• विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज अन्तिम प्रयास गरिने सो पार्टीले जनाएको छ ।

    माओवादी केन्द्रले पदाधिकारीमा सहमति जुटाउन आज प्रदेश १ कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक राखेको छ । उक्त बैठकमा आकांक्षीहरुको विषयमा छलफल हुने र निष्कर्षका लागि प्रयास गरिने एक नेताले बताए । प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक भोली बस्दैछ । बैठकले पदाधिकारी चयन गर्ने भनिए आकांक्षीहरु धेरै देखिएपछि सहमतिको सम्भावना भने कम देखिएको छ ।

    यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेका छन् । सहमतिको प्रयासस्वरुप कार्यदलको बैठक हिंजो बसेको थियो । आज बस्ने केन्द्रीय सदस्यहरु सम्मिलित बैठक पछि आकांक्षीहरुबीच संयुक्त छलफल राखिने माओवादी स्रोतले जनाएको छ । जसका लागि दिउँसो २ बजेका लागि आकांक्षीहरुलाई विराटनगरस्थित तीनपैनीमा रहेको पार्टी कार्यालयमा बोलाइएको छ ।

    पदाधिकारी छनौटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरुले जोड दिइरहेका छन् । बाग्मती प्रदेशमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको उदाहरण पेश गर्दै उनीहरुले लबिइङ सुरु गरेका छन् ।

    अध्यक्षलगायत नौ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका आ–आफ्नो दाबी गर्दै फेसबुकको प्रचारमा देखिएका छन् । अहिलेसम्म प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन् ।

    महिला उपाध्यक्षमा संखुवासभाकी इन्दीरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिं राजवंशीलगायतले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ ।

    यस्तै सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन् । सहसचिवमा भने सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन् । कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारीलगायतले दाबी गरेका छन् ।

    माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मङ्सिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा पदाधिकारी चयन हुन नसकेपछि कार्यदलले टुंगो लगाउने गरी अधिवेशन अन्त्य गरिएको थियो । अधिवेशनपछि विराटनगरमा बसेको प्रदेश कार्यसमितिको पहिलो बैठकमा पनि नेतृत्व चयनको विषयमा विवाद सिर्जना भएको थियो ।

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …

मोरङ । प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री बिष्णुमाया तुङ्बाहाङ्फे (राई)ले पाँच दलीय गठबन्धन अझ बलियो ह…