उर्लावारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई केपी ओली सरकारले अक्सिजन प्लान्ट र एचडीयू बेड निर्माण गर्न अर्थ मन्त्रालयको १ करोड ५५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूको उक्त रकम दिने निर्णय गरेको हो । एचडीयूको ५ बेड बिस्तारका लागि ८० लाख र अक्सिजन प्लान्ट निर्माणका लागि रु ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सरकारले यो अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै एचडीयू बेड र अक्सिजन प्लान्ट निर्माणका लागि यत्रो ठूलो रकम विनियोजन गरेको हो । यसरी केन्द्र सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर रकम विनियोजन गरेको उर्लावारीका लागि ठूलो बजेट हो ।
पूर्वी मोरङको एक मात्र ठूलो सरकारी अस्पताल समेत रहेको यो अस्पतालमा प्रदेश सरकारले मोनिटरसहित विशेषज्ञ चिकित्सकको निगरानीमा आइसोलेशन वार्ड यसअघि नै निर्माण गरेर सञ्चालन गरिरहेको छ ।
अस्पतालमा निर्माण गरिएको यो आइसोलेसनको विषयलाई लिएर विभिन्न किसिमका भ्रामक प्रचारबाजी समेत भएको थियो ।