• रूपेन्द्र शेर्मा
    उर्लाबारी÷
    ‘आलुको मुल्य कति हो ?’– ग्राहकले सोधे ।
    ‘कति लाने ?’–व्यापारीले प्रति प्रश्न गरे ।
    ‘पहिले भनन किलोको कसरी ?’– ग्राहकले पुन ः प्रश्न गरे ।
    ‘३० रुपैयाँ किलो’ – व्यापारीले जवाफ दिए ।
    ‘२५ ले दिने ?’ –ग्राहकले मुल्य घटाउन माग गर्दै पुन ः प्रश्न गरे ।
    ‘कति लाने ?’–व्यापारीले पुन ः प्रश्न गरे ।
    ‘दुई किलो लाने’ –ग्राहकले भने ।
    ‘५५ रुपैयाँ दिनुहोस्’ –व्यापारी भने ।
    २०७७ चैत ६ गते शुक्रबार मोरङको उर्लाबारी–६ मा रहेको हाट बजारमा एक आलु व्यापारी र ग्राहकबीच दाम मोलमोलाईको दृश्य हो यो । यो दृश्यबाट उर्लाबारीको व्यापार व्यवसाय कति व्यवस्थित र वैज्ञानिक छ भन्ने प्रष्ट हुन्छ ।
    कुनैपनि वस्तुको निश्चित दररेट तोक्ने प्रचलनले व्यापारी र ग्राहकबीच दाममा मोलमोलाई गरिरहन पर्दैन । त्यसले क्रेता र बिक्रेताबीचको मानसिक तनाव र समयलाई न्युनिकरण गर्न सहयोग मात्र गर्दैन, आधुनिक, सभ्य, वैज्ञानिक र सु–व्यवस्थित व्यापारिक कारोबारलाई प्रतिबिम्वित गर्छ ।

    उर्लाबारी मात्र होइन, देशको अन्य भागमा समेत व्यापारी र ग्राहकबीच दाममा मोलमोलाई हुने गरेका छन् । जसले नेपालको व्यापारिक कारोबार कुन स्तरको छ भन्ने कुरालाई राम्रोसँग दर्शाएको छ । व्यापारिक वृत्तमा निश्चित दररेट कायम गरिएको खण्डमा वर्तमान व्यस्त जनजीवनलाई सहज वनाउन थोरै भएपनि सहयोग पुग्छ ।
    उर्लाबारीकै अन्य केही पसलहरुमा भने अचेल दाममा मोलमोलाई भएको पाइंदैन । डिपार्टमेण्ट स्टोर, केही तयारी पोशाक र किराना पसलहरुमा दाममा मोलमोलाई गर्ने चलन हट्दै गएको छ । यसरी निश्चित दररेटमा व्यापारिक कारोबार हुनुलाई यस क्षेत्रमा सकरात्मक परिवर्तन भएको महसुस गर्न सकिन्छ ।
    त्यसो त उर्लाबारीको व्यापार व्यवसायको इतिहास त्यति लामो छैन । यस क्षेत्रमा कहिलेदेखि पसलहरु सञ्चालन भए भन्ने यकिन तथ्याङ्क नभएपनि २०२४ सालदेखि सुरुवात भएको जनश्रुती पाइन्छ । २०२४ सालमा पूर्व–पश्चिम राजमार्गमा माटो पुराईको काम हुन थालेपछि फाट्टफुट्ट पसलहरु खुल्न थालेको यहाँका पुराना व्यापारी विद्याप्रसाद शर्माको भनाई छ । ‘जव राजमार्गमा सवारीका साधानहरु गुड्न थाल्यो, व्यापारीहरु पनि उर्लाबारी आएर पसल खोल्न थाले’, उनले भने, ‘२०२४ सालभन्दा अगाडि उर्लाबारीमा कुनै पसल थिएन । त्यसबेलादेखि मात्र यहाँ एक÷दुईवटा पसलहरु खुलेका थिए ।

