• पर्वत, १५ कात्तिक

     यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । 

    पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।

    मोदी गाउँपालिकाको देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ मोदी सबस्टेशन १३२ केभी क्षमताको हो ।सबस्टेशनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ । यसमा साविकको पोखरा–मोदी लाइनसमेत जडान गरिसकिएको उहाँले बताउनुभयो ।

    यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेशनको सबै काम सम्पन्न भइसकेको छ ।  उपकरण जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ । 

    पर्वत र कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई पोखरास्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन  निर्माण भएको हो । मोदी –२ देउपुरबाट कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनमा १३८ टावर रहनेछन् । लाहाचोकबाट लेखनाथसम्मको काम भने बाँकी छ । त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम बाँकी रहेको छ । स्थानीयवासीको अवरोधलगायत समस्याका कारण टावर निर्माण हुन नसकेको हो । लेखनाथ सबस्टेशनको कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख अग्रवालले जानकारी दिनुभयो ।

    रु दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोरोना र स्थानीयवासीको अवरोधलगायतका कारण केही समय ढिलाइ भएको हो । यो प्रसारण लाइन निर्माणका लागि सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । प्रसारण लाइन निर्माणपछि २०० मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिने छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…