• तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहनुभएको छ ।

    आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषिलगायत क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै गाउँपालिकावासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताउनुभयो । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उहाँले जानकारी दिनुभयो ।

    व्यासमा व्यवस्थापन समिति गठन गरिने

    तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा व्यवस्थापन समितिको तीनवर्षे कार्यकाल समाप्त हुन लागेकाले नयाँ समिति गठनका लागि प्रक्रिया अगाडि बढाइएको नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    विसं २०७८ जेठ मसान्तभित्र नयाँ व्यवस्थापन समिति गठन गर्न निर्देशन गरिएको र त्यसको अनुगमन सम्बन्धित वडाध्यक्षले गर्ने रेग्मीले बताउनुभयो । “विद्यालय व्यवस्थापन समिति जेठपछि स्वतः विघटन हुने भएकाले नयाँ समिति गठन गर्न सम्बन्धित वडाध्यक्षलाई परिपत्र भइसकेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले प्रविधिमैत्री शिक्षा अघि बढाउन हरेक वडामा माध्यमिक तथा आधारभूत विद्यालयमध्ये एक÷एक विद्यालय छनोट गर्ने कार्यलाई पनि अगाडि बढाएको छ ।

    उद्योग वाणिज्य सङ्घको अधिवेशन तय

    तनहुँ उद्योग वाणिज्य सङ्घको अधिवेशन आगामी वैशाख ४ गते हुने भएको छ । सङ्घको शनिबार सम्पन्न बैठकले १६औँ अधिवेशनको मिति तय गरेको हो । सङ्घको ३५औँ साधारणसभा भने चैत ३१ गते तोकिएको महासचिव इमकुमार मल्लले जानकारी दिनुभयो । 

    बैठकले विभिन्न बजार एकाइको अधिवेशनको मितिसमेत तय गरेको छ । दमौली बजार एकाइको अधिवेशन चैत २० र २१ गते हुनेछ । बैठकले सातवटा बजार एकाइको अधिवेशन चैत २५ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…