अरु बेला पढाइमा व्यस्त रहने पशुपति आमावि उर्लाबारीका विद्यार्थीहरु शनिबार भने भिन्न भूमिका देखिएका थिए ।आफैंले रकम संकलन गरी होटल थापे त कतिले खेल खेलाए ।
विद्यालयका निर्देशक विजय कार्की, प्रवन्ध निर्देशक आनन्द कार्कीलगायत शिक्षक शिक्षिकाहरु स्टेजको कुनै आरामकुसीमा देखिएनन् । उनीहरु थिए त, विद्यार्थीसँगै ग्राउण्डमा । सम्पूर्ण कार्यको जिम्मेवारी विद्यार्थीलाई दिएको बताउँदै निर्देशक विजय कार्कीले भन्नुभयो, ‘सबै विद्यार्थीले नै व्यवस्थापन गरेका छन्, हामी त दर्शक मात्र ।’पशुपति मेघा इभेन्ट’ को कार्यक्रममा देखिएको दृश्यले विद्यार्थीहरुले पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि अब्बल छौं भन्ने सावित गरेका छन् ।
विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले कक्षागत रुपमा विभिन्न १६ प्रकारका खानाका स्टल र दर्जन बढी खेलकुदका स्टल राखेका थिए ।
सो अवसरमा विज्ञान प्रदर्शनी, बालबालिकाहरुको फेसन शो समेत गरिएको विद्यालयका प्रवन्ध निर्देशक आनन्द कार्कीले बताउनुभयो । विद्यार्थीहरुमा जिम्मेवारी बोध गराउन कार्यक्रम सञ्चालन, व्यवस्थापनलगायत सम्पूर्ण कार्यको जिम्मा उनीहरुलाई नै दिएको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।