• झापा : साबिक गौरीगञ्ज गाविस–७ हाल गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयको नाममा अदालतमा १० वटा मुद्दा परेको छ। 

    २००८ सालमा स्थापना भएको पालिकाकै सबैभन्दा पुरानो सरकारी विद्यालयमा एकै पटक १० वटा मुद्दा परेपछि विद्यालय प्रशासन लाखौँ ऋणमा डुबेको छ।अदालतमा परेका मुद्दा र ऋणका कारण विद्यालयको शैक्षिक गुणस्तरसँगै भौतिक अवस्था खस्किँदै गएपछि त्यहाँका सरोकारवालाहरू चिन्तित बनेका छन्। 

    विद्यालयका नाममा मुद्दैमुद्दा

    गौरीगञ्ज माविको नाममा करिब ७२ विघा जमिन छ। गौरादह नगरपालिका–९ स्थित वैगुनधुरामा विद्यालयको ५२ बिघा जमिनमध्ये १८ बिघा जमिनमा मोहियानी छ।

    मोहियानी भन्दै ५ स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएका छन्। जोतभोगको आधारमा मोही हकवादी गर्दै उनीहरूले १८ बिघा जमिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा हालेका छन्।

    स्थानीय मंगल टुडू, भगत सुरेन, चूडाबहादुर भुजेल, गंगाबहादुर भुजेल र इन्द्रबहादुर भुजेलले झापा जिल्ला अदालत र उच्च अदालत विराटनगर, इलाममा मुद्दा दर्ता गराएका छन्।

    अदालतमा मुद्दा हालेपछि करिब ३ वर्षदेखि विद्यालयको जमिन जोगाउन विद्यालय प्रशासनले उनीहरूविरुद्ध अदालतमा मुद्दा लडिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

    प्रअ घिमिरेले भने, ‘१८ बिघा जमिनको विषयमा ६ वटा मुद्दा झापा जिल्ला अदालत र ४ वटा मुद्दा उच्च अदालत विराटनगर इलाम इजलासमा खेपिरहेका छौँ, अहिलेसम्म मुद्दाको छिनोफानो हुन सकेको छैन, अदालतमा मुद्दा लड्दा लड्दै विद्यालयको नाममा हाल १५ लाख बढी ऋण देखिएको छ,' उनले भने।

    विद्यालयले पर्खाल लगाएको करिब ४ बिघामध्ये २ बिघा सरकारी जमिन अर्थात् ऐलानी पर्छ। उक्त ऐलानी जमिन पनि केही व्यक्तिले आफ्नो नाममा दर्ता गराउन खोजीरहेको उनको भनाइ छ।

    मोही भएको भन्दै पर्खालसँगै रहेको जमिन केही व्यक्तिले नामसारी गर्न प्रक्रियासमेत अघि बढाइसकेको उनको दाबी छ। विद्यालयको आर्थिक अवस्था सुधार्न गौरादह ९ को ५२ बिघा जमिन कोटेसन प्रक्रियामार्फत ठेक्का लगाइएको छ। एक बिघाको‍ ५५ हजार ५ सय ५५ रुपैयाँमा एक संस्थालाई ठेक्का दिएको जनाइएको छ।  

    विद्यालयप्रति सरोकारवालाले देखाए चासो 

    पछिल्लो समय गौरीगञ्ज माविको शैक्षिक गुणस्तरसँगै भौतिक अवस्था खस्किँदै गएकोले त्यसलाई सुधार गर्नुपर्ने निष्कर्ष निकाल्दै विद्यालयका पूर्वविद्यार्थी समाजले चासो देखाएको छ। 

    विद्यालयका पूर्वविद्यार्थी समाजका संस्थापक सदस्य वेदेन्द्र ढकालको अध्यक्षतामा बसेको बैठकमा त्यहाँका जनप्रतिनिधि, पूर्वगाविस अध्यक्षहरू, नागरिक समाज, पूर्व विद्यार्थी, समाजसेवी, बुद्विजीवीले विद्यालयको अवस्थाबारे चासो देखाएका हुन्।

    विद्यालयको अवस्था अत्यन्तै दयनीय भएको भन्दै पूर्वगाविस अध्यक्ष घनश्याम रिजालले भने, ‘विद्यालयको नाममा दर्ता भएको जमिनमा मोही कसरी लाग्यो, यस विषयमा हामी सबैले खोजी गर्नुपर्यो।’

    हुलाकी सडक निर्माण गर्दा सडकको बीचबाट दायाँबायाँ १५९१५ मिटर छाड्नुपर्नेमा त्यसो नभई विद्यालयलाई लक्षित गरी पर्खाल भत्काउनु उचित नभएको उनले बताए। 

    कुनै बेला जिल्लाकै सबैभन्दा धनी विद्यालयको रूपमा चिनिने गौरीगन्ज मावि अहिले सबैभन्दा गरिब अवस्थामा पुगेको विद्यालयका पुराना कर्मचारी जगन्नाथ शर्माले चिन्ता व्यक्त गरेका छन्।

    ‘विद्यालयको नाममा रहेको २ बिघा २ कट्ठा जमिन विद्यालयको होइन भनेर बजारमा अहिले हल्ला चलिरहेको उनले बताए। गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले भने, ‘ती जमिन व्यक्ति हो रे, विद्यालयको होइन रे, त्यसैले सबै सचेत भई एकजुट हुने बेला आएको छ।’

    हुलाकी सडक निर्माण गर्ने क्रममा गौरीगञ्जका दुई वटा विद्यालयका पर्खाल भत्काउनुपरेको विषयमा म गम्भीर छु,' उनले भने, ‘गौरीगंज मावि र पृथ्वी नारायण प्राविको पर्खाल पुनर्निर्माण गाउँपालिका गर्छ।’

    गौरीगञ्ज गाउँपालिका ३ नम्बर वडाध्यक्ष मखना महतोले विद्यालयको पर्खाल निर्माणका लागि वडा कार्यालयले १० लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालयको पुरानो १८ कोठे भवन भत्किएको र विद्यालयको सुन्दरता फर्काउन पनि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पनि सहभागीहरूले जोड दिएका थिए।

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …