मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा बिशिष्ट ब्यक्तिहरुलाई सम्माण गरेको छ । 
साउन २२ गते सुम्निमा हल काठमाडौंमा आयोजित कार्यक्रममा गत शैक्षिक सत्रमा विभिन्न बिषयमा विद्यावारिधी गरेका डा.पर्वतकुमार राई, डा. ईश्वरकुमार राई, डा.कमलकुमार राई, आदिबासी जनजाति आयोगको सदस्य शरण राईलाई सम्माणपत्र र फेटा लगाएर सम्मान गरिएको हो । 
त्यसैगरी महिलाको तर्फबाट किरात राई समुदायबाट पहिलो चोमोलुङ्मा (सगरमाथा) आरोही देउराली चाम्लिङ राई, सफल आरोहि धनकुबिर कुलुङ राई, पन्चे खालिङ राईलाई फेटा र सम्माण पत्रले प्रदान गरिएको यायोक्खा महासचिव जनक राईले जानकारी दिए । 
यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको सभापतित्वमा भएको कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष गोकुल घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको थियो । 
कार्यक्रममा यायोक्खा पूर्व उपाध्यक्ष तथा सल्लाहकार दुर्गा राई, मनिकुमार राई, किरात  राई  प्रज्ञ परिषदको कुलपति  जय  राई, तेजबहादुर राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
स्थापना दिवसको अवसरमा यायोक्खा हेटक्वाटर परिसरमा निर्मित सुम्निमा भवनको उद्घाटन भएको छ । भवन प्रतिष्ठानको आर्थिक सहयोगमा निर्माण भएको हो । 
यसैवीच आज शनिबार साँझ ४ बजे (नेपाली समय) “इतिहास, भूगोल, सभ्यता र  संस्कृतिको सम्मान,  १ नम्बर प्रदेश किरात प्रदेश, समग्र प्रदेशबासीको आव्हान” भन्ने मूल नाराको साथ भर्चुअल कार्यक्रम मार्फत स्थापना दिवसको सन्दर्भमा अन्तरक्रियाको तयारी भएको छ । 

स्थापना दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी साकेला थानमा रुपारीको विरुवा रोपन तथा अन्तरक्रिया कार्यक्रम गरेर ३४ औ स्थापना दिवस मनाइएको यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईले बताए । यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष नरहाङ राई लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । 
त्यसैगरी स्थापना दिवसको अवसरमा यायोक्खा पाँचथर जिल्ला समितिले अन्तरक्रिर्या कार्यक्रम गरेको संगठनको केन्द्रीय सदस्य अनिता राईले जानकारी दिए । 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        