• नेपालको राजनीतीक आन्दोलन गन्तब्यको मध्य बिन्दुमा पुगेको वेला इतिहासकै सबै भन्दा चुनौतीपूर्ण र रक्षात्मक अबस्थामा पुगेको छ। वंश परम्परा भित्र रहेर एकल जातीय वर्चस्व कायम रहेको सामन्तवादी राज्यसत्ता भत्किएको तर समुल नस्ट भइनसकेको र त्यसको ठाउँमा संघीय लोकतान्त्रिक गणतान्त्र नेपालको आधार खडा गरिएको तर संस्थागत भइनसकेको अबस्थामा रहेको बेला त्यही आधार माथि नै प्रहार शुरु भएको छ। 

    नेपालको सन्दर्भमा परिवर्तनकारी शक्तिहरुको आपसी फुट, अस्वस्थ प्रतिस्पर्धा, संकिर्णता र अस्वस्थ प्रतिस्पर्धा सहितको अस्थिर गतिविधि र बिचलन नै परिवर्तनकारी आन्दोलनको सबै भन्दा ठुलो चुनौती बन्न गएको छ। नेपाली समाजको धरातलीय अन्तरविरोधहरुको पहिचान र समाधानको लागि राजनीतिक आन्दोलनले खेलेको भुमिकाहरुमा जागरण, सहभागिता, सकृयता र अपनत्वको हिसाबले दश बर्षे जनयुद्ध र ०६२\०६३ सालको जनआन्दोलनले खेलेको भूमिका अहिले सम्मकै उत्कृष्ट रहयो । प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्ध र जनयुद्धको जगमा उठेको जनआन्दोलनले ल्याएको परिवर्तन संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीकरण महत्वपूर्ण र आधारभूत उपलब्धि हुन्। 

    सदियौं देखि उत्पिडनमा रहेको वर्ग दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम,धार्मिक अल्पसंख्यक सबैलाई आफु माथि भएको उत्पिडन बाट मुक्तिको सपना जनयुद्धले देखाएको थियो। त्यसैको प्रभाव र जागरणको प्रतिविम्ब हो पहिलो संबिधान सभामा देखिएको उत्पिडित समुदायको उपस्थिति।  पहिलो संबिधान सभा बिघटनको कारण संविधान निर्माण गर्न नसक्नु मात्र थिएन।  यो त तमाम उत्पिडित समुदायको अधिकार र उनिहरुको मुक्तिको सपना माथिको दमन थियो। ठिक यही बिन्दुमा नेतृत्वले उत्पिडित समुदायको पक्षमा सशक्त संघर्ष गर्न नसक्नु र आफुहरु माथिको षड्यन्त्र बाट बिक्षिप्त बनेको उत्पिडित समुदाय संगको राजनीतिक सहकार्य, प्रतिबद्धता र तत्परता मुल नेतृत्वले देखाउन नसकेको कारण परिवर्तनको आन्दोलनको नेतृत्व संग आम उत्पिडित वर्ग ससंकित बन्न पुग्यो। 

