• काठमाडौं– माओवादी केन्द्रबाट एमालेमा गएर सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिएका छन् ।

    माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री पदमा पुनर्नियुक्ति गरेका हुन् । उनीहरुले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरु हिजोमात्रै सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए।

    रायमाझीले ऊर्जा, साहले सहरी विकास, भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीहरुलाई यसअघिकै मन्त्रालय सम्हाल्ने गरी पुनर्नियुक्ति गरेर सपथग्रहण गराइएको हो ।

    सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा नाम ऋषि कट्टेललाई दिएर एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा व्यूँताउने फैसला गरेपछि अन्य सांसदहरु आ–आफ्ना पार्टीमा फर्किएपनि यी चारजना भने एमालेतिर लागेका थिए ।

    रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए भने साह रौतहट ३,भट्ट कैलाली ४ र चौधरी कैलाली ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यी चारैजना माओवादी बाट निर्वाचित भएका थिए ।

    गत फागुन २८ गते नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यी चार जना नेतासहित माओवादीका २३ जनालाई एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरेर जिम्मेवारी दिएका थिए । एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण समेत सोधेको थियो ।

    तर, उनीहरुबाट चित्तबुझ्दो स्पष्टीकरण नपाएपछि माओवादीले दलबाट निश्कासनको कारबाही गरेको थियो । तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्र मिलेर बनेको) मा विवाद चर्किएपछि यी चारैजना प्रधानमन्त्री ओलीको पक्षमा गएका थिए । एमालेमा गएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई पनि माओवादीले कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐनमा जुन दलबाट सांसद निर्वाचित भएको हो । उसलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसदबाट पदमुक्त हुने व्यवस्था छ । हिजो प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको सूचना संसद बैठकमा जानकारी दिएपछि चारैजना मन्त्रीको सांसद र मन्त्री पद खारेज भएको थियो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ।

    अरु भेट्टाएनन् ओलीले !

    एमालेसँग अहिले १ सय २१ जना सांसद छन् । जो एमालेमा लागेर लामो समय दु:ख गरेका छन् । तर, ओलीले उनीहरुलाई अवसर नदिएर माओवादी छाडेकालाई नै फेरि मन्त्री बनाएकामा एमाल भित्र असन्तुष्टि बढेको एक एमाले नेता बताउँछन् ।

    पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गरेपछि उनीहरुलाई पार्टीको काममा खटाएर एमालेमा दु:ख गरेका नेतालाई अवसर दिनुपर्ने ती नेताको भनाई छ । यसले प्रधानमन्त्री ओलीले अरु नभेटेर फेरि उनीहरुलाई नै मन्त्री बनाउनु परेको भन्ने शन्देश प्रवाह भएको ती नेता बताउँछन । यसले एमालेभित्र झन असन्तुष्टि बढाउने ती नेताको दावी छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…