• काठमाडौँ– कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुल्ला गरिएका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैक तथा वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्ने छन् ।

    सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफण्टा र गड्डाचौकी रहेका छन् । बैठकले संघीय मन्त्रीलाई प्रदेशको समन्वय गर्ने गरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस पनि गरेको छ ।

    यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । निर्माण कार्य सुचारु गर्ने भए कामदार र कर्मचारीहरुलाई निर्माणस्थलमा नै राख्नुपर्ने निर्णय गरेको बताइएको छ । उद्योगहरु सञ्चालन गर्ने सम्बन्धमा मजदूर तथा कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

    बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट आउने विदेशीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने र नमाने डिपोट (निकाला) गर्ने पनि निर्णय गरिएको छ ।

    यसअघि क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप व्यवस्थित गर्ने निर्णय समेत सीसीएमसी बैठकले गरेको छ ।

    यस्ता छन् निर्णय :

    (क) आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्ने:-
    (१) निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्‍चालन गर्ने, नेपाल राष्‍ट्र बैंकले यसमा सहजीकरण गर्ने।
    (२) अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्‍चालन गर्ने।
    (३) काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।
    (ख) उद्योग व्यवसाय सञ्‍चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्ने:
    (१) कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्‍चालन गर्ने।
    (२) कोभिड-१९ को रोकथाम, नियन्‍त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्‍जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्‍चालन गर्ने।
    (३) सार्वजनिक निर्माणका कार्यहरूमा संलग्‍न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्‍ने।
    (४) आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्‍गम र गन्तव्य प्रष्‍ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्‍चालन गर्ने।
    (ग) क्वारेन्‍टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्ने:-
    (१) काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्‍वारेन्टिनमा बस्‍नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्‍त्र निर्माण गरी अनुगमन गर्ने।
    (२) होम क्‍वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।
    (३) होटेल क्वारेन्‍टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल Deport गर्ने प्रक्रिया अघि बढाउने।
    (४) होटेल क्वारेन्‍टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।
    (५) होटेल क्‍वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्‍चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।
    (घ) जनचेतनासम्बन्धमा देहायबमोजिम गर्ने:-
    (१) आमसञ्‍चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित/प्रकाशित गर्न अनुरोध गर्ने।
    (२) सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …