उदयपुरमा टिकटक बनाउने क्रममा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–९ की ११ वर्षीया सञ्जीता बस्नेत रहेकी छन् ।
बुधबार साँझ टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिवबहादुर दाहालका अनुसार उनले मोबाइल घरको धरिनमा राखेको अवस्थामा फेला परेको थियो ।
उनको घाँटीमा सलको पासो बनाएर बाईबाई गरेको भिडियो देखिएको छ । आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा अर्को कोठामा टिकटक बनाउने क्रममा छोरीको झुन्डिएर मृत्यु भएको थियो ।
बालिका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको एसपी दाहालले जानकारी दिए । सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिएको बताउँदै एसपी दाहालले भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने बताए । भिडियो झुन्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धानपछि थाह हुने एसपी दाहालको भनाइ छ ।