विराटनगर / कोरोना भाइरस सङ्क्रमणका कारण महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरी( लालबहादुर विश्वकर्मा)को निधन भएको छ ।
परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १९ गते विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएका ३८ वर्षीय विश्वकर्माको उपचारका क्रममा आज (शुक्रबार) बिहान १२ः३० बजेतिर निधन भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
उनका अनुसार विश्वकर्माको भेन्टिलेटरमा उपचार भइरहेको थियो । सिन्धुली घर भएका उनी विराटनगरमा रहेर विगत आठ वर्षअघिदेखि महिला एवं मानवअधिकारका क्षेत्रमा सक्रिय थिए ।ओरेक नेपालमा उनी अढाई वर्षदेखि कार्यरत थिए । त्यसअघि उनी वल्र्ड भिजन इन्टरनेसनल नामक संस्थामा आवद्ध थिए । ओरेक नेपाल हिङ्सामा परेका महिलाका पक्षमा वकालत गर्ने र उनीहरुलाई न्याय दिलाउन भूमिका खेलिरहेको संस्था हो ।
कोरोना नियन्त्रण र सङ्क्रमितको उपचारमा निरन्तर खवरदारी तथा अधिकारका क्षेत्रमा वकालत गरिरहेका अभियन्ताको निधनले नेपालको मानवअधिकार क्षेत्रमा अपूरणीय क्षति पुगेको गैर सरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सचिव एवं अधिकारकर्मी उमेश विश्वकर्माले बताए ।