• काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं वामविश्लेषक कमल चौलागाईंले माधव नेपाल भारतीय एजेण्ट भएको बताउनुभएको छ ।

    माधव नेपाल पहिलादेखि नै भारतबाट परिचालित रहनुभएको चौलागाईंको भनाइ छ । ०४६ सालको जनआन्दोलनमा भारतको हतियार प्रयोग गर्ने प्रस्ताव नेकपा मालेको भूमिगत बैठकमा माधवले ल्याउनुभएको चौलागाईंले बताउनुभयो ।

    ‘२०४६ सालको आन्दोलनका बेला भारतले हतियारसहित सहयोग गर्दै छ, त्यो सहयोग लिनुपर्छ भन्ने प्रस्ताव नेकपा मालेको भूमिगत बैठकमा माधव नेपालले ल्याउनुभएको थियो’ – उहाँले भन्नुभयो । सो प्रस्तावको मदन भण्डारीले प्रतिवाद गर्नुभएको चौलागाईंले बताउनुभयो । ‘हामी राजासँग लडिरहेका छौँ, हाम्रो आन्तरिक लडाईँमा विदेशको बन्दुक बोकेर जाँदैनौँ भनेर मदन भण्डारीले असहमति जनाउनुभयो’ – चौलागाईंको भनाइ छ । 

    माधव नेपाल भारतीय एजेण्ट भएको र अहिले पनि उहाँ भारतबाट सञ्चालित भएको चौलागाईंले दाबी गर्नुभयो । केपी ओली भारत विरोधी भएकै कारण उहाँलाई हटाउने एकसुत्रीय एजेण्डा लिएर माधव नेपाल हिँड्नुभएको चौलागाईंले बताउनुभयो । ‘त्यो भारतको एजेण्डा हो, त्यसैले माधवले ढुक्कसाथ भनिरहनुभएको छ, हामी केपी ओलीलाई समाप्त पार्छौँ, धुलो चटाउँछौँ भनेर’ – उहाँले भन्नुभयो ।

    फागुन २८ गतेको निर्णय फिर्ता लिए पार्टीमा मिल्न सक्ने भनेपनि माधव नेपालहरु एमालेमा मिल्न नआउने कमलले बताउनुभयो । ‘त्यो प्राविधिक कुरा मात्रै हो, यो अड्को थाप्ने कुरा मात्रै हो, आफ्नो विवेकले चल्दा मिल्छ, अर्काको इसारामा चल्दा के गरी मिल्छ ? केपी ओलीको नेतृत्व रहेसम्म उहाँहरु मिल्नुहुन्न, भारतले मिल्न दिँदैन’ – चौलागाईंले भन्नुभयो ।

    ओलीलाई नभएर पुष्पकमल दाहाल प्रचण्डलाई माधवले नेता मान्नुभएको समेत कमलले बताउनुभयो । ‘ओलीको नेतृत्व नै मान्न तयार हुनुहुन्न माधव, किनकी प्रचण्डसँग मिलेर उहाँले ओलीलाई सदस्यबाट निकालेको हो, अदालतको कारणले मात्र नेपाल एमालेमा आउन वाध्य हुनुभएको हो, उहाँले प्रचण्डलाई नेता मानिसक्नुभएको छ’ – चौलागाईँले भन्नुभयो ।

    नेपालमा कम्युनिष्ट पार्टी स्थापनादेखि नै सामन्तवादको उन्मुलन र विदेशी हस्तक्षेपको उन्मुलन गर्ने झण्डा उठेको उहाँले बताउनुभयो । सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्र अन्त्य भए पनि विदेशी हस्तक्षेप भने समाप्त नभएको उहाँले बताउनुभयो । नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतको हस्तक्षेप यथावत रहेको उहाँले बताउनुभयो । भारतीय हस्तक्षेपलाई सामना गर्दै ओलीकै पहलमा नेपालको संविधान ०७२ जारी भएको चौलागाईंले बताउनुभयो । ‘त्यसैको परिणामस्वरुप नाकाबन्दी गर्यो, केपीले चीनसँग पारवहन सम्झौता गर्नुभयो, भारत अझ रुष्ट भयो, केपी ओलीले कालापानी समेटेर नयाँ नक्सा जारी गर्नुभएपछि थप बबण्डर सुरु भयो, माधव र प्रचण्डबीच सहमति गराएर केपीलाई फाल्ने खेल भयो ।’

    नेपालको अर्थतन्त्र स्वतन्त्र बनाउन ओलीको ठूलो योगदान रहेको चौलागाईंले बताउनुभयो । यही कारण माधव र प्रचण्ड मिलेर ओलीमाथि प्रहार गरेका चौलागाईंले बताउनुभयो । केपी ओलीले गरेको चीनसँग पारवहन सन्धी र चुच्चे नक्साको योगदान नेपालको इतिहासमा युगौँयुग रहने उहाँले बताउनुभयो । ‘केपी ओलीले शताब्दी शताब्दी सम्झने काम गर्नुभएको छ, अब भारतले चाहेर पनि नेपालमा नाकाबन्दी गर्न सक्दैन, त्यसैले राष्ट्रियता जोगाउन ओलीलाई समर्थन गर्न जरुरी छ’ – चौलागाईंले भन्नुभयो । आईएनए न्युज एजेन्सीबाट साभार

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…