• कास्की, २७ असोज 

    राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।

        पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ ।
    फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ । कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ ।

        याम्दीदेखि सुुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला छ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग आयोजनाका इञ्जिीनियर अनन्त बरालले जानकारी दिनुभयो । सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उहाँले बताउनुभयो ।

        आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ । इञ्जिीनियर बरालले भन्नुभयो, “सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर यस आयोजनाको बाँकी काम त्यस भन्दा अघिनै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ ।”

        असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ । सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ । त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिीनियर बरालले बताउनुभयो । विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । 

        निर्माण कम्पनीको ढिलासुस्तका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयवासीले गर्ने गरेका थिए ।  विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन् । सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला  दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

        “गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो ।” इञ्जिीनियर बरालले भन्नुभयो, “तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन ।” राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ । जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन ।

        आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…