    सुरुवाती कालमा चिया पसल, धान खरिद बिक्रीका लागि कांटा, आलु र कपडा पसल खुलेका थिए । देवनन्दन गोस्वामी, रामदयाल गोस्वामी, जगदेव गोस्वामी, वाँकेलाल साह, रामदेव साह र विद्याप्रसाद शर्मा उर्लाबारीका प्रारम्भिक कालका व्यापारीहरु हुन् । पूर्व–पश्चिम राजमार्गमा माटो पुराईको काम भएर फाट्टफुट्ट यातायातको साधन सञ्चालन हुन थालेपछि उनीहरु मधुमल्लाबाट उर्लाबारी आएका थिए । तत्कालिन मधुमल्ला गाउँ पञ्चायत वडा नं.५ मा उर्लाबारी रहेको थियो । २०२६ सालदेखि भने उर्लाबारीमा शुक्रबारे हाट बजार लाग्न थालेको पुराना व्यापारी शर्मा बताउँछन् । भारतको विहारबाट आएका मानिसहरुले नै उर्लाबारीमा व्यापार व्यवसाय सुरु गरेको जनश्रुती पाइन्छ । २०२९÷३० र ३१ सालमा पहाडबाट आएका मानिसहरुले व्यापार गर्न थालेपछि उर्लाबारीमा व्यापारीहरुको संख्या बढ्दै गयो । ‘तर अहिलेको जस्तो कोठामा राखेर त्यसबेला पसल गर्ने चलन थिएन’, उर्लाबारी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोबद्र्धन शाक्यले भने, ‘हटिया–हटियामा गएर ब्यापार गर्ने चलन थियो । त्यस समयमा रंगेली, मधुमल्ला, आमबारी, दमक, मंगलबारे र लेटाङ हाट–बजार गएर ब्यापार गर्ने चलन रहेको शर्मा बताउँछन् । स्थानीय व्यापारीहरु उर्लाबारी–५ र ६ मा शुक्रबार लाग्ने हटिया बजारमा समेत तरकारी, साग–सब्जी, किरानालगायतका पसलहरु सञ्चालन गर्दैआएका छन् । यद्यपि त्यो हटिया बजार अझैपनि पुरानो पाराको छ । समय समयमा त्यसलाई सञ्चालन गर्न समितिहरु गठन भएपनि बजार व्यवस्थित हुन सकेको छैन । उर्लाबारी–मधुमल्ला सडक छेउछाउमा सञ्चालन गरिने पसलहरुका कारण सडक दुर्घटनाको जोखिम उत्तिकै रहेको छ । यसतर्फ सरोकारवालाहरुको बेलैमा ध्यान जान जरुरी छ ।

    जव २०३६ सालमा उर्लाबारी छुट्टै गाउँ पञ्चायत बनेपछि यहाँको व्यापार व्यवसाय अगाडि बढ्न थाल्यो । क्रमिकरुपमा उर्लाबारीमा घरहरु निर्माण हुँदै गए । घरकै कोठा तथा शर्टरहरुमा किराना, औषधि र कपडा पसलहरु सञ्चालन हुन थाले । तर वनियाहरु पनि घोडामा चढेर गाउँ–गाउँसम्म पुगेर किसानहरुबाट धान खरिद गर्थे र विराटनगरका व्यापारीहरुलाई बेच्थे । योक्रम २०५६ सालसम्म रहेको शर्मा बताउँछन् ।

    २०४५ सालमा उर्लाबारी व्यापार प्रबन्ध समिति गठन भएपछि यहाँको व्यापार व्यवसायले फड्को मार्न थाल्यो । स्थानीय उद्योगी व्यापारीहरु समितिमा आवद्ध हुन थाले । सुरुमा २२० जना व्यापारीहरु समितिमा आबद्ध भएको संस्थापक अध्यक्ष शाक्यले जानकारी दिए । त्यसबेला रु.५० र रु.१०० शुल्क तिरेर समितिको सदस्य बन्न पाइन्थ्यो । प्रारम्भिक कालमा व्यापारीहरुको हकहितमा प्रभावकारी कदम चाल्न नसकेपछि समितिले व्यापारिहरुलाई संगठित गरेको शाक्यको भनाई छ ।

    २०४६ सालमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएपछि अन्य भू–भाग झैं उर्लाबारीमा पनि सहरीकरण हुन थाल्यो । मोरङको दोस्रो ठूलो सहरको रूपमा चर्चा पाएको उर्लाबारीमा सहरीकरण बृद्धि सँगै उद्योगी र व्यापारीहरुको संख्या बढ्न थाल्यो । तर, उर्लाबारी–३ मंगलबारेमा रहेको वगाले थापा ईटा उद्योग र उर्लाबारी–७ मा रहेको पशुपति दालमोठ उद्योग पञ्चायत कालदेखि नै सञ्चालनमा आएको थियो ।

    २०५४ सालमा उर्लाबारी व्यापार प्रबन्ध समितिको भवन निर्माण भयो । तत्कालिन गृह मन्त्री खुमबहादुर खड्काले भवन उद्घाटन गरेपछि समितिमा आबद्ध हुने स्थानीय उद्योगी व्यापारीहरुहरुको संख्या बृद्धी हुँदै गयो ।

