• काठमाडौं । पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यबृद्धि हुँदा विद्यार्थी संगठनहरुले सडक तताउँछन् । तर, अन्य दैनिक उपभोग्य सामग्रीहरुको अनियन्त्रित तवरले मूल्यबृद्धि गरिँदा न विद्यार्थी संगठन बोल्छन् न उपभोक्ताले संगठित प्रतिरोध गर्छन् ।

    दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये एक हो- खानेतेल । गरिबदेखि धनीसम्म सबैले उपभोग गर्ने खानेतेलमा पछिल्लो एक वर्षमा अनियन्त्रित तवरले मूल्यबृद्धि भइरहेको छ ।

    २०७६ सालनमा लकडाउन सुरु भएपछि खाने तेलको मूल्य बढ्न थालेको थियो । त्यसको करिब १ वर्षको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँसम्मले बढेको छ । एक वर्षमा ७० प्रतिशतभन्दा बढी मूल्यबृद्धि हुँदा पनि जिम्मेवार निकायहरुको ध्यान गएको छैन ।

    तेलको मूल्यबृद्धिका विषयमा अध्ययन गरिरहेका छौं भनेर नियामक निकायले भनेको धेरै भयो । तर, उपभोक्ताकर्मी भने सरकारले नै मूल्यवृद्धिमा सरकारले नै सहयोग गरिरहेको आरोप लगाएका छन् ।

    खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलमा १ वर्षमा प्रतिलिटर १ सय रुपैयाँसम्म मूल्यवृद्धि भएको बताए ।

    उनले भने, ‘सनफ्वार तेल, सूर्यमुखी तेल, भटमासको तेल र तोरीको तेललगायत सबै प्रकारका खाने तेलको मूल्यबृद्धि भएको छ । एक लिटरमा ४० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्यबृद्धि भएको छ ।’

    श्रेष्ठका अनुसार १ वर्षअघि प्रतिलिटर १४० रुपैयाँमा आउने सलफ्लावर तेलको मूल्य बढेर प्रतिलिटर २ सय ४० रुपैयाँ पुगेको छ । तोरीको तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँबाट बृद्धि भएर २८० रुपैयाँ पुगेको छ । भटमासको तेल प्रतिलिटर १३० रुपैयाँबाट २२० रुपैयाँ पुगेको श्रेष्ठले जानकारी दिए ।

    पसलमा आउने ग्राहकले खुद्रा व्यापारीले मूल्य बढाएको भनेर आक्रोश पोख्ने गरेको श्रेष्ठले बताए ।

    उनले भने, ‘सबै ग्राहकले उद्योगले नै मूल्यबृद्धि गरेको हो भनेर बुझ्दैनन् । कतिपय ग्राहकले खुद्रा व्यापारीले नै तेलको मूल्यबृद्धि गरेको भनेर गाली गर्ने गरेका छन् । हामीले सकेसम्म उपभोक्तालाई बुझाउने प्रयास गर्ने गरेका छौं ।’

    पहिले १ लिटरको प्रतिप्याकेट १० रुपैयाँसम्म नाफा हुने गरेकोमा अहिले ५ रुपैयाँ पनि नाफा राख्न नसकिएको उनको दावी छ । श्रेष्ठका अनुसार होलसेलले खुद्रा व्यापारीलाई एमआरपीभन्दा ५ रुपैयाँ मात्रै कममा तेल दिने गरेका छन् ।

    केही समयअघि खुद्रा व्यापार संघले तेलको मूल्य उत्पादकले आफुखुसी बृद्धि गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको थियो । विभागले तेल उत्पादकहरुलाई मूल्यबृद्धि हुनुको कारण पेस गर्न निर्देशन दिएको थियो । मूल्यबृद्धि गर्नुको कारण पेस गर्न नसकेका अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई ३/३ लाख जरिवाना गरिएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकाले नै खाने तेल लगायतका खाद्य बस्तुको मूल्यबृद्धिमा सहयोग गरेको बताए । बजार अनुगमन गर्नुपर्ने ठाउँमा बाणिज्य विभाग कानमा तेल हालेर बसेको उनको आरोप छ ।

    बानियाँले भने, ‘तेलको मूल्यबृद्धि भयो भनेर हामीले धेरै पटक बाणिज्य विभागलाई जानकारी गराएका थियौं । तर विभागले नदेखेको जस्तो गरिरहेको छ । उपभोक्ताले १ वर्षमा नै ४० देखि १ सय रुपैयाँसम्म धेरै मूल्य तिरेर तेल उपभोग गर्न बाध्य भएका छन् । बजारमा अभाव देखाएर आफुखुसी मूल्य तोक्दै व्यापारीले उपभोक्ताको भान्सा महंगो बनाइदिएका छन् ।’

    सरकारको नै मिलेमतोमै मूल्यबृद्धि गरिएको उनले दावी गरे । तेल उत्पादकहरुको माथिल्लो तहसम्म नै सेटिङ रहेको उनको आशंका छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले बजारमा भएको मूल्यबृद्धिको विषयमा अध्ययन भइरहेको बताए । बजारमा कुन बस्तुको मूल्य कति बृद्धि भएको छ भनेर अनुगमन कार्य भइरहेको उनको भनाइ छ ।

    उनले भने, ‘विश्व बजारमा तेल उत्पादन हुँदा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढ्यो भन्ने उहाँहरुको भनाइ छ । हामीले त्यसको अध्ययन गरिरहेका छौं । कच्चा पदार्थको मूल्य विश्व बजारमा कति बढेको छ र त्यसले नेपालमा कति प्रतिशत मूल्यबृद्धि गराउँछ भनेर हेरिनेछ ।’

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…