    यहि बिन्दुमा माओवादी आन्दोलनको नेतृत्व मुलत प्रचण्ड आन्दोलनको उपलब्धिहरुलाई संस्थागत गर्न र नेपाली राजनीतिक आन्दोलन कै नेतृत्व गर्ने महत्वकांक्षाले मुलभूत राजनीतिक उपलब्धिहरुको रक्षाको लागि आधारभूत बर्गको एजेन्डाहरूलाई अधुरै छोडेर सम्झौताको राजनीतिमा अघि बढे । जसको कारण प्रचण्ड नेतृत्वको माओवादी आन्दोलन र आम उत्पिडित वर्ग बिचको दुरि बढ्यो । ठिक यही अबस्थामा दक्षिणपन्थी प्रतिकृयावादीहरुले चलखेल गर्न सफल भयो । माओवादी आन्दोलनको अपराधिकरण, नेतृत्वको बदनामी र बिभाजनको रणनीतिमा यथास्थितिवादी शक्तिहरु सफल भए । षड्यन्त्रलाई बुझ्न नसकेर दक्षिणपन्थी प्रतिकृयावादीहरुको भड्कावमा उत्पिडित समुदाय भित्रको संका र कुण्ठाले भरिएको नेतृत्व वर्गले छुट्टाछुट्टै आन्दोलनको नेतृत्व गर्नु सुरु गरे संगै केन्द्रिकृत रुपमा अगाडि बढेको माओवादी आन्दोलन छिन्नभिन्न भयो । यहाँ सम्म आइपुग्दा नेतृत्वले न त माओवादी आन्दोलनलाई बचाउन सक्यो न त माओवादी आन्दोलन बाट बाहिर गएर संघर्ष गर्नेहरुले आफ्नो एजेन्डाहरू सफल बनाउन सके । परिस्थिति यति भयानक भयो कि माओवादी आन्दोलन बाट बाहिरीएकाहरु आफ्नो सबै राजनीतिक कार्यक्रमहरु असफल भए पछी प्रचण्डको अवसानमा आफ्नो भविष्य देखिरहेको छन्  र एक मात्र एजेन्डा प्रचण्डको बदनाम गराउने अभियान संचालन गरिरहेको छन्। भने प्रचण्डलाई भएको उपलब्धि जोगाउनकै लागि  कठिन भैरहेको छ। 

    नेकपा माओवादी केन्द्रको मुल प्रबृत्ति प्रगतीशिल चरित्रको छ । अबसरबादी दलालहरुको घेराबन्दी भित्र रहेको प्रगतिशिल नेतृत्वले घेराबन्दी बाट मुक्त हुन जरुरी छ । एमाले र कांग्रेसले मुलत यथास्थितिको प्रतिनिधित्व गर्छन्। यि पार्टीहरुमा प्रतिगामी चरित्रको नेतृत्व हावि भएको छन् भने परिवर्तनकारीहरू रक्षात्मक अवस्थामा पुगेको छन्  । 

    संसद बाहिर रहेको शक्तिहरूमा संयुक्त रणनीतिक मोर्चा बैचारिक हिसाबले क्रान्तिकारी देखिएको छ। उसले भन्ने गरेको राजनीतिक कार्यक्रम यथार्थमा नेपाली समाजलाई उत्पिडन र अभाव बाट मुक्त गराएर समृद्धिको यात्रामा अघि बढाउने किसिमको देखिन्छ। तर उक्त मोर्चाको कतिपय गतिबिधिहरुले  भने सत्ता प्राप्तिको बाहना मात्र हो कि भन्ने आशंकाहरु जन्माएको छ।  

    खास गरेर विप्लव नेतृत्वको नेकपाको राजनीतिक कार्यक्रम र पछिल्लो समयमा सरकार संग गरेको सहमति र सहमतिमा उल्लेख गरिएको बिषयहरु हेर्दा प्रचण्ड संगको ब्यक्तिगत इगो कै लागि केन्द्रित भएको देखिन्छ।  इमान्दार कम्युनिष्ट नेताको छबि बनाएको मोहन बैद्यले पनि प्रचण्डलाई दोस देखाउने भन्दा बाहेक जनमतलाई प्रभाव पार्ने र रुपान्तरणको पक्षमा संघर्ष अगाडि बढाउन नसकेको अबस्था छ । आहुतिले नेतृत्व गरेको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले नयाँ उचाइमा कम्युनिष्ट आन्दोलनलाई उठाउन र उत्पिडित वर्गको राज्यसत्ता निर्माण गर्ने कार्ययोजनाको बहसको शुरुवात गरेको अबस्थामा मोर्चामा आबद्ध बिप्लव नेतृत्वको नेकपाको राजनीतिक अलमल संगै आहुतिले शुरु गरेको बहस अन्योलमा परेको देखिन्छ। 

