• पथरी ।  बिरामी आफन्तलाई हेर्न आएका दुई जनाको मोरङको पथरीशनिश्चरेमा बुधबार राति भएको दुर्घटनामा परेर मृत्यु भएको छ ।
    दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । 
    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । आफन्तलाई हेर्न आउने क्रममा पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको स्कोरपिओ गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा राति १२ बजेतिर दुर्घटनामा परेको हो ।
    प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये विष्णुमाया लक्ष्मीप्रसादकी सासूआमा हुन् ।
    दुवै जनाको शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । दुर्घटनामा परेर स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन् ।
    घाइतेहरुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विनिता र रोशनको अवस्था गम्भीर छ । चालकको अवस्था सामान्य रहेको एसपी शर्माले बताए । मृत्यु हुने लक्ष्मीप्रसाद स्कोरपिओ चालक विकाशका सासुरा र विष्णुमाया बूढीसासू हुन् । घाइतेमध्ये विनिता लक्ष्मीप्रसादकी श्रीमती एवं विकाशकी सासूआमा हुन् । रोशन विकाशका काकाको छोरा भाइ हुन् । 
    सामान्य अवस्थाका घाइते विकाशका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–२ मा बिरामी हेर्न आउने क्रममा दुर्घटना भएको हो । कानेपोखरीमा विकाशका सानोबुवा ससुरा गम्भीर बिरामी थिए ।
    अवस्था निक्कै जटिल बनेको खबर पुगेपछि आफन्तहरु भेला भएर हेर्नका लागि आउने क्रममा दुर्घटनामा परेको र बिरामीलाई हेर्न जान नपाएको जानकारी विकाशले दिए । बिरामी सानोबुवालाई हेर्न आउने क्रममा पथरीशनिश्चरे आइपुगेपछि एक्कासि अगाडि कुनै सवारी साधनको लाइट बलेको र त्यसले आफूहरु चढेको गाडीलाई ठक्कर दिएको उनले बताए ।
    एक्कासि अगाडि आएको गाडीबाट आफ्नो स्कोरपिओ जोगाउने प्रयास गरिए पनि सम्भव नभएको उनको भनाइ छ । दुर्घटना गराउने अर्को सवारी साधनलाई पनि उनले चिन्न सकेनन् । ‘हाम्रो गाडीलाई अर्कोले ठक्कर दिएर दुर्घटना गराएपछि घटनास्थलमै म बेहोस भएर ढलेछु,’ विकाशले भने, ‘त्यसपछि केही पनि थाहा पाइँन ।’ होस फर्कदा आफूलाई अस्पतालको बेडमा पाएको उनले बताए ।
    प्रहरीले घटनास्थलबाट शंकास्पद रुपमा एउटा नम्बर प्लेट फेला पारेको छ । दुर्घटनास्थलमा ना २ ख ९४७३ नम्बरको प्लेट फेला परे पनि घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको एसपी शर्माले बताए । दुर्घटना बस या ट्रकमध्ये एउटा सवारी साधनले गराएको हुनसक्ने उनको अनुमान छ । दुर्घटना गराउने सवारी साधनले कुनै नक्कली नम्बर प्लेट फ्यालेर फरार भएको पनि हुनसक्ने प्रहरीको आशङ्का छन् । दुर्घटना गराएर फरार रहेको सवारी साधनको तीव्र रुपमा खोजी थाल्दै पहिचानको प्रयास भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनले दुर्घटनामा परेर स्कोरपिओ गाडीमा पूरै क्षति पुगेको जानकारी      दिए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…