तीनतीनजनाले त्रिपाल र झुल ल्याएका छन्।’

    पुरेनिया गाउँमा भने पीडितका लागि नेपाली सेनाले टेन्टको अस्थायी घर बनाइदिएको छ। भरवलियामा भने नेपाली सेना पुगेको छैन। राहत वितरणमा एकद्वार प्रणाली नअपनाइएका कारण सबै पीडितले समान रूपमा राहत पाउन नसकेका हुन्।

    फेटा गाउँपालिका– १ का वडाध्यक्ष जयप्रकाश दासले राहत वितरण व्यवस्थित हुन नसकेको बताए। एकद्वार प्रणाली अपनाएर राहत वितरण व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो उनको छ।

    बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण अव्यवस्थित भएको स्वीकारे। दातालाई जिल्ला विपत् व्यवस्थापन समितिमार्फत राहत वितरण गर्न आग्रह गरेको उनले जानकारी दिए।

    प्रदेश सभामा शोक प्रस्ताव

    प्रदेश सभा बैठकले बारा र पर्सामा आएको भुमरीसहितको हुरीबतासमा परी ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावमा मृतकलाई श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ। बैठकले घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।

    एकद्वार प्रणालीबाट राहत संकलन माग

    प्रदेशसभाको बुधबारको बैठकमा सांसदहरूले एकद्वार प्रणालीबाट राहत संकलन गरी समानुपातिक रुपमा वितरण गर्न माग गरेका छन्। नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने, ‘विपत्का बेला विभिन्न संघसंस्था र निकायबाट प्राप्त राहत एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ।’

    घाइतेको उपचारका लागि संघीय सरकार र प्रदेश सरकार दुवैले निःशुल्क हुने घोषणा गरे पनि हालको अवस्थामा कसले जिम्मेवारी लिने प्रस्ट हुन नसक्दा उपचारमा समस्या आइरहेको उनको भनाइ थियो। उनले भने, ‘उपचारका विषयमा संघ र प्रदेश सरकारबाट प्रस्ट निर्देशन आउनु जरुरी छ।’ संघीय समाजवादी फोरमका बच्चा यादवले सही तथ्यांक संकलन गरी समानुपातिक रुपमा राहत वितरण गर्न माग गरे।

    राष्ट्रिय शोक घोषणा माग

    राष्ट्रिय जनता पार्टी नेपालका सांसद बाबुलाल साहले विनाशकारी हुरीले ज्यान गुमाएकाप्रति संवेदनाका लागि संघीय सरकारसँग राष्ट्रिय शोक घोषणा गर्न माग गरेका छन्। उनले भने, ‘यस प्राकृतिक विपत्ले प्रदेश मात्र नभई देश रोइरहेको छ। संघीय सरकारले एक दिन राष्ट्रिय शोक घोषणा गर्नुपर्छ।’ विभिन्न दलका शीर्ष नेताहरूले सहयोग घोषणा गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कुनै सहयोग घोषणा नभएको भन्दै उनले आश्चर्य प्रकट गरे। उनले भने, ‘प्रधानमन्त्रीको मौनता बुझ्न नसकिने खालको भयो।’

    राहतमा त्रुटि हुँदैन : कानुनमन्त्री

    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हुरीबतासमा परी बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु भएको बताए। घाइतेको संख्या हजारभन्दा बढी रहेको उनको भनाइ थियो। बारामा ९१८ घर पूर्ण क्षतिग्रस्त भएको छ। यस्तै ९२२ घरमा आंशिक क्षति पुगेको छ।

    पर्सामा १२२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र ३८७ घरमा आशिंक क्षति पुगेको छ। उनले संघीय सरकार, स्थानीय सरकार र सहयोगी संघसंस्थालाई सहयोगका लागि धन्यवाद दिँदै सहयोग जारी राख्न आग्रह गरे। ‘प्रदेश सरकारले राहत वितरणमा कुनै प्रकारको त्रुटि हुन दिँदैन,’ मन्त्री यादवले भने, ‘राहतको प्रभावकारी वितरणकै लागि हामीले हेल्प डेस्क सञ्चालन गर्न लागेका छौं।’

    मुख्यमन्त्री राहत कोषमा सहयोग रकम बढ्दै

    मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ। सोमबार सहयोगको अपिलसँगै सार्वजनिक गरिएको राहत कोष खातामा एक लाख १० हजार ९७२ रुपैयाँ संकलन भएको थिया। मंगलबार चार लाख पाँच हजार ७५९ रुपैयाँ संकलन भएको छ। बुधबार संकलित रकमको विवरण आउन सकेको छैन।

    प्रदेश २ का सांसदले आफ्नो सात दिनको तलब राहत कोषमा सहयोग गर्ने भएका छन्। रौतहटका सांसद शेष अब्दुल कलाम अजाद र सर्लाहीका सांसद अशोक यादवले भने एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधी आयोजक—२ नं. वडा पा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…