    २०६१ सालमा तत्कालिन अध्यक्ष महेन्द्रजंग तामाङको सक्रियतामा जिल्ला प्रशासन कार्यालय मोरङमा उर्लाबारी उद्योग वाणिज्य संघ विधिवतरूपमा दर्ता भयो । उर्लाबारी उद्योग वाणिज्य संघले व्यापारीहरुको हकहितमा निरन्तर कार्य गर्दै आइरहेको छ । आफ्ना सदस्यहरुलाई संघले बिभिन्न किसिमका सेवा–सुविधाहरु समेत प्रदान गर्दै आइरहेको छ । मृत्यु भएका व्यापारीको परिवारलाई २५ हजार रुपैयाँ राहत, व्यापारीहरुको समस्या समधान, आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने प्रबन्ध र कर चुक्ता प्रमाणपत्र वितरण जस्ता सेवा–सुविधा दिइरहेको संघका कर्मचारी चन्द्र कार्कीले जानकारी दिए ।

    यीनै सेवा–सुविधाका कारण संघमा आवद्ध हुने व्यापारी व्यवसायीहरुको संख्यामा बृद्धि भएको छ । हाल एक हजार नौ सय ७८ जना उद्योगी व्यापारीहरु संघमा आबद्ध छन् । ‘तर नविकरण गर्नेको संख्यामा कमी देखिएको छ’, कार्कीले भने । खासगरी संघको निर्वाचनको समयमा नयाँ सदस्यता लिने र नविकरण गर्नेको संख्या बढी हुनेगरेको उनले बताए । ‘निर्वाचनका बेला एक हजार चार सयदेखि एक हजार पाँच सय जनाले नविकरण गर्छन्’, उनले भने ।

    आर्थिक बर्ष २०७५÷०७६ मा एक हजार नौ सय २९ जना सदस्य रहेको संघमा आ.व.२०७६÷०७७ मा ४९ जना बृद्धि भई एक हजार नौ सय ७८ पुगेको कार्कीले बताए । ‘तर नविकरण भने ६२५ जनाले मात्र गरेका छन्’, कार्कीले भने ।

    ब्यापार व्यवसायसम्बन्धी बिभिन्न सेवा सुविधामा पहूँच पुर्याउन संघको सदस्य बन्न आवश्यक देखिन्छ । नयाँ सदस्य बने वापत प्रत्येक व्यापारीले एक हजार आठ सय ५० रुपैयाँ संघले बुझाउनुपर्ने हुन्छ । तीमध्ये सदस्यता शुल्क रु. ५००÷–, प्रवेश शल्क रु. १०००÷–, मृतक राहत कोष रु.२५० देखि रु.१०००÷– सम्म पर्ने कार्कीले जानकारी दिए । संघको सदस्यता बन्न कम्तिमा एक हजार आठ सय ५० रुपैयाँ तिर्नुपरेपनि नविकरणका लागि भने आठ सय ५० रुपैयाँ शुल्क बुझाए पुग्छ ।
    कम मात्रामा कृषि फर्म सञ्चालक सदस्य वनेको वाणिज्य संघमा बढि मात्रामा व्यापारीहरु सदस्य बनेका छन् । उर्लाबारी नगर क्षेत्रमा करिब दुई सय वटा उद्योगहरु सञ्चालन रहेपनि ७० जना मात्र संघमा आबद्ध रहेको कार्कीले बताए ।

    त्यसो त उद्योग सञ्चालकहरु मात्रै होइन, पसल सञ्चालकहरु पनि कम संख्यामा संघको सदस्य बनेका छन्, जति उर्लाबारीमा पसलहरु खुलेका छन् । उर्लाबारी नगर क्षेत्रमा तीन हजारको हाराहारीमा बिभिन्न किसिमका पसलहरु सञ्चालित छन् । तर, एक हजार आठ सयको हाराहारीमा मात्र व्यापारीहरु संघमा आबद्ध छन् । संघमा आबद्ध नहुनुको प्रमुख कारण व्यापार व्यवसाय सञ्चालनार्थ खर्च कटौति नै प्रमुख कारण हुन आउँछ । महँगो कोठा भाडा नै व्यापारीहरुको लागि प्रमुख आर्थिक भार हो । छिमेकी दमक बजारको तुलानामा उर्लाबारीमा कोठा भाडा महँगो पर्ने गरेको जानकारहरु बताउँछन् ।


    उर्लाबारीमा शर्टर कोठा भाडाको कुनै मापदण्ड छैन । ब्यापारीहरुले कम्तिमा १० हजारदेखि ५० हजार रुपैयाँसम्म भाडा घर धनीलाई बुझाउने गरेको पाइएको छ । ‘घर भाडा मनपरी छ । घर धनीले जतिवेला मनलाग्यो त्यतिवेला भाडा बढाउँछ’, नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले भने ।


