• मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : मेष राशि भएका व्यक्तिहरुका लागी समग्रमा वर्ष २०७८ शुभ रहनेछ । वर्षभरिनै लाभ भाव र राज्यभावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले विशेष गरी स्कुल, कलेज, कन्सल्टेन्सी, पर्यटन, होटल व्यवसाय, शेयर बजार र बैंक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यावसायकै सवालमा लामो दुरिको यात्राको तय गर्न सक्नेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडिहरुको आफ्नो प्रेम सम्वन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्ष भरिनै बृहस्पतीको दृष्टि सन्तान भावमा पर्ने हुनाले बंश वृद्धिको गतिलो योग रहेको छ।

    वर्ष भरिनै राज्य भावमा शनि स्वगृह भएर शश नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सरकारी नोकरीमा प्रवेश, पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपार्इकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्य हुनेछ । समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममूखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ।

    कर्मभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले कम्प्युटर पाट्र्स, इलेक्ट्रीक सामान, घर जग्गा, ईन्जिन, हार्डवयेर, फेक्ट्री तथा उत्पादनमूखि व्यवसाय विगत भन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यावसायमा विशेष गरी निर्माण सामग्री, औषधी र गाडी वा ईन्जीन सम्बन्धी सामानको व्यापार व्यावसाय गर्नेहरुका लागी शनिले साथ दिनेछ ।

    विद्यार्थीहरुमा तार्किक क्षमतामा वृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । कानून विषय लिई अध्ययन गर्ने विद्यार्थीहरुका लागी न्याय क्षेत्रमा प्रवेश गर्नको लागी समय उत्तम रहनेछ। टेक्नीकल विषय जस्तै मेकानिकल ईन्जिनियर, फार्मेसी, डाक्टर, पाईलट र भुगोल सम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागी समयले साथ दिनेछ । अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय हुनेछ भने विदेशमा बसेर अध्यययन गर्ने अवसर प्राप्त हुनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ । तरपनि वर्षभरिनै धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पतीको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पती फस्ने तथा कुटुम्बसँगको सम्वन्धमा दरार पैदा हुनेछ ।

    राशि स्वामी मंगल मंसिर २१ गतेबाट माघ ०४ गतेसम्म अष्टम भावमा स्वगृह भएर बस्ने भएकोले नसाचेको धन सम्पती हात लागी हुने योग रहेको छ भने यो समयमा केतु पनि सँगै रहने हुनाले भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

    यो वर्ष बृहस्पती, शनि लगायत अन्य ग्रहको अनुकुल प्रभावले दिर्घकालिन रोगहरु जस्तै मोटोपन, कोलेस्ट्रोल, प्यारालाईशिस, मृगौला, कलेजो आदी रोगका बिरामीहरुले स्वास्थ्यमा सुधार आएको महशुस गर्नेछन्।

    आर्थिक दृष्टिले असार, असोज, माघ तथा फाल्गुन महिना मेष राशि हुनेहरुका लागी शुभ रहनेछ । मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलावार गणेश भगवानको पूजा तथा आराधना गरी गणेश भगवानलाई खुशी बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ। राहु केतुको प्रभाव नकारात्मक रहने हुनाले बटुक भैरवको पूजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पूजा गर्नाले थप लाभ मिल्नेछ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) : वृष राशि भएका व्यक्तिहरुका लागी वर्षको समय शुभ रहनेछ। वर्षभरिनै भाग्य भाव तथा राज्यभावमा गोचर गर्ने वृहस्पतीको अनुकुल प्रभावले स्कुल, कलेज, मन्टेश्वरी, बैंक तथा वित्तिय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने शिक्षा तथा बैक तथा वित्तिय क्षेत्रमा काम पाउने तथा बढुवा हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ। आफूलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ। राजनीति तथा समावसेवामा समय खर्चनेहरुका लागी समय उत्तम रहेको छ भने जनताको समर्थन प्राप्त हुनाले पद प्राप्त हुनेछ ।

