• काठमाडौँ, ३० कात्तिक

     राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने भएको छ ।

    पशु सेवा कार्यालय नयाँपाटीमा आयोजित किसान अन्तरक्रियामा वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश सांसद रामेश्वर फुयाँलले भैँसी पालन कम हुँदै गएको अवस्थामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई भैँसी पकेट क्षेत्रका रुपमा जोगाइ राख्नका लागि पाडा/पाडी वितरण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

     वाग्मती प्रदेश सरकारले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ का गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न किसान परिवारलाई पाडा÷पाडी र बाख्रा अनुदानमा उपलब्ध गराउन रु ५० लाख विनियोजन गरेको सांसद फुयाँलले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिले कृषि र पर्यटनमार्फत उत्पादन एवं रोजगारी वृद्धि गर्न अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाका वडा न. १, २, ३, ४, ६, ७ र ८ तथा कागेश्वरी मनोहरा नगरपालिकाका १, २ र ३ वडाका अति विपन्न किसान परिवारलाई ९० प्रतिशतसम्म अनुदानमा पाडा÷पाडी र बाख्रा वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठले जानकारी दिनुभयो ।

    यसका लागि किसानले समूह गठन गरी वडा कार्यालयमा दर्ता गर्नुपर्छ । सम्बन्धित वडा कार्यालयले अति विपन्न कृषक भनी गरेको सिफारिसका आधारमा पाडा/पाडी र बाख्रा वितरण गरिने उहाँले बताउनुभयो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एशियन बफेलो एशोसियशन र इन्टरनेशनल बफेलो फेडेरेशनको आयोजनामा कात्तिक ८ देखि १२ गतेसम्म भर्चुअल रुपमा भएको एशियन भैँसी विज्ञको सम्मेलनमा १७ देशका भैँसी विज्ञले ७ विधामा १३५ बढी कार्यपत्र प्रस्तुत गरेका थिए ।

     दशौँ एशियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा डा भूमिनन्दन देवकोटाले नेपालमा दूग्ध उत्पादनमा भैँसीले करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले नेपाल एशियामै भैँसी उत्पादनमा चौँथोँ स्थानमा रहेको जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…