    नेपालको कम्युनिष्ट आन्दोलनले संसदीय ब्यबस्थालालाई पुजीवादी ब्यबस्था भित्रको सकारात्मक कार्यक्रमहरु लागु गर्ने र समाजवादी ब्यबस्थाको आधारमा तयार गर्ने र शक्ति संचय गर्ने रणनीति सहित उपयोग गर्नु पर्ने अहिलेको अबस्था हो ।
    सामाजिक राजनीतिक आर्थिक र  बैचारिक रुपमा समेत आधार तयार भइनसकेको नेपाली परिवेशमा सबै किसिमको क्षमता भएको नेतृत्व एउटै ब्यक्तिमा खोज्ने हाम्रो प्रयास र चेतना नै त्रुटिपूर्ण र असम्भव छ।  एउटै ब्यक्तिमा सबै किसिमको क्षमता कल्पनामा मात्र सम्भव छ यथार्थमा होइन। 

    दूरदृष्टि र विकासको दृष्टिकोणको सन्दर्भमा  बाबुराम भट्टराई र आधारभूत उत्पिडित वर्गको मुक्तिको राजनीतिक कार्यदिशाको सन्दर्भमा आहुतिको बिचार अहिले सम्म अब्बल देखिएको छ  ।आफनो बिचारलाई अपिल गर्न र संगठन विस्तार तथा परिचालन गर्ने र देश र जनताको पक्षमा परिस्थिती अनुसारको जोखिम उठाउन सक्ने नेतृत्व क्षमता प्रचण्डको अब्बल देखिएको छ। मोहन वैद्य किरणको मार्क्सबादी दर्शनमा आधारित सास्कृतिक चेतना र अनुसाशन र विपलवको जस्तो जुझारु  स्वभाव यो सबै माओवादी आन्दोलनले परिक्षण र बिकाश गरेको स्थापित  नेतृत्व हुन्। 

    अन्य राजनीतिक पार्टी भित्र रहेको प्रगतिशिल नेतृत्व संग सहकार्य गर्दै आधारभूत उत्पिडित वर्गको मुक्ति खाका प्रस्तुत गर्दै सोहि अनुसारको बिचार , नेतृत्व र सङ्गठनको निर्माण गर्न सक्नु पर्दछ। माओवादी आन्दोलन पछिल्लो समय संभ्रान्त र मध्यम वर्गले स्विकार गरेन आधारभूत उत्पिडित वर्गले बिस्वास गर्न सकेन किन? यस प्रश्नको जवाफ सहित अबको आन्दोलन के का लागी कुन वर्गको लागि?  नेतृत्वले प्रष्ट गर्नु आवश्यक छ। 

    नेतृत्व बिचको महत्वकांक्षा, कुण्ठा, स्वार्थ र विचलनको कारण जब माओवादी आन्दोलनमा बिभाजनको शृङखला शुरु भयो नेतृत्व मात्र होइन माओवादी आन्दोलनले प्राप्त गरेको उपलब्धिहरु नै रक्षात्मक अवस्थामा पुगेको छ।  यो यथार्थलाई आत्मसात गर्दै सबैको बिचार र योजनाको सम्मान गर्दै बृहत राजनीतिक बहस सृजना गरेर एकतावद्ध भएर नयाँ राजनीतिक आन्दोलनको नेतृत्व गर्नु पर्ने ऐतिहासिक दायित्व नेतृत्व सामु सृजना भएको छ। यो ऐतिहासिक दायित्व बाट उम्किने छुट कुनै नेतृत्वलाई छैन। 

     माओवादी आन्दोलन असफल भएको होइन आन्दोलनको नेतृत्वहरुको बिभाजनको कारणले अलमलिएको हो । बिभिन्न कारणले बिभाजनको नेतृत्व गरेको नेताहरुले नै आन्दोलनलाई केन्द्रिकृत गर्न र सामुहिक नेतृत्व द्वारा परिवर्तनको आन्दोलनको नेतृत्व गर्नु तयार हुनै पर्छ।

     

    गोपाल नेपाली 
    मिक्लाजुङ्ग, मोरङ 

     

सम्वन्धित समाचार

आरक्षण अबसर बाट बञ्चीत पारिएको र राज्यले समानरुपमा अबसर र सेवा सुविधा दिन नसकेको   वर्ग र  सम…

प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन …

एजेन्सी। धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु …

सन्तोष कार्की मौसुफ म यो भन्दिन कि प्रेम गर्नु गलत हो , तर यस्तो प्रेम नगर्नु जसले तिम्रो शरिरलाई प्रेम …