• म्याग्दी, १३ कात्तिक

     म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा क्याम्पस भवन निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा रु एक करोड ५० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । 

        दश कोठा र एक सभाहलसहितको तीन तले भवन निर्माण सम्पन्न भएपछि रु ५० लाखको लागतमा थप चार कोठे भवन निर्माण सुरु गरिएको छ । क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीका अनुसार सो भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको हो । 

        आर्थिक वर्ष २०७६÷७७ मा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा विनियोजन भएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु ७० लाख र गाउँपालिकाको रु ३० लाखमा सो भवन निर्माण गरिएको हो । सोही भवन  आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्र्वाधार विकास कार्यक्रमको रु २५ लाख तथा गाउँपालिकाको रु २५ लाखमा ६ कोठा र सभाहल निर्माण गरिएको छ । चालू आवमा विश्व विद्यालय अनुदान आयोगले उपलब्ध गराएको रु ५० लाखमा चार कोठे भवन निर्माण सुरु गरिएको छ ।  

        थप भवन निर्माणका लागि जग्गा खरिद गर्न रु ८७ लाख चन्दा सङ्कलन गरिएको थियो । रु ५६ लाखमा लाम्पाटामा ३३ रोपनी आठ आना जग्गा खरिद गरी क्याम्पस भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो । विसं २०६६ मा स्थापना भएको क्याम्पस बाबियाचौरस्थित मङ्गला माविको भवनबाट सञ्चालन हुँदै आएको छ । नयाँ भवनबाट क्याम्पस सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । नयाँ भवनको दुई कोठामा छात्राबास सञ्चालन गरिएको छ । 

        शिक्षा शास्त्र सङ्कायअन्त्र्गत स्नातक तहको पठनपाठन हुने उक्त क्याम्पसमा हाल १२४ विद्यार्थी अध्ययनरत छन् ।  अर्थशास्त्र, गणित, अंग्रेजी र नेपाली विषयको पठनपाठन हुने उक्त क्याम्पसमा ८० प्रतिशतभन्दा बढी विद्यार्थी छात्रा छन् । समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा तीन पूर्णकालिन, नौ  आंशिक प्राध्यापक र तीन कर्मचारी कार्यरत छन् । क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन आर्थिक संकलन अभियान थालिएको छ । रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु भएको सो अभियानअन्तर्गत हालसम्म रु १२ लाख संकलन भएको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…