• हरिप्रसाद कोइराला
    उर्लाबारी, १९ चैत

    मोरङको उर्लाबारी-८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को बैशाखमा सुरु गरेको मत्स्य पर्यटन सहितको वृहत माछापालन यति बेला पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।

     
    विभिन्न जातका माछा र स्थानीय जातका कुखुराको मासु खान एवं जल बिहार गर्न त्यहाँ पुग्ने पाहुनाको सङ्ख्या दैनिक जसो बढिरहेको सञ्चालक डिल्लीराम न्यौपानेले बताएका छन् । अहिले न्यौपाने र नीलप्रसाद गौतमले ११ विगाहा जग्गामा ४ विगाहाको जलासय युक्त पोखरीमा माछापालन गरिरहेका छन् । वार्षिक २६० मन धान ठेक्का बुझाउने सर्तमा १५ वर्षका लागि जग्गा लिजमा लिएर ब्यवसाय सुरु गरेको उनीहरूको भनाई छ । ४ बिगाहाको एउटै जलासय क्षेत्रमा नौका बिहार गर्ने ब्यवस्था मिलाइए पछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । उनीहरूले माछाका भुरा समेत आफै उत्पादन गर्न ४ वटा पोखरीमा भुराको नर्सरी राखेका छन् । नर्सरी पोखरीमा रहु, नैनी, कमल, विगेट, सिल्भर, ग्रास र भ्याकुर जातका भुरा छन् । तिनै भुरालाई ठूला पोखरीमा सारेर पाल्ने गरेको न्यौपानेले बताएका हुन् । २५ लाख रुपैयाँ लगानी गरी पोखरी खनेका न्यौपाने र गौतमले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट २ लाख २० हजार रुपैयाँ अनुदान पाए यता कुनै पनि सरकारी सहयोग पाएका छैनन् । उनीहरूले  पोखरी परिसरलाई सुरक्षित गर्न ७ लाख खर्चेर तार घेरा समेत गरिसकेका छन् । 


    वार्षिक ५० लाख रुपैयाँको माछा उत्पादन गर्ने र बिक्री गर्ने महत्वकांक्षी लक्ष्यका साथ माछापालन सुरु गरेका ब्यवसायीहरू हाल माछा उत्पादन र श्रमिकका लागि दैनिक ८ हजार रुपैयाँ खर्च भइरहेको बताएका छन् । माछाको दानापानी ब्यवस्थापन, होटल सञ्चालन र रिसोर्ट सञ्चालनका  लागि कम्पनीले १२ जनालाई रोजगार दिएको छ । ब्यवसायी न्यौपानेले भने- ‘पहिलो वर्ष लक्ष्य अनुसार उत्पादन गर्न सकेनौं ।’ यद्यपि २० लाख रुपैयाँको माछा बजार गयो । विषय वस्तुको तालिम र अध्ययन बिना नै ब्यवसायमा हात हालेकोले लक्ष्य अनुसार उत्पादन लिन नसकेको न्यौपाने र गौतमको भनाई छ । तर, पछिल्ला वर्षहरूमा ब्यवसाय घाटामा नगएको उनले बताएका छन् । माछापालन र मत्स्य पर्यटनको पूर्वाधार निर्माणमा उहाँहरूले हालसम्म ४ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् । ११ विगाहा जमीन भित्र बनभोज स्थल, बाल उद्यान, फेमिलि टावर, रोज एण्ड भ्यू टावर, होटल ,सेल्फी टावर र फुटेज गार्डेन निर्माणको निर्माण सम्पन्न छ । सम्पूणर् पूर्वाधार तयार भइसक्दा कुल साढे ५ करोड रुपैयाँ लगानी हुने ब्यवसायी न्यौपानेले बताएका छन् ।


    ठूलो माछापोखरी भएकोले पोखरीमा मोटरबोट समेत सञ्चालन गरिएको छ । बाल उद्यान र मोटरबोट नेचुरल फनपार्क एण्ड 
    रिसोर्टको पहिलो रोजाई हुने गरेको छ । उनीहरूले माछापोखरीको बरिपरि १ विगाहा ८ कट्ठा जग्गामा २० प्रजातिका सीमसार युक्त वनस्पति रोपिसकेका छन् । त्यसैगरी मत्स्यपालन क्षेत्रमा ६० वटा  हाँस, १५० वटा स्थानीय जातका कुखुरा समेत पालेका छन् ।

    कम्पनीले मत्स्यपालनको अवलोकन गर्न आउने पाहुनालाई ईच्छा अनुसार माछा झिकी ,पकाएर खान दिने, किन्न दिने र आवासका लागि होटलको समेत व्यवस्थापन गरिएको सञ्चालक गौतमले जानकारी दिएका छन् । 


    हाल ५ वटा सुविधा सम्पन्न वातानुकुलित कोठा तयार भइसकेका छन् भने सभा हल लगायतका केही पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । नेचुरल फन पार्कका रुपमा विकसित भइरहेको मत्स्य पर्यटन क्षेत्रमा हाल दैनिक ५० देखि ७० जनासम्म स्थानीय पाहुना आइरहेका छन् । ग्राहकको रोजाईका माछा झिकेर ग्राहककै माग अनुसारको स्वादमा खान दिने ब्यवस्था मिलाइएको सञ्चालक गौतम र न्यौपानेले बताएका छन् । 


    चालु वर्ष उनीहरूले ६० लाख रुपैयाँको माछा बिक्री गर्ने लक्ष्य राखेका छन् । गत साउन यता उनीहरूले ४३ लाख रुपैयाँको माछा बिक्री गरिसकेका छन् । 
    बजारमा माछाको माग उच्च छ ,तर माग अनुसार आपुर्ति गर्न सकेका छैनौं । उनीहरूले भने - ‘आफ्नो जग्गा छैन । लिजमा पनि जग्गा पाईंदैन ।’ जग्गा पाइए माछापालन अझ बिस्तार गर्ने योजना रहेको उनीहरूको भनाई छ । उर्लाबारी - ८ मा पूर्व सभासद पर्तमान धिमालदेखि वडाध्यक्ष कुलबहादुर कार्कीसम्मले अहिले माछापालन सुरु गरेका छन् । बक्राहा खोला किनारको झण्डै २० बिगाहा जमीन अहिले माछापालन भइरहेको छ । माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसानहरू धान खेत मास्दै पोखरी खन्न थालेको स्थानीयको भनाई छ । 


    माछापालक डिल्लीराम न्यौपानेका अनुसार उर्लाबारी-८ का वडाध्यक्ष कुलबहादुर कार्कीले ४ विगाहामा, संविधान सभा सदस्य पर्तमान धिमालले ४ विगाहामा, नबीन खड्काले २ विगाहामा, सोमबहादुर कार्कीले १५ कट्ठामा सन्तोष तामाङले ६ कट्ठामा माछापालन गरेका छन् । भारतबाट आउने माछालाई पूणर् रुपमा विस्थापित गर्ने उदेश्यले माछापालन गरिरहेका न्यौपानेले भने-‘अझै पनि भारतीय माछा भित्रिने क्रम रोकिएको छैन ।’ नेपाली उत्पादन भन्दा भारतीय उत्पादन सस्तो हुने गरेकोले ग्राहकहरू भारतीय उत्पादन प्रति आकर्षित भएको माछापालक किसानको भनाई 
    छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…