• काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बैठकमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कन इन्कार गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सशंकित बनेको छ । विशेषतः शनिबारको जुम मिटिङमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूले चर्को आवाज उठाएका हुन् ।

    खनाल–नेपाल समूहका नेता शनिबार पनि बिहान ११ बजेदेखि नै जुम छलफलमा बसेका थिए । त्यहाँ हिजो (शुक्रबार) रामबहादुर थापा ‘बादल’लाई समेत राखेर कार्यदल गठन र विवाद साँघुर्‍याउन खोजेपछि ओली सुध्रने संकेत नदेखिएको केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेका हुन् ।

    बादललाई किन राखियो ?
    रामबहादुर थापा ‘बादल’समेतको उपस्थितिमा बैठक बसेपछि २०७५ जेठ २ मा फर्किएर सहमति खोज्ने सम्भावना नै नरहेको केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेका हुन् । ओली जेठ २ मा फर्कने कुराप्रति संवेदनहीन बनेको केन्द्रीय सदस्यहरूले आरोप पनि लगाए ।

    “प्रधानमन्त्री ओली, नेता नेपालसहित कार्यदलमा बस्ने सदस्यहरूसमेतको छलफलमा जेठ २ को कमिटीले चिन्दै नचिन्ने रामबहादुर थापा ‘बादल’ ल्याएपछि त्यहीँ नै विरोध जनाउनुभएछ,” केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने, “विशेषतः माधवकुमार नेपालले नै असन्तुष्टि जनाउँदै बादललाई उपस्थित गराउनुको कारण के हो ? उहाँ आएकोमा आपत्ति होइन । तर, हामी एमालेको विवाद मिलाउन बसेका हौँ ।”

    नेता नेपालले यति भनेपछि प्रधानमन्त्री ओलीले ‘हैन उहाँ बस्दा केही हुँदैन’ भनेर विषयलाई सामान्यीकरण गर्न खोजेको मानन्धर बताउँछन् । “रामबहादुर थापा ‘बादल’ पनि उठेर नगएपछि नेपालले कार्यदलमा नाम प्रस्ताव गर्नु भएनछ,” उनी भन्छन् ।

    एक दिनमै फेरिए ओली
    शनिबारको जुम मिटिङमा नेता नेपालले ओली फेरिएको आशय ब्रिफिङ गरेको मानन्धर बताउँछन् । उनी पार्टीको विवाद मिलाउने गरी संवेदनशील भएर प्रस्तुत नभएको र हिजोको छलफलले त्यति सुखद संकेत नदेखाएको मानन्धर बताउँछन् ।

    बिहीबार चपली घुम्तीमा ओली संवेदनशील भएर प्रस्तुत भएको, जेठ २ मा फर्कन सैद्धान्तिक सहमति देखाएको तर हिजो बादल बैठकमा लिएर आउँदा खण्डित हुन पुगेको मिटिङको निचोड रहेको मानन्धर सुनाउँछन् ।

    ओलीको कार्यशैली, प्रवृत्ति र मनोवृत्तिसँग साक्षात्कार हुँदै आएकाले यो त्यति अनौठो परिघटना नभएको मिटिङको निष्कर्ष रहेको केन्द्रीय सदस्य बताउँछन् ।

    “हामीले धेरै अलमल गर्नु हुँदैन भनेर नेतृत्वलाई सुझाव दिएका छौँ । ओली साँच्चिकै एमालेको विवाद मिलाउन अग्रसर भएकै हुन् । आफ्नो कार्यशैली सच्याउन तत्पर भएकै हुन् भने दुई दिनभित्रै त्यसको परिणाम आइहाल्छ,” जुम मिटिङको निष्कर्ष सुनाउँदै मानन्धर भन्छन्, “अबको तीन–चार दिनभित्रमा जे–जे सहमति गनुपर्ने हो, त्यो फाइनल गर्नुपर्छ । जेठ ६ को उपचुनावअगाडि नै फाइनल गर्नुपर्छ । हैन समय गुजार्ने, अल्मल्याउने र सहमतिलाई रणनीतिक रूपले उपयोग मात्रै गर्न खोजेको हो भने बेलैमा टुंगो लगाउनुपर्छ भनेर हामीले भनेका छौँ ।”

    ओलीको एकलौटी रोकिएको छैन
    ११ बजेबाट चलेको जुम मिटिङले सम्भावित ओली गुटको मनोदशाबारे पनि छलफल गरेको मानन्धर बताउँछन् । खासगरी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारलगायत उनीपक्षीय नेताहरूले जेठ २ मा फर्कन सकिँदैन, बादलसहितको बैठक स्वीकार गरेपछि केको एकतापूर्वको कमिटी भन्दै प्रश्न गरेकाप्रति नेताहरूले आपत्ति जनाएका थिए ।

    यसले सहमतिको वातावरण नबन्ने र ओली समूह जसरी हुन्छ पेलेर जाने रणनीतिमा रहेको निचोड निकालिएको मानन्धर बताउँछन् ।

    “आजको छलफलमा ओलीले यसबीचमा गरेका नियुक्ति, सिफारिसको पनि प्रश्न उठेको थियो । ओलीसँग सहमति गर्दा प्रदेश सरकारहरू, स्थानीय सरकारहरू, संघ सरकारसमेत कसरी चल्न, नियुक्ति कसरी हुन्छ । पार्टी एकताको भावनालाई बोक्ने हो कि होइन, नवौँ महाधिवेशनको विधिलाई स्वीकार गरिन्छ कि गरिँदैन भनेर एकैमोठमा उत्तर खोजिनुपर्छ भन्ने नै हाम्रो जोड हो,” उनले भने ।

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …