• २०७४ फाल्गुन १५ मंगलबार

    विराटनगर ; मन्त्रीका आकांक्षी धेरै भएपछि प्रदेश १ मा मन्त्रिपरिषद्  विस्तारमा ढिलाइ भइरहेको छ ।

    फागुन ३ गते पाँच सदस्यीय मन्त्रिमण्डल गठन भए पनि बाँकी मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।

    सत्तारुढ एमाले र माओवादी केन्द्रले मन्त्रीका आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा समस्या उत्पन्न भएको छ ।

    मुख्यमन्त्री शेरधन राईले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आए पनि मन्त्रिपरिषद् गठन भएको लामो सयमसम्म पनि पूर्णता पाउन सकिरहेको छैन ।

    सोमबार प्रदेशसभालाई सम्बोधनका क्रममा  मुख्यमन्त्री राईले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए पनि कहिले हुने भन्ने अझै अन्योल नै छ ।

    सत्तारुढ दलहरूलाई आन्तरिक रूपमा आकांक्षीको व्यवस्थापन गर्न समस्या भइरहेको माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङ्बुहाङले बताए ।

    उनका अनुसार मन्त्री बन्ने आकांक्षी धेरै हुनु र सानो आकारको मन्त्रिमण्डल बनाउने योजना रहेका कारण व्यवस्थापनमा दुुवै पार्टीलाई समस्या भइरहेको छ ।

    यतिमात्रै हैन मन्त्री मण्डलको आकार र भागबण्डाको विषय पनि टुंगोमा पुुग्न सकेको छैन ।

    मुख्यमन्त्री शेरधन राई ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुपर्नेमा अडिग छन् ।

    सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने, ‘आर्थिक मितव्ययिताका हिसाबले पनि सानो र छरितो मन्त्रिमण्डल बनाउन लागिएको हो ।’

    यता माओवादी केन्द्र र एमालेकै केही सांसद भने कम्तीमा  ९ वा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने बताउँदै आएका छन्।

    माओवादीले न्यूनतम तीनवटा मन्त्री पाउनुपर्ने अडान कायमै राखेको आङ्बुहाङले बताए ।

    मन्त्री र मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि मन्त्रिपरिषद् गठका क्रममा पनि माओवादीले घुर्की देखाउ“दै तत्काल सहभागी नहुने बताएको थियो ।

    माओवादीले आर्थिक मामला मन्त्रालय पाएपछि  हालको मन्त्रिमण्डलमा माओवादी सहभागी भएको थियो ।

    यता एमालेले भने माओवादीलाई दुुईवटा मात्रै मन्त्रालय दिने बताउँदै आएको छ ।

    सात सदस्यीय मन्त्रिपरिषद्मा दुुईवटा माओवादी केन्द्र र पाँचवटा एमालेले लिने सहमति भइसकेको सरकारका प्रवक्ता हिक्मत कार्कीले दाबी गरे।

    उनका अनुसार  सात सदस्यीय मन्त्रिमण्डल बन्ने निश्चित भएकाले मन्त्रिमण्डलको संख्या र भागबन्डाको विषयमा समस्या छैन  ।

    उनले भने, ‘माओवादीले दुुई र एमालेले पाँचवटा मन्त्रालय लिने सहमति भइसकेको छ ।’

    मन्त्रीको बसोबास, गाडीलगायतको व्यवस्थापन भइनसकेका कारण मन्त्रिमण्डल विस्तारमा केही ढीलाइ भए पनि फागुनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए । कार्कीले भने, ‘यही महिनाभित्रै मन्त्रिमन्डलले पूर्णता पाउँछ ।’

    प्रदेशसभामा छलफल गर्नुुपर्ने कुुनै अजेन्डा नभएपछि प्रदेश १ को प्रदेशसभा बैठक तीन साताका लागि स्थगित भएको छ ।

    कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै चैत ७ गते दिउँसो १ बजे बैठक बस्नेगरी स्थगित भएको हो  ।

    सोमबारको प्रदेशसभा बैठकले सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी  ११ सदस्यीय कार्यव्यवस्था परामर्श समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

    संसद्मा प्रतिनिधित्व गर्ने सबैदलका प्रतिनिधि रहेको समितिमा नेकपा एमालेका इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी र जयमाया गजमेर, नेपाली कांग्रेसका केदार कार्की, माओवादी केन्द्रका मोहनबहादुर खड्का, संघीय समाजवादी फोरमका जयराम यादव, राप्रपाका इन्दीरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् ।

    समितिले प्रदेशसभाको अन्तरिम कार्यविधिको दफा १५ बमोजिम सभाको बैठकमा पेश हुने विषयको प्राथमिकता र समयावधिको निर्धारण गर्नेछ ।

    यस्तै प्रदेशसभा बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने र सभामुखले आवश्यक ठह-याएको विषयमा परामर्श दिने काम पनि समितिले गर्नेछ।

    सोमबारकै बैठकले प्रदेशसभाको कार्यसञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न तथा विभिन्न समितिको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्नका लागि ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ ।

    अन्तरिम कार्यविधिबाट सञ्चालन हुँदै आएको प्रदेशसभाले आफ्नो नियमावली बनाउने प्रक्रिया स्वरूप नियमावली मस्यौदा समिति गठन गरेको हो।

    नियमावली मस्यौदा समितिमा एमालेका लिलाबल्लभ अधिकारी, उत्तमकुमार बस्नेत, एकराज कार्की र सावित्रा रेग्मी, नेपाली कांग्रेसका सूयर्माराज राई र शान्तादेवी पौडेल, माओवादी केन्द्रका झलकबहादुर मगर र रामकुमार राई, संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बू, राप्रपाका इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे  छन्  ।

    प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समिति गठनबारेको प्रस्ताव एमाले सांसद बुद्धिकुमार राजभण्डारीले राखेका थिए ।  कांग्रेसका सांसद ज्योति सुब्बाले प्रस्तावको  समर्थन गरेकी थिइन्  ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…