विराटनगर / भारतको कोलकतास्थित दमदम जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । केही दिनअघि जेलबाट छुटेर इलामको माई नगरपालिका–१० घर आइपुगेका तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको हो ।
स्वास्थ अवस्थाका विषयमा प्रश्न उठेकाले तिम्सिनाकाे उपचार सरकारले गरिदिने प्रदेश १ सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए । ‘जेलबाट छुटेर आएपछि उहाँको उपचारका विषयहरू उठेका छन्,’ मन्त्री कार्कीले भने, ‘अब उहाँको सम्पूर्ण उपचार प्रदेश सरकारले गर्छ ।’
उपचारका लागि परिवारसँग समन्वय गर्न इलामका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए । इलामका प्रमुख जिल्ला अधिकारीले परिवारसँग सम्पर्क गरेकाले केही दिनभित्र स्वास्थ्य जाँच गरिने बताए । स्वास्थ्य जाँचपछि अन्य अस्पतालमा उपचारका लागि लगिने उनले बताए ।
क्षतिपूर्तीका लागि समन्वय गर्छु
हत्या आरोपमा ४० वर्ष जेलमा बिताएका तिम्सिनालाई क्षतिपूर्ति दिलाउनका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने उनले बताए । कोलकाताको अदालतले पनि क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिएकाले प्रदेश सरकारको तर्फबाट आफूले पहल गर्ने उनले बताए । ‘उपचारको जिम्मा हामी लिन्छौँ, क्षतिपूर्तिका लागि पहल गर्छाैं,’ उनले भने, ‘म प्रदेशको कानुनमन्त्री पनि भएकाले भारतीय पक्षसँग क्षतिपूर्तिका लागि समन्वय गर्छु ।’ बिनाकारण आरोपकै भरमा ४० वर्ष जेल बस्नुपर्ने कानुन कतै नभएको बताउँदै उनले भारतले तिम्सिनालाई क्षतिपूर्ति दिनुपर्ने बताए ।