    भाग्य भावमा शनिको गोचर शुभ रहने हुनाले निर्माण सामाग्री, हार्डवयेरको व्यापार, अटो पार्टस, गाडी तथा ईञ्जिन सम्बन्धी काम र फाली फलामको काम गर्नेहरुका लागी यो वर्ष शुभ रहनेछ भने प्रशस्त रुपैँया पैसा कमाउन सक्नेछन् । फ्याक्ट्रि तथा उत्पादनमूखी व्यावसायबाट लाभ मिल्नेछ । न्यायलयको क्षेत्रमा काम गर्ने अवसर आउने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् ।

    प्लस टू सकेर वा सो भन्दा उच्च शिक्षा अध्ययन गर्नको लागी लामो दुरिको यात्रा हुनेछ भने धर्म संस्कृती तथा रितिरिवाज जोगाउने काममा तपाईँको भूमिका रहनेछ । त्यस्तै धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा सहभागि भइनेछ । भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ ।

    गीत संगित तथा मोडलिङको क्षेत्रमा समय लगानी गर्ने तथा कलाकारीताको भूमिकामा देखिनेहरुका लागी समयले साथ दिनेछ । कलाकृतिसँग सम्बन्धीत काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ भने आफ्नो कला देखाउन देश विदेशको यात्राको तय गर्न सकिनेछ ।

    वर्षभरिनै व्यापार भावमा केतुको गोचर भने मध्ययम रहनेछ । साझेदारी व्यापारमा मनमुटाव सिर्जना हुनेछ । भौतिक सम्पती हराउने, सवारी साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेको छ । आर्थिक मन्दि तथा काममा ढिला सुस्तीको चपेटामा परिनेछ। घरपरिवारमा जीवन साथीसँग मनमुटाव बढ्ने तथा आत्मियजन सँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ। स्वास्थ्यमा समस्या आउँदा औषधि उपचार खर्च बढेर जानेछ।

    राशि स्वामी शुक्र वैसाख २० गतेबाट जेष्ठ १३ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारी साधन विलाशी वस्तु जोड्न सकिनेछ । शुक्र पुनह भाद्र २१ गतेबाट असोज १६ गतेसम्म प्रतिस्पर्धा भावमा स्वगृह भई गोचर गर्ने हुनाले न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

    आर्थिक दृष्टिकोणले साउन, कार्तिक, फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रबार ईन्द्रायणी देवीको दर्शन, पूजा आराधाना गर्नाले र राहु र केतुको नकारात्मक प्रभावबाट बच्नको लागी प्रत्येक आईतबार भैरवको दर्शन र पूजा गर्नाले तपाईँका दिनहरु थप फलदायी रहनेछन्।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :  मिथुन राशि हुनेहरुका लागी यो वर्ष मिश्रित फल प्राप्त हुनेछ। वर्षभरिनै अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरु बीच नै सैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ। जण्डिज, सुगर, मोटोपन, उक्त रक्तचाप, पथ्थरी तथा मिर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ। लामो दूरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला। जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइरहनेछन्। तरपनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा चिनाको ३,६,११ भावमा भए शनिको अढैया शुभ नै रहनेछ।

    असोज १६ गतेबाट कार्तिक २२ गतेसम्म कष्ट भावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले शिक्षा क्षेत्र र बैक तथा वित्तिय क्षेत्र र शेयर बजारको लगानीमा मन्दी आउनेछ । तरपनि वर्षको पूर्वाद्ध र उत्तराद्र्धमा बृहस्पती भाग्यभावमा गोचर गर्ने हुनाले रोकिएका काम थोरै समय दिएर सम्पादन गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनले नयाँ गति लिनेछ अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ । व्यवसायमा उल्लेख्य प्रगती हुनेछ । प्रयत्न गर्दा नोकरी पाईनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्नेछ। सन्तानका माध्यमबाट सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । वंश वृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ।