    घरको कोठा भाडा लिएवापतको घरवहाल कर समेत उल्टै व्यापारीहरुले तिरिरहेका छन् । घर धनीले तिर्दैनन् । ‘जो होचो, उसको मुखमा घोचो’, भने झैं आन्तरिक राजस्व कार्यालयले समेत महँगो कोठा भाडा तिरेर मारमा परिरहेका ब्यापारीहरुबाटै घरवहाल कर असुल्ने गरेका छन् । घरवहाल कर नतिरेसम्म आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुले व्यापारीहरुको प्यान नम्बर (स्थायी लेखा नम्बर) नै नविकरण गरिदिँदैन । यसरी व्यापारीहरु दोहोरो मारमा परिरहेका छन् ।


    घरवहाल कर घर धनीले नै तिनुपर्छ र त्यो आफूले पहल गर्ने भनी वाणिज्य संघको निर्वाचनको बेला नेताहरुले प्रतिबद्धता व्यक्त गर्दैआएका छन् । तर जव नेताले चुनाव जित्छन्, ती सबै बिर्सन्छन् । व्यापारीको समस्या ज्युँका त्युँ रहन्छ । केही फाट्टफुट्ट घर धनीले भने घरवहाल कर आफैले तिरिरहेको पाइएको छ । तर यो आम घरधनीहरुमा लागू हुन सकिरहेको छैंन । घरवहाल कर घरधनीहरुलाई तिराउन स्थानीय सरकार, आन्तरिक राजस्व कार्यालय, घर धनी र वाणिज्य संघले साझा पहल गर्न आवश्यक देखिन्छ ।


    विगतमा विराटनगरपछि मोरङको दोस्रो ठूलो सहर भनेर कहलिएको उर्लाबारीको व्यापार व्यवसाय छिमेकी झापाको दमक बजार जस्तो तिब्ररूपमा बृद्धि भने भएको छैन । दमकमा भने कन्काई नदीदेखि पश्चिम, दक्षीण पश्चिम झापा र पाँचथर तथा इलामको समेत क्रेताहरु आउने गरेका छन् । तर उर्लाबारीमा भने पश्चिम छिमेकी पथरी र उत्तर छिमेकी बजार मधुमल्ला पनि फस्टाउँदो रूपमा रहेको छ । उर्लाबारी नगर क्षेत्रका वासिन्दा सहित खासगरी दक्षीणतर्फ रतुवामाई र उत्तरतर्फ मिक्लाजुङको टाँडी क्षेत्रका क्रेताहरु मात्र उर्लाबारी बजार भर्न आउनेगरेका छन् । उर्लाबारी नगरपालिका वडा नं. ५, ६ र ७ मा व्यापारिक चहलपहल बढी रहेको छ भने उर्लाबारी–३ को मंगलबारे, उर्लाबारी–८ को दुर्गापुरी र उर्लाबारी–४ को आइतबारेमा पनि सहरीकरण भइरहेको छ । उर्लाबारी–९ मा रहेको आमबाडिमा भने पहिले बिहीबार हाट बजार लगाउने गरिएकोमा त्यसलाई परिवर्तन गरी मंगलबार लगाउन थालिएको छ । मोरङको पुरानो बजार भनेर चिनिएको यो बजार बढ्न सकिरहेको छैन । केही किराना, साग–सब्जी र चिया–नास्ता पसल नै आमबाडिको मुख्य व्यापार व्यवसाय हुन् । यस बजारको स्त्तरोन्नतीका लागि स्थानीय समाजिक तथा राजनीतिक अगुवा अग्रसर हुनु जरुरी देखिन्छ ।


    उर्लाबारी नगर क्षेत्रमा ईटा उद्योग र दालमोठ तथा भुजिया उधोग बाहेक खासै ठू–ठूला उधोगहरु सञ्चालन हुन सकिरहेको छैन । विगतमा उर्लाबारीमा गलैंचा उद्योग स्थापना गर्ने भनेर छलफल गरिएपनि लगानीकर्ताहरु सकरात्मक नभएकोले त्यो त्यसै सेलाएर गयो । यद्यपि उर्लाबारी–१, २, ३, ८ र ९ मा भने औधोगिक विकासका अवधारणा र योजनाहरु अगाडि बढाउन सकिन्छ । विशेषगरी उर्लाबारीका बहुसंख्यक वासिन्दा कृषिमा निर्भर भएकोले कृषि उद्योगहरु सञ्चालन गर्न आवश्यक देखिन्छ । यसका लागि स्थानीय सरकार, राजनीतिकर्मी र सामाजिक अगुवाहरुले पहल गर्न जरुरी छ । यसो गरिएमा उर्लाबारीको व्यापारिक तथा औधोगिक प्रतिष्ठानहरुको विकास र विस्तारका साथै स्थानीय युवाहरुका लागि रोजगारीको अवसर सिर्जना हुन सक्छ । सँगसँगै व्यापार व्यवसायको माध्यमबाट उर्लाबारीको चौतर्फी विकास हुने कुरामा दुईमत छैन ।
    (उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरिएको लेखनबृत्ति)

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…