    वर्षभरिनै राहु र केतुको गोचर शुभ रहनेछ। विदेश भावमा गोचर गर्ने राहुको प्रभावले विदेशी वा कुटनीतिको क्षेत्रमा काम गर्न चाहनेहरुका लागी समयले साथ दिनेछ । पराराष्ट्र, एनजिओ, आईएनजीओ, विदेशी सामानको व्यापार व्यवसाय र विदेशी सामानको व्यापार गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउनेछन् । कामकै सवालमा अफिसियल यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रतिस्पर्धा भावमा गोचर गर्ने केतुको शुभ प्रभावले नोकरी वा राजनीतिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको उपलब्धी हासील गर्न सकिनेछ।

    राशि स्वामी बुध असार २१ गतेबाट श्रावण ०७ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र ०९ गतेबाट कार्तिक १५ गतेसम्म चौथो भावमा प्रवेश गरी पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।

    प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आराथना गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले बैशाख, भाद्र, मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो ) : कर्कट राशि हुनेहरुका लागी यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । वर्षभरिनै कष्ट भावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले घर जग्गा,हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउनेछ । स्वास्थ्य सम्वन्धी समस्या देखीन सक्छ ध्यान दिनुहोला । शेयर बजार तथा सट्टाको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ। पुराना समस्या दोहोरिने तथा घर व्यावहारको समस्याले आर्थिक उन्नती गर्न सकिने छैन । तरपनि असोज १६ गतेबाट कार्तिक २२ गतेसम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतीले व्यापार व्यावसायमा बढोत्तरी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी गर्ने वातावरण बनाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाँठो बाधिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ। कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

    वर्षभरि नै शनि व्यापार भावमा शश नामको पञ्चमहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादन मुखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानूनको व्याख्याता तथा कानूनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । नोकरीमा प्रवेश, पदोन्नती वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ । व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ ।

    अर्कोतर्फ वर्षभरिनै लाभ भावमा राहु र बिद्या भावमा केतुको गोचर शुभ रहनेछ । विद्या भावमा गोचर गर्ने केतुले टेक्निकल विषयको अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने लाभ भावको राहुले एनजिओ,आईएनजिओ,विदेशी लगानिबाट सञ्चालित संस्था, कन्सल्टेन्सी र मेनपावर जस्ता क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ।

    आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैशाख, जेष्ठ, असोज, मंसिर महिना राम्रो रहेको छ। बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिष्णु भगवानको पूजा तथा पिपलमा जल चढाउँदा लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागी बटुक भैरवको पूजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सिंह राशि भएकाहरुका यो वर्ष शनि, बृहस्पती र राहुको गोचर शुभ रहनेछ । वर्षभरी नै प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले उत्पादनमूखी व्यावसाय फस्टाएर जानेछ। सवारी साधन, फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानूनको व्याख्याता तथा कानूनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ।

    त्यस्तै बृहस्पतीको प्रतिकुल प्रभावले शेयर बजार, स्कुल, कलेज, सहकारी, इन्सुरेन्स, बैङ्क तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यवसायमा समय खर्चनेहरुका लागी समय मध्यम रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय र सेवामुखी व्यवसाय फस्टाएर जानेछ । प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाह मार्फत् घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेको छ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् ।

    वर्ष भरिनै कर्म भावमा गोचर गर्ने राहुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतीको परिचालन मार्फत् मनग्गे लाभ लिन सकिनेछ। नयाँ काम पाउने, पदोन्नती हुने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ। कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिने हुँदा राज्यबाट पद पाउने, नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ। तरपनि हृदयभावमा केतुको उपस्थितिले मनोविकार निम्त्याउने हुँदा परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ । सामान्य कमजोरीले परिवार र समाजमा आलोचित भइने र प्रतिष्ठामा बाधा पुग्ने सम्भावना छ।

    प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन् । राहु र केतुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ, असार, भाद्र, कार्तिक र माघ महिना राम्रो रहेको छ ।

    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो ) : कन्या राशि हुनेहरुका लागी वर्षको समय मध्यम रहनेछ । वर्षको पुर्वाद्ध र उत्तराद्धमा ऋण, रोग र शत्रुभावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ। आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावश्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ। राजनीति तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउन कडा मेहनत गर्नुपर्नेछ । जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

    वर्षभरि नै विद्या,बुद्धि र सन्तान भावमा गोचर गर्ने शनिले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला । शनिको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पतिमा भागबन्डा लाग्न सक्छ। बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ । विद्रोहीहरूको दबाब र झमेला बढ्ने योग रहेको छ । व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन् । जन्मकुण्डलीमा शनि–प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहँदा आलश्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची, कार्यबाधा र अर्थहानी जस्ता समस्या आउनेछन् । सन्तान तथा आफन्तसँग घरायसी कुरायमा राया बाजिने वा विवाद हुनेछ।

    तरपनि वर्षभरिनै राहु र केतुको गोचर शुभ रहने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सभ्भावना रहेको छ। विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने वा बढुवा हुने योग रहेको छ । पराराष्ट्र, एनजिओ,आईएनजीओमा तपाईँको उच्च स्तरको सहभागिता हुनेछ भने अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ ।

    दाजुभाई वा छिमेकीसँग मिलेर गरिने पेशा व्यवसायबाट लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ। विदेशी भाषा तथा टेक्निकल शिक्षा लिई अध्ययन गर्नेहरुका लागी समयले साथ दिनेछ।

    राशि स्वामी बुध आषाढ १९ गतेबाट श्रावण ०७ गतेसम्म राज्य भावमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र ०९ गतेबाट कार्तिक १६ गतेसम्म राशिमा प्रवेश गरी पुनह भद्र योग र बुध आदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेको छ। कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ।

    जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार, साउन, मंसिर तथा फाल्गुन राम्रो रहनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते ) : तुला राशि हुनेहरुका लागि वर्ष २०७८ मध्यम रहनेछ। वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरु लाग्ने, कार्यमा ढिलासुस्ति, मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्य सम्बन्धी समस्या देखापर्ने र आर्थिक स्थिति कमजोर हुनेछ। यात्राका सवालमा केही कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेको छ। आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ ।

    राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला। आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । मोटोपन, कोलस्ट्रोल, जन्डिज, फोक्सो तथा मुटु रोगीहरुले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला। तर जन्म कुण्डलिमा शनि उच्च, स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ।

    कष्टभावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानी जस्ता समस्या देखापर्न सक्छन् । आफ्नो उपलब्धी र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । कुटुम्ब भावमा वर्ष भरिनै गोचर गर्ने केतुले कुटुम्ब तथा आफन्तसँग लामो समयदेखी गरिरहेको काममा मनमुटाव सिर्जना भई काम छोड्नु पर्ने हुन सक्छ। धनसम्पती सापटीको रुपमा लिँदा वा लगानी गर्दा फस्न सक्छ ध्यान दिनुहोला।

    तरपनि वर्षभरिनै बृहस्पतीको गोचर शुभ रहनेछ। पशुपालन तथा कृषि व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्ये लाभ लिन सकिनेछ । अकस्मात् धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रसिद्धि कमाउन सकिनेछ भने मानसम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । स्कुल, कलेज तथा वित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ। प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम गर्न सकिनेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार बनाउन सक्छ।

    राशि स्वामी शुक्र बैशाख २० गतेबाट जेष्ठ १३ गतेसम्म अष्टम गोचर गर्ने हुनाले नसोचेको धन तथा सम्पती हात लागी हुनेछ । लट्री तथा चिठ्ठा पर्ने र देश विदेशको यात्रा गर्न सकिनेछ । शुक्र पुनह भाद्र २१ गतेबाट असोज १६ गतेसम्म राशिमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने हुनाले व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पति जोड्न सकिनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहनेछ । टाढिएका सन्तानहरूलाई माता र मातृभूमि प्रति श्रद्धा बढ्नेछ । गीत संगित तथा मोडलिङ क्षेत्रका काम गर्नेहरुका लागी समय फलदायी रहनेछ।

    आर्थिक दृष्टिकोणले साउन, भाद्र, पौष तथा चैत्र अनुकुल रहेको छ। प्रतिकूल समयमा देवी तथा बंगलामुखिको दर्शन, पूजा तथा आराधना, तथा वृहस्पतीको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :  वृश्चिक राशि हुनेहरुका लागि वर्ष २०७८ मिश्रित रहनेछ । पराक्रम भावमा गोचर गर्ने शनि भौतिक स्रोत साधनको प्रयोग मार्फत् मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा, गाडी तथा इञ्जिन सम्वन्धीत कामबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ। विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। दाजुभाई तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाईने तथा स्त्री वर्गबाट सहयोग पाईनेछ। माछापालन, हाँसपालन, हाईड्रो ईन्जिनियर, पौडिबाज जस्ता क्षेत्रमा विशेष चासो रहनेछ।

    बृहस्पतीको अनुकूलताले विद्यार्थीहरुका लागी समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी वर्ष शुभ रहनेछ। स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैंक तथा वित्तिय जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पती जोड्ने योग रहको छ। राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ। बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मेहनतले स्वरोजगार बन्न सफल भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ। मेहनतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। भाग्यले घरजग्गालगायत स्थायी सम्पति दिलाउन सक्छ। उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।

    वर्ष भरिने राशिमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले अकस्मात् आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउनेछ।

    राशि स्वामी मंगल मंसिर २२ गतेबाट माघ ४ गतेसम्म राशिमा गोचर गरी रुचक योगको निर्माण गर्ने हुनाले आँट, साहस तथा पराक्रममा वृद्धि भएर जानेछ। घर जग्गा जोड्ने तथा हार्डवयेर, फलामको व्यवसाय फस्टाएर जानेछ । फाल्गुन १८ गतेबाट वर्षको अन्त्यसम्म पराक्रम भावमा गोचर गर्ने उच्च मंगलको प्रभावले छोटो तथा लामो दुरिको यात्रा हुनेछ । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा भाग लिई मनग्ये लाभ लिन सकिनेछ।
    आर्थिक दृष्टिकोणले वैशाख, भाद्र, असोज, माघ महिना अनुकुल रहेको छ। बंगालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुशि पार्नको लागि बिष्णु भगवानको पूजा, पिपलमा जल चडाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : धनु राशि भएका व्याक्तिहरुलाई शनिको अन्त्य साँढेसातीको प्रभावले अशुभ रहेपनि अन्य ग्रहको अनुकुलताले वर्ष शुभ नै रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुनेहरुलाई विभिन्न समस्या आईपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ। दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ। जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममूखि फल दिनेछ ।

    वर्ष भरिनै धन भावमा र पराक्रम भावमा गोचर गर्ने बृहस्पतीको अनुकूल प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिती रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ ।

    स्कुल कलेज,बैंक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स, उद्योग, भु उपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। विद्यार्थिवर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टामा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ। माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत् प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ। ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुनेछन्।

    वर्ष भरिनै राहु र केतुको गोचर शुभ रहनेछ। अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हात पार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।

    साँढेसातिको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतिको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चडाउदा फाईदा हुनेछ । बृहस्पतीको लागी माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभ फल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला। आर्थिक दृष्टिकोणले जेष्ठ, असोज, कार्तिक तथा फाल्गुन महिना राम्रो रहेको छ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :  मकर राशि हुने हरुका लागि वर्ष २०७८ शुभ रहनेछ । न्यायलय, ईन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बीमा, एकाउन्ट,बैंक तथा बित्तिय संस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त हुनेछ। डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउने योग रहेकोछ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगती हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवनसाथिको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ।

    वर्षभरिनै विद्या भावमा गोचर गर्ने राहु र एकादश भावमा गोचर गर्ने केतुले स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय विदेशमा निर्यात बढ्नेछ भने व्यापार बिस्तारकै शिलशिलामा लामो दुरिको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नती गरी जीवन स्थर उकास्न सकिनेछ। तरपनि मानसिक अस्थिरता बढ्ने योग रहेको छ भने सन्तानसँग केही विषयमा मतान्तर रहनेछ ।

    वर्षभरिनै शनिको मध्य साँढेसातीको दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरुसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । सीमित क्षेत्रबाट माथी उठ्न बाधा पर्नेछ। मस्तिष्क भावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखा पर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ। उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्नेछ ।

    न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

    शनिको नकारात्मक प्रभावबाट बच्नको लागी महांकाल तथा कालि भगवतीको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाईदा हुनेछ । वर्षभरी राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कार्तिक, मंसिर तथा चैत्र महिना लाभदायक रहेको छ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ) : कुम्भ राशि हुनेहरुका लागी पुवाद्र्ध र उत्तराद्र्धको समय रामो रहेपनि मध्यका समय संघर्षशिल रहनेछ । वर्षभरिनै शनिको आद्य साढेशातिको प्रभाव रहनेछ। साँढेसातिको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा जस्ता क्षेत्रमा मन्दी आउनेछ। विदेशी भाषा तथा विदेशी सस्कार संस्कृतिको अनुशरण गर्नेहरुका लागी समयले साथ दिने छैन । विभिन्न समस्या आईपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ। दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा हुनेहरुका लागी भने शनिले राम्रा तथा परिणाममूखि फल दिनेछ । असोज १५ गतेबाट कार्तिक २२ गतेसम्म खर्च भावमा बृहस्पतीको गोचर अशुभ रहनेछ जसको कारणले गर्दा खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ । सञ्चित रकम सकिनाले आर्थिक मन्दीले सताउनेछ । विचौलियाको फन्दामा परिनेछ भने लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्छ ।

    तरपनि पुर्वाद्ध र उत्तराद्र्धको समयमा बृहस्पतीको अनुकुल प्रभाव रहनेछ । जसको कारण नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रह योग रहेको छ । सञ्चार,कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिष, लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार,अन्तरिक्ष विज्ञान, भु उपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनितिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । भूमी तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ। स्कुल कलेज, बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ। विद्यार्थिवर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ।

    वर्ष भरिनै सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा परिवारजनसँग मतभेद रहनेछ । नेता तथा कर्मचारीहरुलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।
    आर्थिक दृष्टिकोणले वैशाख साउन मंसिर, पुस महिना उत्कृष्ट रहेको छ । विधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : यो वर्ष मिन राशि हुनेहरुका लागी मिश्रित फल प्राप्त हुनेछ । वर्षभरिने शनिको अनुकुल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्री वर्गबाट सहयोग पाईनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानूनको व्याख्याता तथा कानूनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखी सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

    वर्षभरिनै पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुको आँट, साहस तथा पराक्रममा बृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमामा सहभागि भई देश विदेशको यात्रामा निस्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिसियल यात्रा हुनेछ। पढाइ लेखाइकै सवालमा दक्षिण तथा पश्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ।

    वर्षको पुवाद्र्ध र उत्तराद्र्धको समयमा खर्च भावमा बृहस्पतीको गोचर प्रतिकुल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तरपनि प्रयत्न गर्दा ईन्जिनियरिङ,,दूध तथा दूग्ध पदार्थ, गोताखोर, बैज्ञानिक शोध, लेखन, कला साहित्य, मनोरञ्जन, हाँस्य विधा,अध्ययन अध्यापन, योग ध्यान, आध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी यो वर्ष राम्रो रहेको छ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ। स्कुल, कलेज, कन्सल्टेन्सि, फार्मेसी, अस्पताल, ट्राभल एजेन्सी,तरल पदार्थ, हाईड्रोपावर,अनलाईन व्यापार, प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ।

    आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागी महांकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउनाले लाभ मिल्नेछ ।

    तपाईको यो वर्ष शुभ रहोस् ।
    ज्योतिषी दुर्गा भण्डारी।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…